काठमाडौं, २७ कात्तिक तिहारमा मुख्य तीन दिन लोडसेडिङ नहुने भएको छ । विद्युत प्राधिकरणले कात्तिक २८ गते लक्ष्मीपूजा देखि ३० गते भाइटीकाको दिनसम्म ३ दिनका लागि लोडसेडिङ नगर्ने बताएको छ ।
तिहारका बेलामा कलकारखाना, उद्योगधन्दा बन्द हुने र धेरै विद्युत खपत नहुने भएकाले लोडसेडिङ रोक्न समस्या नहुने प्राधिकरणको भनाइ छ । “व्याकअप” का रुपमा रहेको कुलेखानी जलाशय गत मंगलबार नैं भरिएपछि तिहारमा लोडसेडिङ नगर्ने तयारी गरेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
सुख्यायामलाई ध्यान दिएर प्राधिकरणले “पिक टाइममा” समेत कुलेखानी सञ्चालन नगरेकाले जलाशय भरिएको हो ।
प्राधिकरणले पीक लोडको समय बेलुकी ५ बजेदेखि ९ बजेसम्म बढी विद्युत बढी खपत हुने उपकरणहरु प्रयोग नगर्न उपभोक्तासँग आग्रह गरेको छ । फ्रिज, हिटर, माईक्रोओभन, राइस कुकर, आइरन लगायतका उपकरण प्रयोग गर्दा विद्युत वितरणमा अवरोध आउन सक्ने भन्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो ।