८ पुस, धादिङ – ११ औं साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (बुधबार)देखि भारतको केरलामा सुरु हुँदैछ । सार्कका ८ मध्ये सात देशको सहभागिता रहेको प्रतिस्पर्धामा दुई समुह बनाइएको छ ।
समुह ए मा नेपालसहित आयोजक भारत र श्रीलंका छन् । पाकिस्तानले प्रतियोगितामा भाग नलिने भएपछि समुह ए मा तीन टोली मात्र भएका हुन् । समुह बी मा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
प्रतियोगिताको पहिलो खेलमा बुधबार नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलंकाबीचको खेलमा केरलाको त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार बेलुका पौने सात बजे हुनेछ ।
श्रीलंकाले सन् १९९५ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा उपाधि उचालेको थियो । नेपालले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । दुई पटकसम्म सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपाल त्यसअघि जान सकेको छैन ।
नेपाल अघिल्लो पटक सन् २०१३ मा घरेलु मैदानमै भएको प्रतियोगिता र त्यसअघि सन् २०११ मा भारतमा भएको प्रतियोगितामा सेमिफाइनलमा पुगेको थियो ।
यो वर्ष प्रतियोगिताकै सर्वाधिक सफल टोली भारतसँगै एउटै समुहमा परेको नेपाल समुह ए को शीर्ष दुईमा पर्न सके सेमिफाइनलमा पुग्ने छ । भारतले ६ पटकसम्म उपाधि जिती सकेको छ । प्रतियोगितमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान पनि बलियो टिम हो ।