Tue. May 20th, 2025

भुकम्पपछि धादिङ जिल्लामा महिलामाथिको हिंसा बढ्यो

Mahila-Himsa-200x200१७ बैशाख, धादिङ – गत ०७२ साल बैशाख १२ गते गएको भुकम्प पछि धादिङ्ग जिल्लामा महिलामाथि हुने हिंसाको घटना बढेको देखिएको छ ।

एक वर्षको अवधिमा जिल्लामा प्रहरी कार्यालयमा आएको उजुरीको तथ्याङ्क हेर्दा हिंसाको घटना बढेको देखिएको हो । भुकम्पका कारण गर्भवति, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, वृद्धबृद्धा र बालबालिकाहर सवै भन्दा बढी जोखिममा परेका थिए । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई हेर्दा गत बैशाख महिनाको १२ गतेदेखि यो बैशाखको १२ गते सम्म २७ वटा जवरजस्ती करणीको घटना भएको छ ।

त्यस्तै ११ वटा जवरजस्ती करणी उद्योगको घटना भएको छ । सवै भन्दा धेरै घरेलु हिंसाको घटना भएको देखिन्छ । एक वर्षको अवधिमा १ सय २४ वटा घरेलु हिंसाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । त्यसैगरी १ सय ५ कुटपीट, खानलाउन नदिएको ७४, गालीगलोज र्दुव्यवहार ७, घर निकाला ४, शारिरीक तथा मानसिक यातना २४ र बोक्सी आरोपको १० वटा घटना उजुरीमा आएको देखिन्छ । बहुविवाहको १५ वटा उजुरी परेको छ । यस अवधिमा मानवबेचविखन तथा ओसार पसारको ५ वटा मुद्दा दर्ता भएको छ । अझै पनि ५९ जना महिला, ८ जना बालक र ११ जना बालिका हराइरहेका छन् ।

यस्तै सहयात्री समाज नेपालमा आएको निवेदनको संख्यालाई हेर्दा पनि भुकम्प पछिको अवस्थामा जिल्लाभर नै महिलामाथीको घटना अत्यधिक भएको देखिन्छ । सहयात्री समाज नेपालले भुकम्प पछि जिल्लाको पाँच स्थानमा महिला सुरक्षित स्थान सञ्चालन गरिरहेको छ । पाँच वटै महिला सुरक्षित स्थानमा विभिन्न प्रकृतिका ५ सय २७ वटा केश अभिलेखिकरण गरिएको छ ।

यि घटनाहरुमा घरेलु हिंसाको धेरै छ भने त्यसपछि यौन हिंसाको केश रहेको छ । कुटपिट, बहुविवाह, खानलाउन नदिएको, घर निकाला, श्रोत साधनबाट बञ्चित गरिएको र अरुसंग लागेको अरोपका घटना पनि रहेको छ । यस्तै भुकम्पकका कारण मनोसामाजिक समस्या देखिएका २ सय ५ जना महिलाहरुलाई मनोविमर्श प्रदान गरिएको छ । सहयात्री समाज नेपालले विगत लामो समय देखि पुर्नस्थापना गृह सञ्चालन गरिरहेको छ ।

भुकम्प पछिको अवधिमा विभिन्न प्रकारको हिंसा र जोखिममा परेका ३ सय २५ जना महिला, किशोरी र बालिकाहरुलाई पुर्नस्थापना गरिएको छ । भुकम्प पछि देखिएका यौन तथा प्रजनन स्वास्थ्यका बारेमा ६ हजार ७६ जना महिला र किशोरीहरुलाई परामर्श प्रदान गरिएको छ । मुलपानी, त्रिपुरेश्वर, नलाङ्ग, भुमेस्थान गाविस र नीलकण्ठ नगरपालीकाको १३ हजार ६ सय ६४ परिवारमा घरभेट गरि संक्रमणकालमा देखिने विभिन्न खालका जोखिमहरुका बारेमा सचेतना प्रदान गरिएको छ ।

गर्भवति, सुत्केरी, अपाङ्गता भएका र हिंसामा परेका जुनसुकै उमेरका करिब २ हजार महिलाहरुलाई स्वास्थ्य सरसफाइमा सहयोग पु¥याउने उद्देश्यले डिग्नीटि किट वितरण गरिएको छ । विपत्तपछिको समयमा महिलामाथीको जोखिम बढ्ने हुनाले सम्बन्धित सवै सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।

About The Author

अन्य समाचारहरु: