काठमाडौँ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनको बिहीबार साँझ समापन भएको छ ।
राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेदेखि समापन समारोह सुरु भएको थियो। सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गरेका छन् । सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाबाट समापन समारोहलाई सम्बोधन गरेका थिए ।
सुरुमा सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गरेका थिए । १९ औँ सार्क सम्मेलन सन् २०१६ मा पाकिस्तानमा गर्ने गरी सार्क सम्मेलन सकिएको हो । प्रधानमन्त्री कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि समापन समारोहमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि मन्तव्य राखेका थिए ।
यो सम्मेलनमा सार्क राष्ट्रहरुबीचमा उर्जा विकास सम्झाैतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन भएको हो । सम्मेलन समापनपछि फोटोसत्र गरेर प्रमुखहरु गन्तव्यतर्फ लागेका छन् ।