३ माघ, धादिङ – धादिङको महाभारत क्षेत्रमा अबैध रुपमा खेती हुँदै आएको प्रतिवन्धित लागु पदार्थ गाँजा प्रहरीले नष्ट गरेको छ ।
दक्षिणी धादिङको किरान्चोक, बैरेनी, महादेवस्थान र भुमेस्थान गाविसका विभिन्न स्थानमा रहेको गाँजा प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गजुरी, इलाका प्रहरी कार्यालय खानीखोला र लागु औषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरीको संयुक्त टोलीले विभिन्न गाविसका १७ विगाहा २ रोपनी क्षेत्रफल भित्र लगाइएको जाँगा नष्ट गरेको हो ।
तीन दिनमा किरान्चोक गाविसको वडा नम्बर १ स्थित चैनपुरको १५ विगाहा, बैरेनी गाविस वडा नम्बर १ को २ विगाहा, महादेवस्थान गाविस वडा नम्बर ३ को २ रोपनी जमिनमा लगाइएको गाँजा प्रहरी टोलीले फाँडेर नष्ट गरेको प्रहरी नायव परिक्षक सविन प्रधानले जानकारी दिए । एक वर्ष अघि पनि प्रहरीले त्यस क्षेत्रको एक हजार रोपनीमा लगाइएको गाँजा प्रहरीले फाँडेको थियो ।
अघिल्लो वर्ष गाउँ पुगेर गाँजा आफै फडाँनी गर्न भन्दै गाउँलेहरुलाई चेतावनी दिएर गाँजा फडाँनी गरेको भएपनि यस पटक स्थानीयलाई सुचना नदिई गाँउ पुगेर गाँजा फडाँनी गरेको इलाका प्रहरी कार्यलय गजुरीका प्रहरी निरक्षिक डासु गिरीले बताए। स्थानीयहरुले मकै बालीसंगै व्यवसायिक रुपमा गाँजाको खेती गर्ने गरेका छन् ।
फोटो सौजन्य : जिल्ला प्रहरी कार्यलय धादिङ