२ फागुन धादिङ – न नाम नै थाहा छ न ठेगाना, अलपत्र अवस्थामा भेटिएकी यी युवती अहिले सहयात्री समाज नेपालको पुर्नस्थापना गृहमा बसिरहेकी छिन् । २ हप्तादेखि पुर्नस्थापना गृहमा रहेकी अन्दाजी २५ वर्षकी देखिने यी युवतीलाई न त आफ्नो नाम नै थाहा छ न घर परिवारको बारेमा । कुनै नौलो व्यक्ति आयो भने झस्कने र आफु सुस्ने ओछ्यानमा जान्छिन् ।
उनलाई गत पुष महिनाको अन्तिम साता इलाका प्रहरी कार्यालय खानिखोलाले सडकमा अलपत्र परी बसिरहेको अवस्थामा उद्धार गरेको थियो । प्रहरीले भेट्टाउँदा उनको साथमा एक जोर कपडा र १० रुपैयाँ पैसा थियो । प्रहरीले उद्धार गरेपछि दोहोरो कुराकानी हुन नसकेपछि उनको स्वास्थ्य अवस्था जाँच गर्न धार्के स्थित शिवदर्शन हस्पिटलमा पठाएको थियो । शिवदर्शन हस्पिटलमा केही दिन राखेर उनलाई थप उपचारका लागि ललितपुर स्थित गणेशमान मेमोरियल हस्पिटलमा रिफर गरियो । त्यहाँ उनको एक हप्तासम्म उपचार गर्दा कुनै पनि खालको शारिरीक समस्या नदेखिएपछि पुनः धार्के स्थित शिवदर्शन हस्पिटलमा फर्काइयो । त्यसपछि हस्पिटलको अनुरोधमा आफुहरुले जिम्मा लिएको इलाका प्र्रहरी कार्यालय खानिखोलाका प्रहरी निरिक्षक यादव थापाले बताए ।
उनलाई सुरक्षित रुपमा राख्ने ठाउँको समस्या भएपछि प्रहरीले सहयात्री समाज नेपालमा पठाइएको थियो । त्यसपछि उनी माघ १६ गते देखि सहयात्री समाज नेपालको पुर्नस्थापना गृहमा बस्न थालिन् । सुरुका दिनमा बोल्दै नबोल्ने र खाना पनि खादैनथ्यो । केही दिन पछि क्रमशः कुराकानी गर्ने, खाना खाने, आफ्नो सरसफाइको कामहरु आफैँ गर्न थालेकी छि । हाल उनको शारिरीक र स्वास्थ्य अवस्था हेर्दा सामान्य देखिन्छ ।
सेफ हाउसमा रहेका अन्य व्यक्तिहरुसंग पनि राम्रै कुराकानी गछिन् । तर आफ्नो नाम, ठेगाना र आफन्तको बारेमा सोध्दा केहि पनि बोल्दिनन् । यसले गर्दा उनको आफन्त र ठेगाना पत्ता लगाउन गाह्रो भएको सहयात्री समाज नेपालका सेफ हाउस इन्चार्ज गायत्री खतिवडाले पाविलन्युज डटकमलाई जानकारी दिए । यदी कसैले चिन्नुभएको छ भने सहयात्री समाज नेपालको फोन न ०१०५२०५४४ मा सम्र्पक गर्न सकिने सहयात्री समाज नेपालले जनाएको छ ।