Fri. Mar 29th, 2024

पर्यटन प्रबद्र्धनका लागि भिडियो प्रतियोगीता

२६ असार, धादिङ –

गैर आवासीय नेपाली संघको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपालको पर्यटकीय क्षेत्रको उजागर गर्न तथा पर्यटकीय वस्तु र सेवालाई विश्व सामु पहिचान गराउनको लागि नेपाल सम्बन्धी भिडियो प्रतियोगिताको आयोजना गरिने भएको छ ।

बढीमा ३ मिनेटको भिडियो बनाइ प्रतिस्पर्धामा भाग लिन सकिने गैर आवासीय नेपाली संघले जनाएको छ । प्रतियोगीतामा भाग लिएका भिडियोहरु नेपालको पर्यटन प्रबद्र्धन गर्ने खालको हुनुपर्ने र पर्यटकहरुलाई नेपाल भ्रमण गर्न उत्साहित पार्ने खालको हुनुपर्ने बताइएको छ । भिडियोमा नेपालको संस्कृति, परम्परा, पर्यटकीय दृश्यहरु, दुर्लभ पर्यटकीय स्थलहरु, चार्डपर्वहरु, धार्मिकस्थल, प्राकृतिक सम्पदाहरु, मौलिक खानपान आदिलाई समेटेर बनाईएको हुनुपर्नेछ ।

भिडियो प्रतियोगितामा सहभागी हुनेहरुले आफ्नो भिडियो १९ जुलाई सम्म पेश गर्नुपर्नेछ । उक्त प्रतियोगीताको विजेताहरुको घोषणा आगामी जुलाइ २९ र ३० मा लग्जेम्वर्गमा आयोजना हुने ११ औं युरोप क्षेत्रीय बैठक तथा नवौँ युरोप क्षेत्रीय महिला भेलाको अवसरमा गरिने भएको छ । भिडियो चयन समितिले प्रतियोगीतामा सहभागी भएका उत्कृष्ट १० भिडियोलाई चयन गर्नेछ । चयन भएका १० वटा भिडियो मध्ये पहिलो दोश्रो र तेश्रो हुनेको छनोट युरोप क्षेत्रीय बैठकका सहभागीहरु र चयन समितिको निर्णयको आधारमा गरिनेछ ।

भिडियोको समय बढीमा ३ मिनेट भन्दा बढीको हुन नहुने, भिडियोले व्यक्तिगत, धार्मिक र साँस्कृतिक संवेदनशिलता लाई ध्यान दिनु पर्ने तथा प्रतियोगी भिडियो कुनै समूह, व्यक्ति वा धार्मिक साँस्कृतिक मुल्य मान्यतालाई चोट पुर्याउने खालको हुन नहुने सर्त राखिएको छ ।

प्रतियोगीतामा उत्कृष्ट ठहरिएको भिडियोलाइ नगद १ लाख, दोश्रो हुने लाई ७५ हजार र तेश्रो हुनेलाई ५० हजारको रुपैया पुरस्कार दिईने गैर आवासीय नेपाल संघका आइसीसी सदस्य तथा पर्यटन प्रवद्र्धन उप समितिका सह–संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

उत्कृष्ट १० मध्ये बाँकी रहेका ७ प्रतियोगीहरुलाई २ जनाको दरले नेपाल भित्रकै विभिन्न ठाउँमा घुम्नको लागि होटल र यात्राको प्याकेज उपलब्ध गराईने श्रेष्ठले जानकारी दिए । प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले पालना गर्नुपर्ने नियमहरु पर्यटन बेभसाइटमा पनि राखिएको गैर आवासीय नेपाली संघले जनाएको छ ।

२०७५ असार २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: