Wed. Sep 11th, 2024

पद बाँडफाँटका लागि ओली निबासमा एमाले पदाधिकारीको बैठक

 

uml_meeting_608675517

काठमाडौं – अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा एमाले पदाधिकारीहरुको बैठक बसेको छ । सोमबारबाट सुरु हुने केन्द्रीय कमिटिको बैठकको एजेन्डा तय गर्न बालकोटमा पदाधिकारीको बैठक बसेको हो ।

नवौं महाधिवेशन भएको ५ महिना हुन लाग्दा पनि स्थायी कमिटि र पोलिट्ब्यूरो विभाजन गर्न नसकेको एमालेले सोमबारबाट हुने बैठकमा जिम्मेवारी बाँडफाँट गर्ने गरी पदाधिकारीको बैठक बसेको हो ।

अध्यक्ष ओलीपक्ष र बरिष्ठ नेता नेपालपक्षबीच भागवण्डाको कुरो नटुंगिदा कार्यविभाजन हुन सकेको थिएन । महाधिवेशन भएको लामो समय बितिसक्दा पनि जिम्मेवारी बाँडफाँड गर्न अक्षम रहेको भन्दै अध्यक्ष ओलीको पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।

पोलिट्ब्यूरोका लागि एमालेले दुई कार्यकाल केन्द्रीय कमिटिको जिम्मेवारी लिइसकेका धेरै र केही नयाँ अनुहारलाई ल्याउने तयारी गरेको बताइएको छ । एमालेमा केन्द्रीय सदस्यको एकतिहाई ननाघ्ने गरी पोलिट्ब्यूरो चुन्ने प्रावधना छ । जसअनुसार केन्द्रीय सदस्यमध्ये ५२ जना पोलिट्ब्यूरो सदस्य हुनेछन् ।

पदाधिकारी बैठकमा समसामयिक राष्ट्रिय राजनीति र संविधान निर्माणको अवस्थाबारे पनि छलफल भएको बताइएको छ । अध्यक्ष केपी ओलीले यसअघि गत कात्तिक १४ मा बसेको केन्द्रीय कमिटिको बैठक राष्ट्रिय राजनीति र संविधान निर्माणमा लाग्नुपर्ने भन्दै स्थगित गरेका थिए ।

पदाधिकारी बैठकमा अध्यक्ष ओलीसहित, बरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेव तथा उपाध्यक्षहरु वामदेव गौतम, विद्या भण्डारी, युवराज ज्ञवाली र भिम रावलसहित उपस्थित थिए ।

(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: