Fri. Apr 26th, 2024

व्युटिसियनले डाक्टरको काम गर्न सक्छ

सीता राना  अध्यक्ष  नेपाल सौन्दर्य कला व्यवसायी संघ धादिङ
सीता राना
अध्यक्ष
नेपाल सौन्दर्य कला व्यवसायी संघ धादिङ

महिलाहरुको अदम्य इच्छाशक्तिले जुनसुकै कामलाई पनि पार लगाउन सजिलो भएको हामी महसुस गर्न सक्छौँ । आर्थिक, सामाजिक, साँस्कृतिक, राजनैतिक लगायतका विविध क्षेत्रमा देखिएको महिलाको उत्साहपूर्ण सहभागीताले महिलाहरु सशक्त ढङ्गले अघि बढेको कुरा दर्साउँछ । सम्र्पकको घेरा साँघुरो र सीमित मात्र हुँदै जाँदा भेरै महिलाहरु सीर्जनशील कार्यको कल्पना गर्नबाटसधै बाहिरीन पुगेका थिए । यीनै अदम्य साहसले सीता रानालाई  प्रमाणित गरिदिएको छ । सुनौबाबजार घर भएका राना अहिले धादिङबेसीको बीचबजारमा व्युटिपार्लर व्यवसाय गर्नुहुन्छ ।  धादिङमा सबैभन्दा पहिले १७ वर्ष अघि १५ हजारबाट सुरु गरेको व्युटिपार्लरले आज आफूको जीवन नै परिवर्तन गरेको उहाँको धारणा छ । रानासँग पाविल साप्ताहिकका सरिता श्रेष्ठले गर्नु भएको कुराकानी
तपाई आफूलाई के भनेर चिनाउनु हुन्छ ?
म एक व्युटिसियन हुँ ।  विं स. २०५३ सालदेखि निरन्तर रुपमा व्युटिपार्लरको क्षेत्रमा काम गरिरहेकी छु । महिलाहरु पनि सौन्दर्यको क्षेत्रमा देखिनु पर्छ भन्ने सोचाईले धादिङमा सबैभन्दा पहिले मैले नै व्युटिपार्लर खोलेकी हुँ । र विस्तारै अरु पार्लरहरु पनि सञ्चालनमा रहेका छन् । साथै म सौन्दर्य कला व्यवसायी संघ धादिङकोे अध्यक्ष समेत छु । अहिले संघमा धादिङबेसी र राजमार्गका गरी २२ वटा पार्लरहरु हाम्रो संघमा आबद्ध रहेका छन् ।

 
यो पेशामा कसरी लाग्नु भयो  ?
पहिले पहिले सामाजिक काममा महिलाको सहभागीता अत्यन्त न्युन थियो । महिलाहरु घर भित्रको काममा मात्र सिमित थिए । मलाई चाहिँ घरमा मात्र भन्दा पनि बाहिरी काम गर्न बढी इच्छा लाग्थ्यो । त्यहि इच्छालाई आज मैले पूरा गरेकी छु । म आठ कक्षा पढ्दा खेरी नै ब्यूटि पार्लर गरी समाजमा आफ्नो खुबी देखाउने इच्छा जाग्यो अनि यस पेशा रोज्न पुगे । सुरुमा त मैले सिलाई सिकेकी थिए तर विचमा नै छाडेर यो पेशा रोज्न पुगेकी छु । म आफू कक्षा आठ सम्म मात्र अध्ययन गरेकोमा कुनै गुनासो लाग्दैन । मैले धादिङमा पार्लर सञ्चालन गर्दा एउटा पनि पार्लर थिएन । त्यसपछि बिस्तारै यसको सङख्यामा बृद्धि हुदै अहिले धादिङमा थुप्रै पार्लरहरु सञ्चालनमा रहेको छ । अहिले गाँउ गाँउका दिदी बहिनीहरु पनि पार्लर आउने गरेको छ । ब्यूटिसियनलाई सबैले राम्रो मान्ने गरेको छ । यसले गर्दा काममा हौसला पनि पाएका छौँ ।

 
यो पेशाप्रति समाजको धारणा कस्तो छ ?
यो पेशा प्रति अझै पनि कतिपय ठाँउहरुमा नकारात्मक धारणा छ । व्युटि पार्लर भन्ने बित्तिकै मान्छेहरु नक्क्ली हुन्छन् भन्ने सम्म सोचाई राख्छन् ।  मैले सुरुमा पार्लर खोल्दा थौरै मात्रामा मात्र मानिसहरु आउने गर्दथ्यो ।  त्यसमा पनि पार्लर आउँदा मानिसहरु डराउने, लजाउने गर्दथ्यो । कसैले देख्छन् की भनेर छिटोछिटो गर्ने, लुकीछिपी पार्लर आउने गरेको पाइन्थ्यो । समय परिवर्तन हुदै जादाँ मानिसहरुमा आएको चेतनाले गर्दा यसप्रति सकारात्मक धारणाको. विकास भएको छ । अहिले पहिलेको तुलनामा एकदमै राम्रो रहेको छ । यस क्षेत्रमा काम गर्न अहिलेका युवाहरु उत्साहित छन् । अहिले पार्लर जानु पर्दो रहेछ भन्ने धारणा पनि विकास भएको छ ।

 
उतिबेला घर परिवार, साथीभाई र समाजबाट कस्तो सहयोग पाइयो ?
साथी भाईहरुले कोहीले खिल्ली उडाउने गथ्यो भने कोहीले राम्रो गरेको भनेर तारिफ पनि गर्थे । कसैले उत्ताउली भएकी भनेर पनि भन्थ्यो । आमाबुबाले पनि सुरु सुरुमा गाली गर्नु हुन्थ्यो, यो पेशामा नलाग्न भनेका थिए । तर उहाँहरुलाई वेवस्था गरी आफ्नै सुर गरेर तालिम लिएका थिए । समाजको त कुरौ नगरौ, एकमै गाह्रो थियो समाजे हेर्ने दृष्ट्रिकोण तर पनि यस्ता कुरालाई मैले एक कानले सुनेर अर्को कानले उडाइदिए । आज सफल भएको महसुस गर्छु ।

 
व्युटि पार्लर खोल्नेहरुको अवस्था कस्तो छ ?
पहिलाको तुलनामा अहिले एकदम राम्रो छ । मेरो मात्र पार्लर हुँदा मलाई डर पनि लागेको थियो । आमा बुबाले पनि सहयोग गर्नु भएको थिएन । साथी भाई, समाजले पनि नराम्रो दुष्टीले हेर्थे । विस्तारै परिवर्तन हेदै गयो । म कहाँ पार्लरको काम सिक्न आउन थाले, अरु पार्लरहरु पनि खुल्न थाले । अहिले एकदम राम्रो छ । अहिलेको सन्दर्भमा डाक्टरले गर्ने काम व्युटिसियनले गरिरहेको हुन्छ । एउटा डाक्टर बिरामीलाई सञ्चो बनाउन जति मात्रामा खटिन्छ त्यति नै व्युटिसियनहरु पनि सुन्दरता बनाउन खटिरहेका हुन्छन् ।

 
यो क्षेत्रमा नलाग्नु भएको भए कहाँ हुनुहन्थ्यो ?
सायद गाँउ तिर हुन्थ्यो होला । यतिखेर घर गाँउ तिर घास काट्दै, खेतबारीमा काम गर्दै हुन्थे । चर्को घाममा गाई बाख्रा चराउदै हुन्थे होला । धेरै पढेको दिदी बहिनीहरुले पनि काम नपाएर त्यतिकै बेरोजगार भएर बसिरहेको अवस्था छ ।

 
तपाईको पार्लरमा पुरुषहरु कत्तिको आउने गरेका छन् ?     
महिलाहरुको तुलनामा पुरुषहरु कमै मात्रामा आउने गर्दछ । पुरुषहरुका लागि धादिङमा छुट्टै पार्लर त छैन तर पनि महिलाहरु आउने पार्लरमा नै पुरुषहरु आउने गरेका छन् । कपाल रङगाउन, फेसियल गर्न, कपाल स्टेट गर्न बढी मात्रामा पुरुषहरु पनि आउने गर्दछ ।

 
कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु यति काम पनि नजानेको भए धेरै दुख पाइन्थ्यो होला । आफूलाई मन लागेको कुरा खान, लगाउन पाइरहेकी छु । अहिले मासिक सामान बेचेको बाहेक ३५ देखि ४० हजारसम्म कमाई हुने गरेको छ । विवाहको मौसममा धेरै हुन्छ ।

 
तपाई सौन्दर्य कला व्यवसायी संघको अध्यक्ष समेत हुनुहन्छ , धादिङमा व्युटिसियनहरुको अवस्था कस्तो छ ?
अहिले व्युटि पार्लर च्याउ उम्रै जस्तै भएको छ । धादिङमा मात्र होइन नेपाल अधिराज्य भरी धेरै पार्लरहरु खुलेका छन् । एक महिना, दुई महिना खोल्ने, कतिपयले त  सिक्दै नसिकी पार्लर खोलेको पाइएको छ । तर पार्लर खोल्न दक्ष व्युटिसियन हुनु जरुरी छ । यो मान्छेको जीवनमा खेलवाड गरेको जस्तो हुन्छ ।
हाम्रो संस्थामा आबद्ध भएका पार्लरका व्युटिसियनहरुलाई यस्ता कुराहरुमा सधैँ सचेत गराइरहेका हुन्छौँ । नयाँ कुराहरु आउदा सबैलाई जानकारी गराउछौँ । केही समस्याहरु आएमा संघद्धारा समाधान गराउने गरेका छौँ । संघमा आबद्ध हुनेहरु हामीले एउटै रेट बनाएका छौँ ।

 
व्युटिसियनहरुलाई कत्तिको तालिमहरु दिइरहनु भएको छ ?     
कुनै पनि काम गर्न त्यस विषयमा पोख्त हुनु जरुरी छ । हामीले तालिमहरु त धेरै नै दिइसकेका छौँ । र दिइरहेका पनि छौँ । जिल्लामा हामीले नयाँ नयाँ तालिमहरु आउना साथ सिकाइरहेका र्छौँ । केन्द्रबाट पनि धेरै तालिमहरु, सेमीनारहरुको अवसर आउने गर्छ साथीहरुलाई पठाउने गरेका छौँ । नयाँ सिक्न आउनेहरुलाई पनि अवसर दिइरहेका छौँ । कपाल स्टेट गर्ने, मेहन्दी गाउने, फेसीयल गर्ने लगायतका तालिमहरु बढी सञ्चालन गछौँ । एउटाले सिकेका कुरा एक अर्कामा सेयर गर्ने गरेका छौँ ।

 
अबको नयाँ योजनाहरु के छन् ?
योजनाहरु धेरै छन् । समाज परिवर्तन गर्न आफू मात्र सबै एकजुट भएर मात्र सफल हुन्छ । पार्लरहरुमा महिलाहरु सँगै पुरुषहरुको पनि सहभागीता बढेको छ । पुरुषहरुका लागि छुट्टै पार्लर छैन, अब उनीहरुका लागि ह्याण्डसम पार्लर खोल्ने योजना छ । त्यस्तै नयाँ नयाँ स्टाइलहरु मार्फत काम गर्ने, तालिमहरु दिने योजना छ । बढी भन्दा बढी महिलारुहलाई यस क्षेत्रमा समावेश गर्ने, व्युटिपार्लर पेशामा आउन प्रोत्शाहन गर्ने योजना छ ।

 
यो पेशामा लाग्न खोज्ने नयाँ युवापिँढीलाई के सल्लाह दिनुहुन्छ ?
मैले २० हजारबाट लगानी गरेकी हुँ । काम राम्रोसँग सिक्नुपर्छ । साथी भाई  घर परिवारलाई पनि सम्झाउनु पर्छ । त्यसपछि घर परिवार पनि तपाइहरुको साथमा हुनुपर्छ यस पेशामा आउन त्यति गाह्रो छैन । आफूमा भर पर्ने कुरा हो । यो पेशामा लाग्न त्यति गाह्रो छैन । सबै दिदी बहिनीे यो पेशालाई सकारात्मक रुपमा सोचौँ । आफ्नो सिपलाई सहि ठाँउमा सदुपयोग गरौँ भन्न चाहन्छौँ ।

(पाविल साप्ताहिक पत्रिकामा आधारित कुराकानी)

About The Author

Loading...

अन्य समाचारहरु: