११ चैत्र, काठमाण्डौं-ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत बुधबार राती भएको रोमञ्चक खेलमा भारत विजयी भएको छ । बैंगलोरमा भएको खेलमा भारतले बंगलादेशलाई १ रनले हराएको छ ।
जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई अन्तिम ओभरमा ११ रन चाहिएको थियो । तर अन्तिम ३ बलमा ३ विकेट गुमाएर बंगलादेश पराजित भयो । अन्तिम ओभरमा बलिङ गर्न आएका हार्दिक पाण्डेले चौथो र पाँचौ बलमा विकेट लिए भने उनको छैटौं बलमा कप्तान महेन्द्र सिंह धोनीले मुस्ताफिगर रहमानलाई रन आउट गरेर भारतलाई जिताए । अन्तिम ३ बलमा २ रन चाहिएको स्थितिमा ११ रन बनाएका मुस्फिकर रहमान क्याच आउट भए । आउट हुनु अघि उनले लगातार २ चौका हानेका थिए । रहमान आउट भएपछिको बलमा १८ रन बनाएका महमुदुल्लाह पनि क्याच आउट भए । बंगलादेशका लागि ओपनर तमिम इकवालले ३५ तथा सब्बिर रहमानले २६ रन बनाएका थिए ।
यसअघि टस हारेको भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । भारतका लागि सुरेश रैनाले ३० तथा विराट कोहलीले २४ रन बनाए ।
यो समूहबाट न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेको छ । जितपछि भारतको ४ अंक भएको छ उसको सेमिफाइनलमा पुग्ने संभावना कायम छ । अब भारतले आइतबार अष्ट्रेलियासँग खेल्ने छ । पाकिस्तान र अष्ट्रेलियाको समान २ अंक छ । तर अष्ट्रेलियाले एक खेल कम खेलेको छ । बंगलादेशको भने कुनै अंक छैन र उसको सेमिफाइनलमा पुग्ने संभावना सकिएको छ ।उज्यालोबाट