१ चैत, धादिङ – धादिङको महादेवस्थान गाँउ विकास समितिको वडा नं ४ लाइपुरमा रहेको चण्डीदेवी प्राविको पुर्ननिर्माणका लागि आइएमए प्रोजेक्ट जापानले १ लाख ५१ हजार सहयोग गरेको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालय भत्काएपछि पठनपाठनमा सहज बनाउन सहयोग गरेको हो ।
सोमबार विद्यालयमा एक कार्यक्रमका बीच युवा संघ नेपालका सचिवालय सदस्य एवम् प्रधानमन्त्रीका स्वकीय सचिव रमेश आचार्यले पुर्ननिर्माण गरिएको विद्यालयको उद्घाटन गरका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै आचार्यले आजका बालबालिका भविष्यका कर्णधार भएको राष्ट्रनिर्माणमा अहम् भूमिका खेल्ने बताए । विद्यार्थीको भविष्य र विद्यालयको सेवाका लागि सधै लागि पर्ने बताए । मुलुकको राजनीतिक अवस्था आशलाग्दो हुँदै गएको भन्दै उनले यो विद्यालयलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य विष्णुहरी त्रिपाठी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, युवा संघ धादिङका सदस्य बाबु छत्कुली, युवा संघ अन्तर जिल्ला कमिटि धादिङका सचिव राजेन्द्र अधिकारी, नेकपा एमाले गाँउ कमिटि धादिङका सदस्य विष्णु थपा, रोबट बैज्ञानिक गणेह आले मगर र सन्जिव कुमार लिम्बु, अनेरास्ववियु जिल्ला कमिटि धादिङका उपाध्यक्ष सुदिप विशुराल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युवा संघको केन्द्रिय समितिले ७० हजार भन्दा बढीको शैक्षिक सामग्री समेत सहयोग गरेको छ । ९३ जना विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई यस अघि एनआरएनका सचिव अर्जुनकुमार श्रेष्ठले ५० हजार बराबरको न्यानो कपडा बाँडेका थिए ।