Sat. Oct 12th, 2024

आगो तापेरै बित्छ भूकम्प पीडितको रात

२८  मंसिर, गोरखा – बारपाक ४ आइतलीकी जितकुमारी गुरुङलाई भाइबहिनीले रातभरि रोएर सुत्दै दिँदैनन्। धेरैजसो रात आगो तापेरै बिताउने गरेको उनले सुनाइन्।

‘जाडोले उनीहरू पनि निदाउँदैनन्, रोएर हामीलाई पनि सुत्न दिँदैनन्’, उनले भनिन्, ‘अनि उठेर आगो फुक्छौं। सबै परिवार आगो तापेर रात बिताउँछौं।’

पर्म लगाएर बनाएको एउटा घर पनि भूकम्पले भत्काएपछि उनको १० जनाको परिवार गोठमा बस्दै आएको छ। ‘केही दिनदेखि चिसो बढेर गोठमा बस्नै नसक्ने भएको छ’, उनले बाध्यता सुनाइन्, ‘लगाउने बाक्लो कपडा पनि छैन । ओढ्नेओछ्याउने पनि छैनन्।’

उनका दुईबर्से, चारबर्से, सातबर्से, दसबर्से, १३ बर्से, १५ बर्से र २१ बर्से भाइबहिनी छन्।’जाडोले राति ब्युँझेपछि रुन थाल्छन्। कोही खाना खाएर पल्टेदेखि ननिदाउन्जेल रोइरहन्छन्’, जितकुमारीले भनिन्, ‘केटाकेटी पालैपालो रुँदा ठूला मान्छेले सुत्नै पाइँदैन।’

उनको घरमा अलिअलि भएको अन्न पनि भूकम्पले पुरेको थियो। बारीमा अलिअलि भएको गहुँ पनि भित्र्याउने आँट नहुँदा अहिले सन्तानलाई पेटभरि खुवाउन समस्या भएको जितकुमारीकी आमा कान्छी गुरुङले बताइन्। ‘खेती गर्ने बेला हातमा काम आएन। किनेर खुवाउन कमाइ छैनु, उनले भनिन्, ‘यी लालाबालालाई अलिअलि भात र अलिअलि उसिनेको पिँडालु खुवाएर छाक टारेकी छु।’अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: