२९ मंसिर, काठमाडौं – कर्मचारीहरु बढुवा परीक्षाका लागि बिदामा बसिदिँदा विभिन्न मन्त्रालयले पुनर्निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग रकम माग गर्न सकेका छैनन् । भूकम्पपीडित परिवारलाई घर बनाउन अनुदानस्वरुप उपलब्ध गराइने रकम पनि सम्बन्धित मन्त्रालयले अझैसम्म माग नै नगरेको पाईएको छ । ।
आयोगले पुनर्निर्माणसम्बन्धी बजेट मागका लागि दिएको समयसीमा एक साताअघि नै गुज्रिसकेको छ । बजेट मागका लागि चासो नदेखाएपछि आयोगका पदाधिकारीले पुनर्निर्माणसम्बन्धी कार्यक्रम पेस गरी निकासा लिएर जान दैनिक फोन गरी मन्त्रालयका पदाधिकारीहरुलाई बोलाउने गरेका छन् ।
तर, सम्बन्धित क्षेत्रका कर्मचारी बढुवाको परीक्षाका लागि तयारी गर्न अध्ययन र परीक्षा बिदामा बसेका कारण पुनर्निमार्णका साथै कार्यालयका दैनिक कामकाज पनि प्रभावित हुने गरेका छन् ।