१७ जेठ, धादिङ – पीडितको नाम छुटेको भन्दै धादिङ छत्रेदेउराली गाविसका भूकम्पपीडितले आवास निर्माण सम्झौता कार्यक्रम अवरोध गरेका छन् ।
शनिबार गाविस सचिव, इन्जिनियर, स्थानिय राजनैतिक दलका प्रतिनिधि, सामाजिक परिचालकहरुको बैठक बसी आइतबारदेखि अनुदान सम्झौता गरिने जानकारी गराएपनि स्थानीयको विरोधपछि सम्झौता रोकिएको भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङका प्रमुख दिलीप भण्डारीले बताए ।
यस गाविसमा २२ सय ८९ भूकम्पपीडित रहेकोमा १ हजार ९ सय ३८ जनाको मात्र लाभग्राही सूची प्रकाशित भएपछि पीडितहरुले विरोध गरेका हुन् । घरको सर्वे गर्दा वास्तविक पीडितहरुको नामावली छुटाएको स्थानीयको आरोप छ ।
स्थानीयले विरोध गरेपछि आवास निर्माण सम्झौता गर्न पुगेका जिल्लाका इन्जिनियर सावित्रि श्रेष्ठ, विनोद बास्तोला र कुसुम कठायत पनि त्यसै फर्किए ।
‘आफ्नो नाम छुटेको भन्दै स्थानीयले समूह नै बनाएर अवरोध गरेपछि आइतबार सम्झौता सुरु हुन सकेन, गाविस सचिव प्रमिला रेग्मीले बताइन् । अघिल्लो दिन सबै मिलेर काम सुरु गर्ने भनेर निर्णय गरेको भएतापनि अनुदान सम्झौता गर्ने बेलामा कोहि पनि नआएको र गाँउलेले विरोध गरेको बताइन् । ‘नाम नसमेटिकन बाँड्न दिँदैनौं भनेर नारावाजी लगाएपछि अहिलेलाई स्थगित गरेका छौँ ।’ पीडितहरुले जहिले सम्झौता गर्नका लागि आउँछन् । त्यसपछि मात्र बाड्ने उनको भनाई छ ।
जिल्लामा यस अघि मार्पाक र कटुञ्जे गाविसमा अनुदान सम्झौता भइसकेको छ । अब लगत्तै गुम्दी, सल्यानकोट लगायतका गाविसहरुमा अनुदान सम्झौता गरिने जानकारी गराइएको छ ।