२८ फागुन, नागपुर -टी-२० विश्वकपमा बिहिबार अफगानिस्तानले हङकङलाई ६ विकेट हराउँदा जिम्बावेले स्कटल्याण्डविरुद्ध ११ रनको जित हात पार्यो।
नागपुरमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाए १४७ रन बनायो। सिन विलियम्सले महत्वपूर्ण ५३ रनको योगदान गरेपछि जिम्बावेको पारी माथि उक्सिएको थियो।
१४८ रनको चुनौति पछ्याएको स्कटल्याण्ड १९ ओभरमा ४ बलमा १३६ रन बनाउँदा अलआउट भयो। स्कटल्याण्डलाई रोक्ने क्रममा वेलिङघटन मासाकदजाले ४ विकेट हात पारे। नागपुरमै भएको अर्को खेलमा अफगानिस्तानले हङकङलाई ६ विकेटले हरायो।
टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११६ रन बनायो। अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए। ११७ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले १८ ओभरमा ४ विकेट गुमाएर जित हात पार्यो।
अफगानिस्तानका मोहम्मद शेहजाद ४१ र नुर अलि जर्दानले ३५ रनको योगदान गरे। समूह बी मा जिम्बावे र अफगानीस्तान दुवैले दुईदुई खेल जितेका छन्। दुवैको समान ४-४ अंक छ। स्कटल्याण्ड र हङकङ अंकविहिन छन्। समूह बिजेता टोलि अघिल्लो चरणमा पुग्ने छ।