७ पुस, काभ्रे –काभ्रे २ का ज्ञानबहादुर मिजारले आफ्नो एउटा मिर्गौला मकवानपुरको पालुङ निवासी सूर्यभक्त श्रेष्ठलाई बिक्री गरे । नेपालको कानुनमा नजिकका आफन्तलाई मात्र मिर्गौला बेच्न पाउने व्यवस्थाअनुसार उनले श्रेष्ठको नाममा नक्कली नागरिकतालगायतका सबै झूटा कागजात बनाएर भारत पुगी मिर्गौला बेचे ।
होक्सेकै मोहन सापकोटामार्फत् मिर्गौला तस्करी गर्ने भक्तपुर दुवाकोटका प्रेमबहादुर थापा मगरमार्फत् पालुङका श्रेष्ठलाई मिर्गौला बेच्नका लागि उनले नक्कली कागजपत्र बनाउनु परेको थियो ।
नेपालमा मिर्गौला तस्करीबारे गरिएको एक अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो । नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्टलगायत सबै कागजात नक्कली बनाई मिर्गौला बेचविखन गर्ने गरेको खुलेको छ ।