Wed. Sep 11th, 2024

डलरको भाउ फेरि बढ्न थाल्यो

काठमाडौं, कात्तिक १५ (नागरिक) – निरन्तरत घटेर ८२ रुपैयाँ ३९ पैसामा झरेको डलरको मूल्य फेरी बढ्न थालेको छ। डलरको मूल्य बढेर ८६ रुपैयाँ ७४ पैसा पुगेको छ। मंगलबार एक डलरको मूल्य ८५ रुपैयाँ ९९ पैसा थियो। भारतीय सरकारको कदमपछि नेपाली रुपैयाँसँग अमेरिकी डलर कमजोर हुँदै गएको थियो। तर विस्तारै डलर फेरी बलियो हुन थालेको छ।

भारतीयसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएकाले भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो भएको हो। माघदेखि निरन्तर बढिरहेको डलरको मूल्य तीन सातादेखि घट्न थालेको थियो। तर केही दिन यता फेरी डलर बढ्न थालेको हो।

डलर सस्तो हुँदा विदेशबाट भित्रिने वस्तु किन्ने, पढ्न, घुम्न र स्वास्थ्य उपचारका लागि बाहिर जानेलाई फाइदा हुन्छ। पर्यटन व्यवसायी, विदेशमा बस्ने नेपालीले पठाउने पैसा (रेमिटेन्स) पाउने परिवारलाई भने डलर कमजोर हँुदा असर गर्छ। गत आर्थिक वर्ष रेमिटेन्स ४ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको थियो।

डलर महँगिएपछि अधिकांश आयातित वस्तुको मूल्य बढ्नेछ। यसको असर देखिन भने केही समय लाग्नेछ। राष्ट्र बंैकका अनुसार गत वर्ष आयात १६.५ प्रतिशतले बढेर ४ खर्ब ६१ अर्ब ६७ करोड रुपैयाँको भएको थियो। चालु वर्षको साउनमा आयात ४६ अर्ब ९८ करोड रुपैयाँको भएको छ।

निकासीकर्ताको आय भने बढ्नेछ। साउनमा ७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो। विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिटेन्समा पनि डलरले असर गर्ने छ। साउनमा विदेशमा काम गर्ने नेपालीले ३३ अर्ब ८१ करोड रुपैयाँ रेमिटेन्स पठाएका छन्।

खासगरी भारतबाहेक देशबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो हुने छ। विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा उत्पादन गर्ने उद्योगको लागत पनि बढ्नेछ। सबैभन्दा बढी मार पेट्रोलियम पदार्थको आयातमा पर्ने छ। डलर महँगिएका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्न चाप पर्ने छ।

डलर बलियो हुँदा सरकारले विभिन्न दातृ निकायलाई तिर्नु पर्ने ऋणको सावाँ ब्याजको भार बढी पर्छ। डलरमा बिजुली किन्नुपर्ने आयोजनालाई सरकारले बढी पैसा तिर्नु पर्छ। विदेशी कलेजमा पढ्न जाने विद्यार्थीको खर्च बढ्छ।

मंगलबार दिनभर डलरको मूल्य बढेर कारोबार भएको थियो। डलर बढ्न थालेपछि वाणिज्य बैंकहरुको विदेशी मुद्रा कारोबार गर्ने विभागहरुको छाता संगठन फेडानले मूल्य फेरबदल गरेको थियो। फेडानले उपलब्ध गराएको मूल्यका आधारमा राष्ट्र बैंकले डलरको मूल्य तोक्छ।

गठबन्धन सरकारबाट त्रिणमुल कंग्रेस बाहिरिएसँगै भारतीय अर्थतन्त्रमा सुधारका कार्यक्रमहरु सुरु भएका छन्। सरकारले रिटेल बजारमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्नुका साथै डिजेलको भाउ र रेल भाडा बढाएको छ।

भारतीय सरकारले अन्य सुधारका कार्यक्रमहरु पनि ल्याउने घोषणा गरेको छ। तर अपेक्षा अनुसार थप नयाँ कार्यक्रम आउन छाडेपछि अमेरिकी डलर भारतीय मुद्रासँग बलियो हुन थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

About The Author

अन्य समाचारहरु: