Sun. Oct 13th, 2024

माघे सङ्क्रान्तिमा तारुकामा १५ हल र बेत्रावतीमा ८ हल गोरु जुध्दै

bull-fight-4२८ पुस, नुवाकोट– नुवाकोटको पहिचानका रूपमा स्थापित हुँदै गएको गोरु जुधाई यस पटक पनि आगामी माघ १ गते आयोजना गरिने भएको छ ।

प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रूपमा मनाइँदै आएको गोरु जुधाई पर्वलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो । सामाजिक संस्कारको रूपमा झण्डै शताब्दीअघिदेखि नुवाकोटको तारुका–५ कटरबोट, चन्दनीमा र एक दशक अघिदेखि नुवाकोट र रसुवाको बेत्रावतीमा गोरु जुधाई मेला गरिँदै आएको छ ।

यसपटक तारुकामा १५ हल र बेत्रावतीमा आठ हल गोरु जुधाइने मेला आयोजक रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गोरु जुधाई प्रतियोगिताका लागि जनकराज ढुङ्गानाको अध्यक्षतामा नौ सदस्यीय माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिसमेत गठन गरिएको आयोजकले जनाएको छ ।

बझाङी राजा जयपृथ्वीबहादुर सिंहको मावली गाउँ भएको र भान्जालाई मावली आउँदा स्वागतका लागि पहिलो पटक यहाँ गोरु जुधाईएको र त्यही वर्षदेखि तारुकामा गोरु जुधाउने परम्परा सुरु भएको जानकार बताउँछन् ।

विगतमा कोलडाँडा, चन्दनी, ठूलोपोखरीलगायत ठाउँमा छरिएर जुधाईने गोरु जुधाई विगत पाँच वर्षदेखि तारुका–५ कटरबोटमा एकीकृत र व्यवस्थित रूपमा मनाउन थालिएको छ ।

मेला अवलोकनका लागि छिमेकी जिल्ला तथा केही सङ्ख्यामा विदेशी पर्यटक पनि पुग्ने गरेका छन् । पत्रकार सम्मेलनमा मेला व्यवस्थापन समिति संयोजक जनकराज ढुङ्गानाले मेलालाई व्यवस्थित र भव्य बनाउन सुरक्षा, स्वास्थ्य शिविरलगायत आवश्यक सबै व्यवस्था गरिने बताउनुभयो । उहाँले गोरुपालक किसानलाई यसै वर्षदेखि बीमाको व्यवस्था गरिने पनि जानकारी दिनुभयो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्व अध्यक्ष शिव लामिछानेले गोरु जुधाईलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरु गरिएको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले मौलिक संस्कृति बोकेको परम्परागत गोरु जुधाउने पर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरी अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न बोर्डले पूर्ण रूपमा सहयोग गर्ने वचन दिनुभयो ।

गोरु जुधाईको अलवा मेलामा स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रमसमेत गरिने जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: