१९ माघ, धादिङ – धादिङ काठमाडौँ यातयात सेवा बन्द हुदाँ यात्रुहरु मारमा परेका छन् ।
बस नचल्दा धादिङका विभिन्न ठाँउ ठाँउमा यात्रुहरु अलपत्रमा परेका छन् । गत आइतबार काठमाडौँ देखि धादिङ आउदैै गर्दा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका सिजन श्रेष्ठको शव उठाउन नपाएको भन्दै पीडित परिवारले धादिङ काठमाडौँ यातयात सेवा बन्द गरेका हुन् ।
आइतबार काठमाडौँबाट गल्छी जादै गरेको बा ६२ प ५७१७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट धादिङ जादै गरेको बा ३ ख ६१३७ नम्बरको बसले ठक्कर दिदाँ सिजनको मृत्यु भएको थियो । मोटरसाइकल चालक गोपाल बानियाँ गम्भीर घाइते भएका छन् ।
३ दिनसम्म पनि उचित क्षतिपूर्ति नदिएको भन्दै पीडित पक्षले काठमाडौँमा रहेको काउन्टर तोडफोड गरी धर्ना दिएका छन् । पीडित पक्षले मृतकको उचित क्षतिपूर्ति र घाइतेको उपचार नभएसम्म बन्द गर्ने बताएका छन् ।