Mon. Oct 14th, 2024

बिहेको २० हजार ऋणले बिल्लीबास (फोटो सहित)

Som Chepang Story (9) copy
शंकर /सरिता श्रेष्ठ/ ९ पुस, धादिङ – बाउको मृत्यु भयो । आमा पोइल गईन् । भएजति सम्पत्ति साहुले हडप्यो । धादिङ गजुरी गाविस स्थित सुन्दरनाङगीका सोमबहादुर चेपाङ (सुइते) अहिले घरको न घाटको भएका छन् । उनी ६२ वर्षका भए । सुइते र उनका श्रीमती सोममायाँ अहिले विचल्लीमा परेका छन् । पुसको कठ्याङ्ग्रीदो जाडोमा जस्ताले बारेको कटेरोमा रात कटिरहेको छ ।
बिहेमा लिएको २० हजार रुपैया ऋण तिर्न नसकेर साहुले खेतबारी नै हडपेपछि चेपाङ दम्पत्ति बिचल्लीमा परेका हुन् । भएजति सबै सम्पत्ति साहुँलाई बुझाएर आफु घरको र घाटको बनेपनि साथीभाईसंग उनी हाँसेरै बोल्छन् ।

Som Chepang Story (3) copy
जसोतसो दुखकष्ट सहेर बसेको भएतापनि चेपाङको मुहारमा उहि खुसी छ, जुन बालापनामा थियो । उनको मुहारमा उस्तै मुस्कान देखिन्छ, श्रीमती सोममायाँलाई देखाउँदै भन्छन्, ‘उल्लाई म साथी मलाई उ साथी’ । सोममायाँ सोमबहादुर (सुइते)को तेस्रो श्रीमती हुन् । कटेरो सानो भएपनि उनले भित्र छिर्न कसैलाई दिदैनन् । सकेसम्म अरुलाई आफ्नो कटेरो देखाउँन मान्दैनन् । ‘श्रीमतीलाई आँखा लगाउँछन् । उरुले लैजान्छन् । म एक्लै हुन्छु । यो पनि नभए म कोसंग बस्ने’ उनी पिडा पोख्छन् ।

सुइते बाबुको एक्लो छोरा हुन् । उनले यस अघि २ वटासँग बिहे गरिसकेका छन् । दुवै मुखाले (छुच्चो) भएकोले छोडिदिए । उनले हाँस्दै भने, ‘त्यसपछि तेस्रो बिहे गरे । उनीबाट बच्चा भएन । अहिले हामी उसलाई म साथी र मलाई उ साथी भएको छौ ।’

Som Chepang Story (4) copy

सोममायाँ शारीरिक रुपले अपाङ्ग छिन् । साहुकोमा ज्यालामजदुरी गरेर उनले अहिलेसम्म श्रीमती पाल्दै आएका छन् । सुइते भन्छन्–‘यतिञ्जेल त अलि बल थियो काम गर्न सकिन्थ्यो अब त बल घट्यो, काम गर्न सक्दिन, ज्यालामा काम लगाउनेले पनि काम लगाउन छोडे, काम दिइहाले भने पनि दिनभरी खन्यो, जोत्यो एक पाथी धान दिन्छन्, खोलाको पानी ल्याउँछौँ, नुन, खुर्सानी हाल्छौँ र खान्छौँ ।’ सुइतेले आफ्नो यथार्थ सुनाए ।

Som Chepang Story (11) copy

सुइते ६ महिनाको हुँदा बुबाको मृत्यु भयो । आमाले छोडेर अर्कैसंग पोइला गइन् । हजुरआमाको साथमा सुइते हुकिएका हुन् । सुइते २२ वर्षको हुँदा गाउँलेकै सल्लाह र चेपाङ जातीको परम्परा अनुसार विहे गरे । विहेमा गाउँकै रुम्बा तामाङसंग लिएको २० हजार ऋण तिर्न नसकेपछि भएजति सबै झिटी उसैलाई सुम्पेर आफु हिडेको उनले बताए । ‘बाबुको पाखो बारी थियो । विहेमा लिएको ऋण तिर्न नसक्दा घर जग्गा सबै साहुले हडप्यो’ उनले भने, ‘साहुले कि पैसा ले नत्र घरजग्गा छोडेर निस्की भन्दै कागज बनाएर सहिछाप गर्न लगायो, कमाउन सकिएन, चोर्न भएन, कहाँबाट ल्याउनु अनि खेतबारी नै छोडेर हिडेका हौँ ।’ सुइतेका अनुसार समयमा सावाँ र व्याज बुझाउन नसकेपछि उनको जायजेथा तामाङले आफ्नो नाममा बनाएका हुन् । ‘जहिलेसम्म मेरो पैसा तिर्न सक्दैनौं, त्यतिबेलासम्म यो जग्गा मेरो भन्दै घरबाट निकाल्यो’ उनले भने ।

Som Chepang Story (1) copy

४० वर्ष देखि सुइते जहाँ काम पाउँछ, खान पाउँछ त्यहि कटेरो तयार गर्दै बस्न बाध्य छन् । कहिले ओडारमा त कहिले अरुको खाली जग्गामा कहिले सार्वजनिक स्थलहरुमा बस्दै आएका छन् । जहाँ काम पायो त्यहि नै कटेरो बनाएर बस्छन् । अहिले उनी गजुरी गाविस वडा नम्बर ४ जुडिडाँडा स्थित मुक्तिकान्त सिलवालको आँपको बगैचामा चार पाता जस्तोले घेरेर कटेरो तयार गरी बसिरहेका छन् । पुष महिनाको कठ्याङ्गीदो जाडोमा न एक सरो लगाउने गतिलो कपडा छ न ओड्ने ओछ्याउने, कटेरोभित्र तीन ओटा ढंगा जोडेर बनाएको अगेना छेउमा यी दम्पत्तिले रात कटाइरहेका छन् । विरामी पर्दा औषधी खान समेत सकिरहेका छैनन् ।
Som Chepang Story (7) copySom Chepang Story (6) copySom Chepang Story (8) copy

About The Author

अन्य समाचारहरु: