Sat. Oct 12th, 2024

प्रभावितका पक्षमा

gayatri

गायत्री खतिवडा –

महिला मानवअधिकार रक्षकहरुले लामो समय देखि हिंसा प्रभावितहरुका पक्षमा काम गर्दै आएको छन् । केन्द्र देखि जिल्ला र गाविस स्तर सम्म महिला मानवअधिकार रक्षकहरुले व्यक्तिगत र सामुहिक रुपमा काम गरिरहेका छन् । जुनसुकै परिस्थीति र परिवेशको सामना गर्नुपरे पनि महिलाको मानवअधिकार, सुरक्षा र न्यायको पक्षमा निरन्तर लागिरहेका छन् । महिलाको मानव अधिकारको पक्षमा आवाज उठाउनु, पैरवी गर्नु र हिंसाको विरुद्धमा बोल्नु भनेको कुनै वर्ग विशेष र जात विशेषको विरुद्धमा बोल्नु होइन । महिलाको मानवअधिकारको पक्षमा पैरवी गर्नु भनेको पुरुषको विरुद्धमा बोल्नु होइन र हामीले त्यस्तो मान्यता पनि राख्दैनौं । हामीले त्यस्तो गलत ‘सोचका’ विरुद्धमा बोलिरहेका हुन्छौं जस्ले महिलालाई ‘दासी’ र पुरुषलाई ‘मालिकका’े रुपमा व्यवहार गर्छ । महिलालाई पुरुषले नियन्त्रण गर्ने  साधनको रुपमा बुझ्ने गलत सोचका विरुद्धमा मात्र हामीले पैरवी गर्दै आएका छौं । साथै कानुनी, नीतिगत र व्यवहारमा हुने त्यस्ता कमजोरीका विरुद्धमा पैरवी गर्दै आएका छौं । महिला माथी हुने कुनै पनि केशमा जाति, धर्म, पेशा, वर्ग र क्षेत्र हाम्रो सरोकारको विषय भएको छैन र हुँदैन पनि  ।

अरुले अरु धेरै विषय र क्षेत्रमा काम गरेका छन् । तर महिला मानवअधिकार रक्षकहरुले एउटै विषय र क्षेत्रमा काम गर्छन् । त्यो हो न्याय  र महिलाको मानवअधिकार । यो विषयमा काम गर्दा अरुले प्रशंसा गरिदिनुपर्छ, पुरस्कृत गरिदिनुपर्छ र सम्मान गरिदिनुपर्छ भन्ने हाम्रो मान्यता छैन । महिला मानवअधिकार रक्षकहरुले गरेका काम सवैलाई मन पर्नुपर्छ भन्ने पनि छैन । कसैले स्याबास् भनेस् की नभनोस् त्यसमा हाम्रो सरोकार हिजो पनि थिएन, आज पनि छैन र भोली पनि हुने छैन । किनकी हाम्रो आफ्नो पनि केही आचारसंहिता छ । को महिलामानवअधिकार रक्षक हो र होइन भनेर कसैले टयाग लगाइदिनुपर्छ भन्ने पनि छैन । किनकी त्यो व्यक्ति, संस्था, समुह जो पनि हुन सक्छ । त्यो महिला या पुरुष जो पनि हुन सक्छ । कसले प्रभावितलाई केन्द्रबिन्दुमा राखेर काम गर्छ , कसले हिंसाको विरुद्धमा बोल्छ र कसले महिलाको विशेष अधिकारको बारेमा पैरवी गर्छ भन्ने कुरा नै प्रमुख कुरा हो ।

धादिङ्ग जिल्लामा पनि २०६६ साल देखि महिला मानवअधिकार रक्षकहरुले महिला माथी हुने हिंसा , जोखिम र अन्यायको विरुद्ध काम गरिरहेका छन् । हिंसा प्रभावितहरुलाई  सहयोग , परामर्श र पुर्नस्थापनाको काम गरिरहेका छन् ।  महिला मानअधिकार रक्षकहरुले गरेको सहयोगले त्यस्ता प्रभावितले न्याय पाएका कि पाएनन् ? हिंसा प्रभावितहरुको न्यायमा पहुँच वृद्धि भयो कि भएन ? त्यस्ता सहयोगले हिंसा प्रभावितलाई हानी पुग्यो या फाइदा भन्ने कुरा मात्र प्रमुख सरोकारको विषय हो र हुनुपर्छ भन्ने मान्यता राख्छौं हामी ।

यसै हप्ता एउटा गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा धादिङ्गमा महिला मानवअधिकार रक्षकहरुले गरेको कामका कारण न्यायमा प्रभाव परेको छ भन्ने सुन्न पाएँ । हो हामीले हिजो देखि नै जिल्लामा न्यायिक र अर्धन्यायिक निकाय भित्र हुने ढिला सुस्ती र चलखेलका विरुद्धमा बोल्दै आएका छौं । आज पनि न्यायमा प्रभाव पार्ने त्यस्ता खालका जुनसुकै गतिविधीमा हामी निगरानी राख्छौं ,लेख्छौं र  बोल्छौं । किनकी हामीलाई थाहा छ कानुन सवैका लागि समान हो । सवैको सहज पहुँचमा हुनुपर्छ । प्रभावितको पहुँचमा न्यायलय होस् । प्रभावितले न्यायको महशुस गर्न सकुन् र दुःख नपाउन् भन्नेमा हाम्रो ध्यान केन्द्रित हुन्छ । प्रभावितका लागि न्यायिक र अर्धन्यायिक निकायले दिने सेवा सुविधाका प्रभावकारी होस्, छिटो होस्, सर्व सुलभ होस् । त्यस ठाउँमा पुग्दा जुनसुकै प्रभावितले पनि सुरक्षा र सम्मानकोे महशुस गर्न सकुन् भन्ने कुरामा हामी जहिले पनि सचेत हुन्छौं । किनकी प्रभावितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने नै हाम्रो रणनीति हो । यि कुरा सवैलाई मन पर्नुपर्छ र चित्त बुझ्नुपर्छ भन्ने नहुन पनि सक्छ ।

हिंसा प्रभावितका पक्षमा काम गर्दा पटक पटक हामीले ज्यान मार्ने धम्की, जिल्ला निकाला गर्ने धम्की, परिवारका सदस्य माथी हानी पु¥याउने धम्की नआएको होइन । यस्ता धम्की, जोखिम र असुरक्षाको वातावरण पीडक पक्षले मात्र बनाउँछ भन्ने छैन । कानुन कार्यान्वयन गर्ने निकायले समेत हामी माथी यस्तो धम्की र जोखिमको वातावरण सिर्जना गराएको घटना हामीले विर्सीएका छैनौं । यस्ता कुराहरुले हामीलाई कमजोर हिजो पनि बनाएन र आज पनि बनाउँदैन । किनकी हामी हिजो पनि र आज पनि केवल प्रभावितका पक्षमा काम गछौं । न्यायका पक्षमा काम गछौं र बोल्छौं । कानुनको गलत प्रयोग र व्याख्या हुनुहुँदैन र कानुनले तोकेको भन्दा बाहिर जानुहुँदैन भन्नेमा पनि हामी सचेत छौं ।

जिल्लामा महिलामाथीको हुने हिंसाको घटना बाहिर आउने क्रम धेरै नै रहेको छ । दैनिक जसो ३ वटा केश घरेलु हिंसाबाट प्रभावित भएर आउनेहरुको रहेको छ । त्यसपछि बहुविवाह र यौनजन्य हिंसाको केश पनि बढी हुनेमा पर्दछ । अशिक्षा, गरिबी, आर्थिक अवस्था कमजोरी या जाँड रक्सी सेवनका कारणले हिंसा हुन्छ भन्ने मान्यतामा परिवर्तन हुँदै गएको छ । आजका दिनमा महिलामाथी हुने कारणहरु यि मात्र छैनन् । शिक्षा, रोजगारी, श्रोत र साधनको पहुँचमा हुनेले पनि हिंसा गरिरहेका छन्  र हिंसामा परिरहेका छन् । महिला मानवअधिकार रक्षकहरुको जिल्ला सञ्जाल धादिङ्गमा भूकम्पछि मात्र २ सयको हाराहारीमा केश रेकर्ड गरिएको छ ।

यसमा घरेलु हिंसा, बहुविवाह, यौन हिंसा, कुटपीट, सम्पत्तिको अधिकारबाट बञ्चित लगाएका केशहरु रहेको छ । यतिका संख्याका प्रभावितहरुले आफुमाथी भएको अन्यायको विरुद्धमा बोल्ने आँट गर्नु र बाहिर निस्कनु भन्ने कुरा पनि कम महत्वपूर्ण छैन । प्रभावितको सहयोगमा काम गर्दा न्यायमा असर परेको छ भन्ने सोच राख्ने समाजले साँच्चै प्रभावित प्रति चै कस्तो व्यवहार गर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यसैले  जुनसुकै खालका अप्ठ्यारा परिस्थीतिको सामना गर्नुपरे पनि महिला मानवअधिकार रक्षकहरु प्रभावितको पक्षमा हिजो पनि थिए, आज पनि छन् र भोली पनि रहिरहनेछन् ।

About The Author