Sat. Oct 12th, 2024

नेपाली क्रिकेटको हालत : ज्ञानेन्द्र मल्ल भन्छन् ‘बल ब्याट पनि छैन, अन्यौलमा छौं’

malla१ चैत, काठमाडौं – झट्ट हेर्दा मैदान गाउँमा  भैँसी चराउने चौर जस्तो देखिन्छ । तर मैदानको बिचमा भएको पिच र ज्यान तन्काइरहेका खेलाडी हेर्दा चाहिँ यो क्रिकेट मैदान हो भन्ने थाहा हुन्छ । सुविधाबिनाको मैदान र सरकारको पर्याप्त लगानी नभएपनि प्रशिक्षक र खेलाडी अभ्यासमा ब्यस्त भएको देख्दा नेपाल क्रिकेटमा पछि हट्न तयार छैन भन्ने देखाउँछ ।

यस्तै जोश र नेपाल क्रिकेट संघ क्यान केही व्यवस्थित भएकाले दुई वर्षअघिको यही समयमा नेपाली खेलाडी विश्वकप खेलिरहेका थिए, तर यो वर्ष भने उनीहरु एक महिनापछि हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनको सुस्त तयारीमा चित्त बुझाइरहेका छन् । थोरै लगानी र सरकारी बेवास्ता हुँदाहुँदै पनि नेपालमा क्रिकेटले उल्लेख्य प्रगती गरेको छ ।  गत संस्करणको ट्वेन्टी ट्वेन्टी क्रिकेटमा विश्वकप खेलेर सनसनी मच्चाएको नेपाली क्रिकेट अहिले भने संकटमा परेको छ । क्रिकेटको नियमक निकाय नेपाल क्रिकेट संघ क्यानमा बढ्दै गएको अनावश्यक विवादका कारण आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत वैशाख ४ र ६ गते नेपालमै हुने भनिएको नामिवियासँगको खेल अन्यौलमा परेको छ ।

आइसिसीले पटक पटक नेपाललाई क्यान भित्रको विवाद सल्ट्याउन, सुरक्षाको ग्यारेन्टी गर्न र मैदानको स्तर उकास्न ताकेता गरेपनि त्यसलाई नटेर्दा नेपाल क्रिकेटमै बन्देजमा पर्ने पो हो कि भन्ने डर छ । थोरै लगानी र छोटो समयमा विकास भएको नेपाली क्रिकेटको हालत खराब भएपछि समर्थक पनि चिन्तामा छन् । ‘नेपाल सरकार र क्यानको लापरवाहीका कारण क्रिकेटको स्तर ओरालो लाग्दैछ यसले हामीलाई धेरै दुखी बनाएको छ’ त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानबाहिर टोलाइरहेका रामेछापका सुशिल खड्काले भन्नुभयो, ‘क्यानको राजनीति अन्त्य नभएमा नेपाली क्रिकेट संकटमा पर्न सक्छ ।’

दुई समानान्तर क्यानका कारण अन्तर्राष्ट्यि क्रिकेटमा नेपालको भविष्य अन्यौलमा छ । गएका मंसिरमा भएको निर्वाचनले चतुरबहादुर चन्दलाई क्यानको अध्यक्षमा निर्वाचित गरेपनि आफ्नौ स्वीकृतिबिना चुनाव गरेको भन्दै राखेपले त्यसलाई मान्यता दिएन । बरु उल्टै पुस १८ गते रमेश सिलवालको अध्यक्षतामा राखेपले नै अर्को क्यान गठन गर्‍यो ।

राखेप र क्यानको यस्तो नाटक हेरेको एसियाली क्रिकेट परिषद एसिसी र अन्तर्राष्ट्यि क्रिकेट परिषद् आइसिसीले नेपालको क्रिकेटमा संकट आएको ठहर गर्दै फागुन अन्त्यसम्म विवाद सल्ट्याउन चेतावनी सहितको पत्र पठायो तर आजसम्म पनि विवाद छिनोफानो भएको छैन । दुई अध्यक्षमध्ये कुन आधिकारिक हो भन्ने विवाद सर्वोच्च अदालतमा विचाराधिन छ ।

सरकारले हस्तक्षेप नगर्दा चुलिएको विवादको कारण नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियासँगको खेल नेपालको घरेलु मैदानमा खेल्ने अवसर गुमाउने पक्का जस्तै भएको छ । जसका कारण खेलाडी  पनि निराश छन् । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले भन्नुभयो, ‘क्यान भन्नु नै हामी हो र हामी भन्नु नै क्यान हो, तर क्यानकै यस्तो हालत भएपछि हामीलाई मनोवैज्ञानिक असर पनि गरेको छ ।’ क्यानको विवादका कारण बजेट अभाव हुँदा समस्या भएको भन्दै उपकप्तान मल्लले भन्नुभयो, ‘मैदानमा बल ब्याटको पनि समस्या हुन्छ, हामी अन्यौलमा छौं, कोसँग कुरा गर्ने के गर्ने केही थाहा छैन ।’

केन्या, नेदरल्याण्ड, हककङ, युएइ, स्कटल्याण्ड र नेपाल गरि ६ देशले खेल्ने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका शिर्ष ४ टोलीले सन् २०१८ मा हुने विश्वकपको छनौट खेल्न पाउँछन । स्कटल्याण्ड र पपुवान्युगिनीसँगका ४ वटै खेल हारेको नेपाल अब नजिति नहुने दबाबमा छ । तर सरकार, खेलकुद मन्त्रालय र क्यानले न त गतिलो प्रशिक्षण शुरु गर्न सकेका छन् न त खेल नेपालमै गराउन कुनै बलियो पहल नै गरेका छन् । क्यानका दुई वटा समितिमध्ये कुनले खेलाडी छनोट गर्ने भन्ने प्रश्न पनि उठेको छ ।

तैपनि नेपाली टोली जित हातपार्ने लक्ष्यका साथ गच्छे अनुसारको प्रशिक्षणमा जुटेको छ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले भन्नुभयो, ‘क्यानले रकम दिन नसकेपछि मन्त्रालय र राखेपबाट सहयोग जुटाएर प्रशिक्षणको काम थाल्दैछौं’ विवाद छिट्टै समाधान भए सबैलाई सजिलो हुने बताउँदै उहाँले भन्नुभयो, ‘सर्वोच्चमा पुगेको क्यानको मुद्दा नसल्टिएसम्म सबैतिर गाह्रो हुने त पक्का नै छ ।’ क्यानको विवाद यथावत रहेको, सुरक्षाको ग्यारेन्टी हुनेगरि सरकारले आइसिसीलाई कुनै जानकारी नगराएको र मैदानको खराब हालतका कारण नेपालमा खेल नहुने मात्र होइन आइसिसीले नेपाललाई दिँदै आएको सहयोग रकम रोक्का गर्नेसम्मको चेतावनी आएको छ ।

यस्तो अवस्थामा नेपाली क्रिकेटको डाडुपन्यु बोकेर बसेका निकाय र ब्यक्तिले नचेत्ने हो भने उनीहरुलाई त त्यति फरक नपर्ला । तर, अप्ठ्याराकाबिच राम्रो गर्नसक्ने सम्भावना देखाएको नेपाली क्रिकेटले भने धेरै कुरा गुमाउने पक्का छ । उज्यालो अनलाईन खबरबाट

About The Author

अन्य समाचारहरु: