८ पुस, धादिङ – आगामी पुस ९ गतेदेखि १९ गतेसम्म धादिङको बेनिघाट गाँउ विकास समितिको वडा नं १ मलेखुमा हुने राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा घोडचढी नाच प्रदर्शन गरिने भएको छ ।
लामो समयदेखि तामाङ लोकसाहित्यको क्षेत्रमा लागि परेका गोपाल फ्युवाको नेतृत्वमा नाच प्रदर्शन गर्न लागिएको हो । यो विशेषत धादिङका उत्तरी क्षेत्रका समुदायले मनाउने गर्दछ । पूराना परम्परालाई जोगाउनका लागि मेलामा प्रदर्शन गर्न लागिएको अध्यक्ष लोकनाथ डल्लाकोटीले पाविलन्युज डटकमलाई जानकारी दिए ।
छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । यो नाच गोर्खाली र तिब्बतबीच १७६१, १७८९ र १७९१ सालमा भएको युद्धको सम्झनामा देखाउने चलन रहेको छ । त्यसबेला गोर्खाली सेनामा धादिङका तामाङको बाहुल्यता थियो । त्यस युद्धमा दुवै पक्षको ठूलो क्षति भयो । अन्तिम युद्धपछि तिब्बतले नुन र गोर्खाले भेडाका उन दिने शर्तमा सन्धी भयो ।
सन्धीपछि बिदा पाएका तामाङ सैनिकले आफूहरूले कसरी युद्ध लडेको हो र युद्धमा भएको क्षती कस्तो थियो भन्ने देखाउन गाउँमा त्यही बेलादेखि घोडचढी नाच देखाउन थालिएको हो । ‘घोडचढी नाचमा तिब्बती युद्धमा खुँडा, भाला, घोडा प्रयोग भए पनि हाल प्रतिकात्मक घोडा र अन्य सामानको प्रयोग गरिन्छ । एउटा समूहले रातो पहिरनमा तिब्बतको र अर्को समूहले सेतो पहिरनमा गोर्खाको संकेत गरेर लडाइँ गर्दै सन्धीमा पुगेपछि नाच सकिन्छ’ छेचीमा देवदेवीदेखि भुतप्रेतसम्मलाई सम्बोधन गरिने हुनाले त्यसपछिको समय फलदायी हुने जनविश्वास छ ।
यो पर्वमा दश वटा आशिर्वाद मागिन्छ जसले गर्दा बर्षभरी गाउँमा कुनै अनिष्ट नहुने विश्वास छ रहिआएको छ । तिथि मिति नजिकै पर्ने भएकाले छेचीलाईनै ल्होसारको रुपमा मान्न थालिएको फ्युवा बताउँछन् ।