Thu. Oct 10th, 2024

गम्भीर वार्तामा बसे दुई घन्टामा सबै कुरा मिल्छ : बाबुराम

Baburam-Bhattari_281817360_120646443

काठमाडौं – संवैधानिक, राजनीतिक तथा सम्वाद समितिका सभापति डा.बाबुराम भट्टराईले दलहरु गम्भीर भएर वार्तामा बसेमा दुईघन्टामा सबै विवाद टुंगिने बताएका छन्।

गृहजिल्ला गोरखा पुगेका भट्टराईले शनिबार बिहान संवाददाताहरुसँग भने, नेतृत्वमा गम्भीरताको अभाव देखिन्छ। गम्भीर वार्तामा बस्ने हो भने दुईघन्टामा सबै कुरा मिल्छ। संविधानका अन्तरवस्तुमा दलहरुबीच सहमतिमा भएर प्रक्रियालाई केही छोटो बनाएर माघ ८ मै संविधान जारी गर्ने अवस्था अझै कायम रहेको उनले बताए।

भट्टराईले राज्य पुनरसंरचनाका लागि विभिन्न अवधारणा र अडान बाहिर आए पनि आठ वा नौ प्रदेशमा सहमति हुनसक्ने बताए। शासकीय स्वरुपमा देखिएको विवादमा पनि वीचको लाइन खोज्न खोजेर अघि बढ्न सकिने बताए।

राज्यको पुनरसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीजस्ता मुख्य विषयमा तीन दलले फरकफरक खालका तर्क र प्रस्ता्व ल्याएका छन्। राज्यको पुनरसंरचनामा कांग्रेस एमालेले छदेखि सात प्रदेशसम्मको साझा प्रस्ताव पेस गरेका छन् एमाओवादीले पहिचानसहितको दस प्रदेश प्रस्ताव राखेको छ।शासकीय स्वरुपमा कांग्रेस एमाले संवैधानिक राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा छन् भने एमाओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको अडान छोडेको छैन।

निर्वाचन प्रणालीमा एमाओवादीले तल्लो र माथिल्लो सदन दुवैको समानुपातिक निर्वाचन गर्नुपर्ने प्रणालीको पक्षमा अडान लिएको छ भने एमाले र कांग्रेसले माथिल्लो सभाको मात्रै समानुपातिक निर्वाचन गर्नुपर्ने तर्क राखेको छ।
न्यायप्रणालीमा पनि दलहरुबीच कुरा मिल्न सकेको छैन। कांग्रेस एमालेले सर्वोच्च अदालतभन्दा संवैधानिक अदालत आवश्यक नभएको अडान लिएका छन् भने एमाओवादीले सर्वोच्च अदालतभन्दा माथि संवैधानिक अदालत आवश्यक रहेको पक्षमा छन्। भट्टराईले निर्वाचन प्रणाली र न्यायप्रणालीमा ठूलो विवाद नरहेको बताए

नेतृत्वमा पुनरसंरचना आवश्यक

भट्टराईले पार्टीभित्रको नेतृत्वमा पुनरसंरचना आवश्यक रहेको बताए। एउटै व्यक्ति लामो समयसम्म मूल नेतृत्वमा बसिरहँदा तानाशाह जन्मिने खतरा बढ्ने र सांगठनिक उर्जा पनि कमजोर हुँदै जाने बताउँदै भने,  अब पार्टीभित्र सांगठनिक, सत्ता र वैचारिक नेतृत्व अलगअलग व्यक्तिबाट हुनुपर्छ। अहिले सांगठनिक नेतृत्वमा रहेकाहरुले युवा पुस्तालाई मौका दिएर वैचारिक नेतृत्वमा आउनुपर्छ । उनले यो विषयमा आगामी केन्द्रीय समितिमा छलफल हुने बताए। भट्टराईले घुमाउरो रुपमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सांगठनिक नेतृत्व छोडेर वैचारिक नेतृत्वमा आउनुपर्ने बताए ।
(अन्नपूर्ण अनलाइनबाट साभार )

About The Author

अन्य समाचारहरु: