१० पुस, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना भइसकेको छ । तर, मन्त्रिपरिषद् विस्तार अझै रोकिएको छैन । यसबीचमा उनले चारपटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । बिहीबार मन्त्रिमण्डल विस्तार गरेर ओलीले साना दलका चारजनालाई मन्त्री बनाए । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्को संख्या ३४ पुगिसकेको छ ।
संसद्मा एक सिट भएका पार्टीबाट समेत मन्त्री बनाइएको छ । मन्त्री हुनेमा राप्रपाका दीपक बोहरा, परिवार दलका एकनाथ ढकाल, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा छन् । बोहरालाई श्रम तथा रोजगार, थापालाई विज्ञान तथा प्रविधि र सिंहलाई सरसफाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
ढकाललाई कुनै विभागीय जिम्मेवारी तोकिएको छैन । एमाले, एमाओवादीलगायतका सत्ता गठबन्धन दलबाट चाँडै केही राज्य र सहायकमन्त्री पनि थपिने भएका छन् ।
जम्बो मन्त्रिपरिषद्
ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ जना उपप्रधानमन्त्री, २१ मन्त्री, चार राज्यमन्त्री र दुईजना सहायकमन्त्री छन् । ६ जना उपप्रधानमन्त्री बनाएर रेकर्ड बनाएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकार पनि सबैभन्दा जम्बो बनाएर नयाँ रेकर्ड राख्ने सम्भावना रहेको प्रधानमन्त्री ओलीनिकट स्रोतले बतायो ।
सत्ता गठबन्धन दलमध्ये अहिलेसम्म राप्रपा नेपालले आफूले पाएका सबै मन्त्रालयमा राज्यमन्त्री र सहायकमन्त्री बनाइसकेको छ । उसले बनाएपछि स्वाभाविक रूपमा अरू सबै पार्टीले राज्य र सहायकमन्त्रीमा दाबी गर्ने बताइन्छ । २८ मन्त्रालयमा २८ मन्त्री, २८ राज्यमन्त्री र २८ सहायकमन्त्री हुँदा मन्त्रिपरिषद् ८४ सदस्यीय हुने सम्भावना छ । स्रोतका अनुसार केही दिनभित्रै राज्यमन्त्री र सहायकमन्त्रीहरूको शपथको तयारीमा प्रधानमन्त्री ओली छन् ।
नयाँपत्रिकाबाट