२६ मंसिर, धादिङ- घर निर्माणसंगै सडक नै ढाकेर राखिएको निर्माण सामाग्रीले धादिङबेसी बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको छ ।
बढ्दो आधुनिकता र जनसंख्याको चाप संगै सडकको दायाँ वायाँ निर्माण हुँदै गरेको घरका निर्माण सामाग्रीले रोड छोपिदा पैदल यात्रु र सवारीले बजार कुरुप बनेको हो ।
अहिले बजार क्षेत्रमा मात्रै साना तथा ठूला गरी एक दर्जन भन्दा बढि घरहरु निर्माणको क्रममा छन् । घर निमार्णका लागी भनेर सडकको छेउकुनामा राखिएको ढुङ्गा, वालुवा, रड लगायतका निर्माण सामाग्रीले गर्दा दैनिक जसो दुर्घटना हुने गरेको छ ।
ठूला सवारी भन्दा मोटर साइकल बढि मारमा परेका छन् । सडकमा अलपत्रै फालिएका गिट्टी र बालुवामा चिप्लिएर दैनिकजसो दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् ।
आधा सडक नै ढाक्ने गरी राखिएको निर्माण सामाग्रीले आफुहरु समस्यामा परेको सवारी चालकहरुले गुनासो गरेका छन् । व्यक्तिगत प्रयोजनका सामानहरु सार्वजनिक स्थानमा राख्न नपाईने व्यवस्था भएपनि तर ठेकदार र घर मालिकहरुले सडकलाइ व्यक्तिगत रुपमा प्रयोग गरिदिँदा यस्तो समस्या उत्पन्न भएको हो ।
सडक छेउमा राखिएका निर्माण सामाग्री हटाउन स्थानीय प्रशासनले पटक पटक पहल गरेपनि सफल हुन सकेको छैन । निर्माण सामाग्री तयार गर्ने ठाउँ अभावकै कारण सडक प्रयोग हुने गरेको घरधनीहरु बताउँछन् । नगरपालिकाले काम सुरु गरेपछि घरको नक्सा पास गर्ने झन्झट थपिने भएकोले पनि घर बनाउनेहरुको लर्को लागेको हो ।