२१ फागुन, रसुवा नेपाली सेनाले निर्माण सुरु गरेको स्याफ्रुबेंसी–मैलुङ सडकको विहीबािर संसदीय विकास समितिले स्थलगत निरीक्षण गरेको छ ।
संसदीय विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा आएको टोलीले स्याफ्रु गाविस वडा नं ४ छोकल इलाका क्षेत्रमा निरीक्षण गरेको सडक निर्माणमा संलग्न सेनाको कार्यदलले जनाएको छ ।
निरीक्षणपश्चात् राससलाई प्रतिक्रिया दिँदै सभापति अधिकारीले नेपाली सेनाले निर्माण गरेको उक्त सडक गुणस्तरीय भएको र निर्माण कार्यका लागि आवश्यक बजेट तथा साधन उपलब्ध गराउनुपर्ने बताउनुभयो ।
एक किमी डबल र १.१ किमी सडककको बाटो खोल्ने कार्य सम्पन्न भएको र असारसम्ममा चार किमी बाटो खोलिसक्ने लक्ष्य लिइएको प्राविधिक सहायक रथी उद्धव विष्टले जानकारी दिँदै सरकारले दिएको कार्यादेश बमोजिम निर्माण कार्य द्रुत गतिमा अगाडि बढिरहेको जानकारी दिनुभयो ।
सडक स्थलगत निरीक्षणमा संसदीय विकास समितिका सदस्य सांसद् गणेश पहाडी र जनार्दन ढकाल, प्रधानमन्त्रीका विकास सल्लाहकार गजेन्द्र थपलिया तथा जिल्लास्थित प्रमुख जिल्ला अधिकारीसमेतको सहभागिता थियो ।