Thu. Mar 28th, 2024

विश्वकपको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया, कसले पाउला उपाधि ?


२४ असार, धादिङ –

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । २१औं संस्करणको विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया पुगेका छन् ।

बेल्जियमले ब्राजिललाई २–१ गोलले, फ्रान्सले उरुग्वेलाई २–० गोलले, इंग्ल्यान्डले स्वीडेनलाई २–० गोलले र क्रोएसियाले रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् । विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै उपाधि दौड निकै रोचक बनेको छ । किनभने विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले अनुमान गरिएका प्रायः टिम बाहिरिइसकेका छन् ।

५ पटक विश्वकपको उपाधि उचालेको राष्ट्र ब्राजिल, ४ पटकको विजेता जर्मनी, समान २–२ पटक विश्वकप जितेका अर्जेन्टिना र उग्रुवे तथा एक पटक विश्वकप विजेता स्पेन जारी विश्वकपबाट बाहिरिसकेका छन् ।

अब उपाधि दौडमा रहेका बेल्जियम, फ्रान्स, इंग्ल्यान्ड र क्रोएसियामध्ये कुन राष्ट्रले २१औं संस्करणको विश्वकपको उपाधि उचाल्ला रु निकै रोचक बन्दै गएको छ । विश्वकप तथा फुटबलका विज्ञहरुले गरेको अनुमान पनि विफल हुदै जाँदा यो पटकको विश्वकपले नयाँ इतिहास भने बनाउने निश्चित छ ।

विश्वकपको सेमिफाइनल

रसियामा जारी विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीचमा प्रतिस्पर्धा हुँदैछ । असार २६ गते मंगलबार हुने खेलमा दुवै टिम इतिहास रच्न आतुर छन् । रसियाको सेन्ट पिटर्सबर्गमा फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

रसियामा जारी विश्वकपको दोस्रो सेमिफाइनलमा क्रोएसिया र इंग्ल्यान्डबीचमा प्रतिस्पर्धा हुने भएको छ । असार २७ गते मस्कोस्थित लुज्हनिकी रंगशालामा यी दुईबीचको खेल राति ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

विश्वकप जितेका दुई राष्ट्र

जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा हुँदा यसअघि विश्वकप जितेका दुई राष्ट्र मात्रै यहाँसम्मको यात्रा पार गर्न सफल भए । यसअघि विश्वकपको उपाधि उचाल्ने फ्रान्स र इंग्ल्यान्ड गरी दुई राष्ट्र मात्रै छन् ।
फ्रान्सले सन् १९९८ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । फ्रान्सले फाइनलमा ब्राजिललाई ३–० गोलले पराजित गर्दै सन् १९९८ मा पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । त्यसयता फ्रान्सले विश्वकपको उपाधि उचाल्न सकेको छैन ।
त्यस्तै, इंग्ल्यान्डले पनि सन् १९६६ मा आफैँले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । विश्वकपको फाइनल खेलमा इंग्ल्यान्डले जर्मनीलाई ४–२ गोलअन्तरले पराजित गर्दै पहिलो पटक विश्वकपको उपाधि चुमेको थियो । त्यपछि इंग्ल्यान्डले अहिलेसम्म विश्वकपको उपाधि चुमेको छैन ।

उपाधि दौडमा दुई नयाँ राष्ट्र

यो पटकको विश्वकपको उपाधि दौडमा दुई नयाँ राष्ट्र रहेका छन् । बेल्जियम र क्रोएसियाले अहिलेसम्म विश्वकप फुटबलको उपाधि जितेका छैनन् । त्यसो त, यी दुई टिम अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । बेल्जियम जारी विश्वकप फुटबलमा दमदार प्रदर्शन गर्दै सेमिफाइनलसम्म आइपुगेको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा पार गर्दा ठूला राष्ट्रलाई पराजित गरेको छ ।

क्वाटरफाइनलमा बेल्जियमले बलियो टिम ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको हो । त्यस्तै, जारी विश्वकपमा अपराजित रहेको बेल्जियमले प्रिक्वाटरफाइनलमा जापानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणमा भने बेल्जियमले आफ्नो खेलमा पानामालाई ३–० ले, दोस्रो खेलमा ट्युनिसियालाई ५–२ गोलले र अन्तिम खेलमा इंग्ल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

बेल्जियम यो भन्दा अघि सन् १९८६ मा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको छ । बेल्जियमले अहिलेसम्म विश्वकपको सेमिफाइनलभन्दा अघिको यात्रा पार गरेको छैन । त्यसैले यो पटक बेल्जियम इतिहास रच्ने दाउँमा छ ।

जारी विश्वकप फुटबलमा क्रोएसियाले शानदार प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । क्रोएसिया २० वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो । यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा पुगेको थियो ।

क्रोएसियाले भने आफ्नो पहिलो खेलमा नाइजेरियालाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० र अन्तिम खेलमा आइसल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रिक्वाटरफाइनलमा भने क्रोएसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको थियो । क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै सेमिफाइनलसम्मको स्थान बनाएको हो ।

 

२०७५ असार २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: