Sat. Oct 12th, 2024

गोरु जुधाई प्रतियोगिता विशेष हुनेछ

janak sirहरेक वर्षझैं यसवर्ष पनि नुवाकोटको तारुकामा गोरु जुधाई प्रतियोगिता हुँदैछ । माघे सक्रान्तिको अवसरमा हुने सो प्रतियोगिताको तयारी तीब्र रुपमा चलिहेको आयोजकले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकको साथै राष्ट्रिय अन्तराष्ट्रिय सञ्चारमाध्यम मार्फत समेत उल्लेख्य प्राथमिकता पाइरहेको गोरु जुधाई प्रतियोगिता गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पपछि पनि उही जोशका साथ आयोजना हुँदैछ । यसवर्ष तारुका ५ चन्दनीस्थित कटरबोट पाटोमा १८ हल गोरु जुधाइने लक्ष्य छ । यसै पेरीफेरीमा रहेर मेला व्यवस्थापन समितिका अध्यक्ष जनकराज ढुंगानासँग पाविल न्युज डट कमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

१) गोरु जुधाई मेलाको इतिहास बारे प्रष्ट पारिदिनोस् न ?  
तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमषेरका ज्वाइँ जयपृथ्वीबहादुर सिंहलाई तारुका विर्ता दिईएको थियो । सन् १९७० को दशकको सो समयमा मनोरञ्जनका अन्य साधनहरु नभएकाले स्थानियहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि यो मेला सुरु गरिएको बुझिन्छ ।  सोही समयदेखि स्थानिय किसानहरुले गोरु पाल्ने र जुधाउने गरिआएका हुन् ।  तसर्थ यो मलाको ऐतिहासिक विकासक्रम हेर्दा सामाजिक सांस्कृतिक परम्पराको रुपमा विकसित हुँदै आएको देखिन्छ । सो मेलालाई व्यवस्थित र राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान दिलाउनका लागि वि. सं २०६२ सालदेखि मेला व्यवस्थापन समिति गठन गरियो । यसले मेलालाई थप ब्यापक बनाउने काम गर्योे । यसभन्दा अगाडि तारुकाका विभिन्न स्थानमा छुट्टाछुट्टै रुपमा गोरु जुधाईन्थ्यो ।

२) माघेसंक्राती पनि आउनै लाग्यो, मेलाको तयारी कहाँ पुग्यो ?
मेला आउन अब केहि दिनमात्र बाँकी छ । त्यसैले हामि यसका लागि निकै लागि परेका छौँ । मेलालाई भव्यताका साथ सम्पन्न गर्नका लागि ९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । त्यस्तै फिल्ड व्यवस्थापनका लागि १५ सदस्यीय स्वयंसेवक दस्ता, सवारी साधन व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन गर्नुका साथै बाहिरी वातावरण सहजताका लागि तारुका गाविसका तीन माध्यामिक विद्यालयका कक्षा १० का १ सय ५० विद्यार्थीहरुको टिम परिचालन गर्ने तयारी गरिएको छ । पत्रकार तथा सञ्चारकर्र्मीहरुका लागि आवासको व्यवस्था पनि गरिएको छ । गोरु जुधाई प्रतियोगितालाई सफल बनाऊन आम गोरुधनी, स्थानीयदेखि राजनीतिक दलसम्म एकजुट भएर लागि परेका छन् ।  गोरुजात्रालाई व्यवस्थित गर्नको लागि मेरै अध्यक्षतामा ९ सदस्यीय माघेसक्रान्ति मेला व्यवस्थापन समितिको गठन भइसकेको छ । यस बाहेक अन्य तयारी पनि तिव्र रुपमा भइरहेको छ, यसमा तपाईहरु सबैको साथको पनि अपेक्षा गरेका छौँ ।

३) गोरु जुधाउनका लागि प्रकृयाहरु के –के छन्, कस्ता गोरुले प्रतिस्पर्धामा भाग लिन पाउँछन् ?
प्रतिस्पर्धामा भाग लिने गोरु धनीले ५ सय रुपैयाँ धरौटी राखेर दर्ता गराउनुपर्छ । नेपालको जुनसुकै भागबाट पनि प्रतिस्पर्धामा भाग लिन चाहने सबैलाई हामिले समेटेका छौँ । समान शारीरिक ढाँचा र मोटोपनका आधारमा प्रतिस्पर्धाका लागि गोरुको चयन गरिन्छ । बिजोर गोरुहरुलाई प्रतिस्पर्धामा सहभागी गराईन्छ । प्रतिस्पर्धामा ल्याउनका लागि किसानहरुले ठूलो मिहिनत गरेका हुन्छन् । उनिहरुले धेरै करिब ७÷८ महिनाअघि देखि नै तयारी थाल्छन् । तेल, अण्डा, चामल, मास लगायतका शक्ति दिने खालका पोसिलो खाद्यान्न खुवाई पाल्छन् । असारदेखि नै दुधिलो मकै खुवाउँदै गोरुलाई बलियो र प्रतिस्पर्धामा विजयी बनाउने गरी तयारी थालिएको हुन्छ ।

४) विजयी गोरु धनीलाई इनाम तथा पुरस्कारहरुको व्यवस्था के–कस्तो छ ?
मेलालाई हालसम्म दर्ताको प्रक्रियामा लान नसकिएकोले हामीले धेरै इमान र पुरस्कार दिन सक्ने अवस्था छैन । यद्यपी, विजेतालाई २ हजार र उपविजेतालाई १ हजारको पुरस्कार दिइन्छ । त्यस्तै नगद र प्रमाणपत्र पनि दिइने छ । यस्तै गोरु पाल्ने किसानलाई अन्नपात तथा अण्डा लगायतका दाना सहित दुर्घटना बीमा समेतको व्यवस्था गरिने छ ।

bull-fight-4

५) मेलाका लागि आर्थिक व्यवस्थापन कसरी भइराखेको छ ?
मेला व्यवश्थापनका लागि २ देखि अढाई लाख रुपैंया सम्म खर्च लाग्छ । जसका लागि गाविसबाट वर्षेनी ४० हजार रुपैयाँ विनियोजन हुन्छ । जिविसबाट पनि निश्चित नभए पनि केही मात्रामा सहयोग हुन्छ । नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद् र विभिन्न व्यपारिक तथा व्यवसायीक संघसंस्थाहरुले आफ्नो खुसीअनुसारको सहयोग गर्छन् । यसैबाट यो मेला चल्छ, अहिले सम्म पनि यसरी नै चलिराखेको छ ।

६) भुकम्प र नाकाबन्दीको असर सिंगो देशले नै खेपिरहेको छ, विभिन्न संकटहरु पनि निम्तीएका छन्, यसले मेलालाई असर पार्ला नी त ?
हो, हामि समस्यामा छौँ । तर समस्याकै बाबजुत पनि मेला सफल पार्ने हाम्रो लक्ष्य छ । नाकाबन्दी तथा भुकम्पले मेला हर्न आऊनेका लागि असर गर्दैन । तुलनात्मक रुपमा नुवाकोटका अन्य गाविसको तुलनामा कम मानविय क्षति भएपनि भौतिक रुपमा ध्वस्त भएको बस्तीका जनताको पीडालाई भुलाउँदै आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न हामी प्रयासरत छौँ । यसपटक ५० हजार दर्शक मेलामा उतार्ने हाम्रो लक्ष्य छ ।

७) तपाईहरुले वर्षेनी मेला आयोजना गर्दै आऊँदा भोग्नुपरेका चुनौतीहरु के के छन् ?
अहिले ६ रोपनी क्षेत्रफलको क्षेत्रमा गोरु जुधाइन्छ । यो निजी जग्गा हो । सो जग्गा सार्वजनिकीकरण हुन सकेको छैन । तथापी, हामीले पहल गरिरहेका छौँ । त्यस्तै खर्चको व्यवस्थित टुङ्गो लाग्न सकेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार पनि यथेष्ठ मात्रामा हुन सकेको छैन । अहिले तारुका बाहेक पनि रसुवा र नुवाकोटको सीमा वेत्रावतीमा गोरु जुधाइन्छ । उनिहरुले त वि सं २०६२ देखि गोरु जुधाउन थालेका हुन् । यसलाई हामिले चुनौतीका रुपमा भन्दा पनि यहाँबाट हरुले सिकेको सुनौलो पाठको रुपमा लिएका छौँ ।

८) अन्तमा,
विश्वकै दुर्लभ प्रतियोगिता रहेको यो गोरुजुधाई मेलालाई थप परिष्कृत र व्यापक प्रचारप्रसार गर्न सकेको खण्डमा यसले स्थानिय किसान र तारुकामात्र नभएर सिङ्गो नेपाललाई नै चिनाउन सक्छ । यसका निम्ति मूलधारका संचार माध्यम, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद्ले विशेष जिम्मेवारी बहन गर्नु जरुरी छ । यसो गर्न सकेको खण्डमा यो मेला नेपालकै गौरवको मेला बन्न सक्छ ।

About The Author

अन्य समाचारहरु: