१ पुस, धादिङ – नेपाल पत्रकार महासङ्घले नयाँपत्रिका दैनिक काभ्रेका संवाददाता राजकुमार गोलेमाथि अज्ञात समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गरी महासङ्घले स्वतन्त्ररूपमा आफ्नो पेसागत दायित्व निभाउने पत्रकारमाथि भएको आक्रमण सिङ्गो प्रेसमाथिको आक्रमण भएको बताउँदै घटनाले मुलुकको शान्ति सुरक्षामा समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेको छ ।
महासङ्घले गोलेमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीको तत्काल पहिचान गरी कडा कारबाही गर्न र पत्रकारलाई स्वतन्त्र र सुरक्षित पत्रिकारिता गर्ने वातावरण निर्माण गर्न एवम् पत्रकार गोलेको उपचार व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासङ्घ काभ्रे शाखाका अनुसार मङ्सिर २९ गते घर फर्कने क्रममा राति ८ बजे बनेपाको आजाद माविअगाडि सात÷आठजनाको समूहमा रहेका व्यक्तिहरूले खुकुरी प्रहार गरी घाइते बनाएका थिए । खुकुरी प्रहारबाट दायाँ हातमा गहिरो चोट लागेका पत्रकार गोलेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । रासस