Mon. Oct 14th, 2024

मुलुकमा आठ प्रदेश नै उपयुक्त विकल्प– उपप्रम गच्छदार

  gachhadar  २८ पुस विराटनगर– उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सीमाङ्कनको समस्या समाधानका लागि मुलुकमा आठ प्रदेश नै सबैभन्दा राम्रो विकल्प रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले ‘अतिवादी चिन्तन र अतिवादी सीमाङ्कनको सम्बन्धमा राखिएका विचार’ को बीच बाटो आठ प्रदेश नै देखिएको प्रस्ट पार्नुभयो ।

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उहाँले नाकाबन्दी, बन्दहडतालका कारण गरिबलाई भोकभोकै कति दिनसम्म राख्ने भनी मधेसी मोर्चाप्रति प्रश्न गर्दै मोर्चालाई लचिलो भएर वार्तामा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

संविधान संशोधनलगायत मुलुकको समस्याको समाधान संसद्बाट नै हुने भएकाले विश्वासिलो वातावरण बनाउनसमेत उहाँले मोर्चालाई आह्वान गर्नुभयो ।

झापा, मोरङ र सुनसरी कुनै पनि सर्तमा प्रदेश नं २ मा जान नसक्ने स्पष्ट पार्दै उहाँले मुलुकको आठ प्रदेश निर्माण गर्ने सोचाइका आधारमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाको केही भाग मिलाएर प्रदेश बनाउन सकिने सम्भावना व्यक्त गर्दै भन्नुभयो– “व्यापारिक र राजनीतिक केन्द्रका रुपमा विराटनगर स्थापित भएकाले आठौँ प्रदेशको राजधानी विराटनगर हुनुपर्छ ।”

About The Author

अन्य समाचारहरु: