Mon. May 17th, 2021

दाङमै बन्दै छन् आयुर्वेद चिकित्सक

दाङ – कास्कीको लेखनाथ ३ की लुना रोकालाई आयुर्वेद चिकित्सा पढ्न दाङतिर झर्दा साथीहरूले भनेका थिए, ‘धुलोपिठो पढ्न किन गएकी होला ?’ विज्ञान संकायमा उच्चमावि सकेपछि उनका साथीसंगी एमबीबीएस र इन्जिनियरिङको क्रेजमा काठमाडौंतिर लागे । लुना भने आयुर्वेद चिकित्सक बन्न दाङ आइन् । अहिले उनी नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत केन्द्रीय आयुर्वेद विद्यापिठ बिजौरीमा तेस्रो ब्याचकी विद्यार्थी हुन् । उनी ब्याचलर इन आयुर्वेद एन्ड मेडिकल सर्जरी -बीएएमएस) अध्ययनरत छिन् । ठूलोबुबा आयुर्वेद चिकित्सक भएकाले लुनालाई पनि त्यसैमा रुचि थियो । ‘मानिसहरू एलोपेथिक औषधि खाँदाखाँदा थाकेर आयुर्वेदतिर आइरहेका छन्,’ उनले भनिन्, ‘एलोपेथिकले एउटा समस्याको मात्र उपचार गर्छ भने आयुर्वेदले सबैको जरैदेखि समाधान गर्छ । यो धुलोपिठोको होइन, दिगो उपचार हो ।’

दाङ नारायणपुरकी शारदा गौतमलाई सानो उमेरमा घरमा हजुरबाआमाले जडिबुटीबाट उपचार गरेको देख्दा आयुर्वेदप्रति विश्वास बढेको थियो । सोही विश्वासले उनलाई आयुर्वेदको प्रवीणता प्रमाणपत्र तह पढ्न प्रेरित गर्‍यो । र, यही क्षेत्रमा १६ वर्ष बिताइसकिन् । हाल कविराजका रूपमा रोल्पामा कार्यरत गौतम बिदा लिएर आयुर्वेद चिकित्सक बन्ने तयारीमा जुटेकी छन् । केन्द्रीय विद्यापीठमा पहिलो ब्याचमा भर्ना भएकी गौतम अढाइ वर्षपछि चिकित्सक बनिसक्ने छिन् । बजारमा आयुर्वेद विषयमा अनेक बुझाइ भए पनि उनलाई यो प्रभावकारी उपचार विधि लाग्छ । सर्जिकलबाहेक अन्य सबै सेवा आयुर्वेदमा प्रदान गर्न सकिने उनी बताउँछिन् । ‘आयुर्वेदमै पनि पहिले र अहिलेमा धेरै फरक भएको छ । पहिले नाडी छामेर उपचार गर्ने चलन थियो भने अहिले उपकरणकै प्रयोग गरिन्छ,’ उनले भनिन् । घरेलु औषधिबाट उपचार गर्न सकिने र साइड इफेक्ट नहुने भएकाले यो विधि उपयोगी रहेको उनी बताउँछिन् ।

दाङको घोराही २ का विराट पोखरेललाई आयुर्वेद क्षेत्रमा आवश्यक जनशक्ति अभाव भएजस्तो लाग्छ । यही अभाव पूर्ति गर्न आफू आयुर्वेद अध्ययनमा लागेको उनले बताए । ‘जागिर नगरे पनि आफैं व्यवसाय गर्न सकिन्छ,’ तेस्रो ब्याचका उनले भने, ‘आत्मनिर्भर हुन सकिने शिक्षा हो ।’ तुलसीपुर ६ हात्तिखवाकी सम्झना जीसीलाई पनि उच्चमावि सकेपछि के गरौं, कसो गरौं भयो । नजिकै आयुर्वेद चिकित्सक बन्न सकिने अवसर देखेपछि उनी धेरै नसोची नयाँ क्षेत्रमा प्रवेश गरिन् । ‘सुरुमा निकै नयाँ क्षेत्र थियो । के हुने होला, कस्तो होलाजस्तो लागेको थियो,’ उनले भनिन्, ‘अहिले सही क्षेत्रमा आएको महसुस भएको छ ।’

हजुरबाका साथी आयुर्वेद चिकित्सक भएकाले यस क्षेत्रमा आकषिर्त भएका मोहन जोशी रहरैरहरमा महेन्द्रनगरबाट बिजौरी आए । बिजौरीमै कविराज पढेका जोशी अहिले पहिलो ब्याचमा बीएएमएस पढिरहेका छन् । बजारमा एलोपेथिकको प्रभाव भएकाले अनेक चुनौती सामना गर्नुपरे पनि आयुर्वेद व्यावहारिक शिक्षा भएको उनले बताए । केन्द्रीय विद्यापीठमा ०६९ असार १७ देखि आयुर्वेद स्नातक तह -बीएएमएस) को पढाइ सुरु भएको हो । अहिले चौथो ब्याचको भर्ना चलिरहेको क्याम्पस प्रमुख श्याममणि अधिकारीले बताए । हाल १५ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । पूर्वमा धनुषा, महोत्तरीदेखि राजधानी र पश्चिममा कञ्चनपुरसम्मका विद्यार्थी अध्ययनरत छन् । पहिलो ब्याचमा आठ मात्र विद्यार्थी रहेकामा दोस्रो, तेस्रो र चौथोमा २१/२१ जना भएका छन् । बजारमा गुणस्तरीय औषधि अभावमा आयुर्वेदबाट पनि एलोपेथिक औषधि सिफारिस गर्ने गरेकाले चाहेजस्तो आकर्षण आउन नसकेको अधिकारी बताउँछन् । ‘आफ्नै निगरानीमा औषधि निर्माण गर्न पाए आयुर्वेदले उपचारमा जादु नै गर्छ,’ उनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा गुणस्तरीय औषधि बनाउनु हो ।’

जडिबुटी उत्पादनका लागि अनुकूल हावापानी भएका कारण आयुर्वेदमा दाङ उपयुक्त जिल्ला भएको उनले बताए । पर्याप्त जग्गा रहेको संस्कृत विश्वविद्यालय परिसरमा जडिबुटी उद्यान बनाएर विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन सकिने उनी बताउँछन् । हाल जनता विद्यापीठ परिसरमा आयुर्वेद विद्यापीठ सञ्चालित छ । बेलझुन्डीमा २२ करोड ५१ लाख ८३ हजार दुई सय ९० रुपैयाँ लागतमा आयुर्वेद शिक्षण भवन निर्माणाधीन रहेको आयुर्वेद अध्ययन संस्थानका डिन रामेश्वर अधिकारीले जानकारी दिए । तीनतले भवनमा एक सय ८ कोठा निर्माणाधीन छन् ।

उक्त भवन एमडी, एमएस र पीएचडीसम्मको अध्ययनमा उपयोगी हुने उनले बताए । बीएएमएसको साढे पाँच वर्षे कोर्स हुन्छ । साढे चार वर्ष सैद्धान्तिक कक्षा र एक वर्ष प्रयोगात्मक अभ्यास हुन्छ । पढाइ सकिएपछि आठौं तहको मेडिकल अफिसर, बीएएमएस पढाइ हुने कलेजमा अध्यापन, एमडी/एमएस/एमपीएच अध्ययन र सरकारी/गैरसरकारी क्षेत्रमा काम गर्ने अवसरहरू भएकाले आकर्षण बढिरहेको डिन अधिकारीले बताए । ०५५ सालदेखि पूरक कोर्सबाट सुरु भएको संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन १४ वर्षमा स्नातक तहसम्म पुगेको हो । सुविधायुक्त आयुर्वेद शिक्षण भवन बनेपछि एक सय शय्याको चिकित्सालय, योग तथा प्राकृतिक चिकित्साको व्यवस्थाका साथै बृहत् जडिबुटी उद्यान बनाएर अनुसन्धानका काम थाल्ने योजना रहेको डिन अधिकारीले बताए ।

(ई-कान्तिपुर अनलाइनबाट साभार)

Loading...

अन्य समाचारहरु: