Mon. Jun 24th, 2024

बाबुराम षडयन्त्रका नाइके हुन्

दस वर्षअघि राजतन्त्रको विरोध गरी सडकमा उत्रँदा युवा नेता गगन थापाले देशव्यापी लोकप्रियता कमाए। तर, आफनै पार्टी नेपाली कांग्रेसले भने कारबाही गर्‍यो। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको निर्देशनमा उनलाई नेविसंघ महामन्त्रीबाट हटाइयो। संवैधानिक राजतन्त्रमा कांग्रेस अडिग रहेको बेला उनले उठाएको एजेन्डा धेरैका लागि आश्चर्यको विषय थियो। तर, पछि पार्टी उनै थापाले अघि सारेको लोकतान्त्रिक गणतन्त्रको बाटोमा गयो। र, पछि त सिंगै देश गणतन्त्रको एजेन्डामा हिँड्यो। परिणामस्वरूप गणतन्त्र स्थापना भयो। संविधान सभाले नयाँ संविधान बनाउन नसकेपछि अहिले सर्वसाधारणले राजनीतिक दल र तिनका नेताको आलोचना गर्न थालेका छन्। यही सेरोफेरोमा थापासँग नागरिकका बसन्त बस्नेतस्वरुप आचार्यले गरेको कुराकानी :

करिअरका लागि अरु बाटा पनि थिए, राजनीतिमा किन आउनुभएको?
निश्चित घटनाले प्रभावित भएर, योजना बनाएर, थाहा पाएर राजनीतिमा आएको होइन। अलिअलि थाहा नपाई, थोरै थोरै लहडले लागियो। पछि पो लाग्यो- ओहो, म त राजनीतिमा छिरिसकेछु। ढिलो भइसकेको थिएन। त्यस बेला पनि मसँग पेशा छान्ने अवसर थियो। भर्खर त कलेज सुरु गरेको थिएँ। आज फर्केर हेर्दा मैले राजनीतिलाई इन्ज्वाय गर्न थालेको थिएँ होला। यो बाटोबाट धेरै गर्न सकिन्छ भन्ने लाग्यो। पहिलो पटक स्ववियु चुनाव लड्दा सर्वाधिक मत ल्याएर जितेको मान्छे थिएँ। अरुभन्दा केही न केही फरक ढंगले सोच्ने बानीचाहिँ बस्न थालेको थियो।

जे होस्, छोटो समयमा स्थापित हुनुभो हगि!
हो।

राजनीतिमा ग्ल्यामर देखेर हो कि?
त्यतिखेर कहाँ ग्ल्यामर थियो र! स्थापित राजनीतिकर्मीबारे २०४८ को चुनावपछि नकारात्मक धारणा बन्न थालेको बेला थियो। अहिलेझैं थियो भने हुन्छ। अझ विद्यार्थी राजनीतिमा वर्षौंवर्ष गुजारेका नेता थिए। त्रिचन्द्रजस्तो क्याम्पस पनि त्यही हालतमा थियो। म राजधानीको निजी विद्यालय जान पाएको विद्यार्थी। राम्ररी पढून् र बाहिर जाउन् भन्ने अभिभावक र गुरुहरुको पनि चाहना हुन्थ्यो। मलाईचाहिँ राजनीति नै मेरा लागि उपयुक्त क्षेत्र हो भन्ने लागिसकेको थियो।

जनताको अपेक्षा धेरै देखिन्छ, कस्तो लाग्छ?
हो, देखिन्छ। जनताले स्थापित राजनेतासँग दाँजेर हेरेको पाउँछु। अघिल्लो पुस्ताले देशमा त्यत्रो परिवर्तन ल्यायो, तिमीहरुले ल्याएको खै भनेर सोधेको पनि पाउँछु। यो तुलनाको कुरो होइन। पछाडि फर्केर हेर्दा पाउँछु, अघिल्लो पुस्ताका सबै नेता आन्दोलनले स्थापित हुनुभएको रहेछ। बीपी कोइराला, गणेशमानसिंह, मदन भण्डारी हुँदै पछिल्लो समयको पुष्पकमल दाहाल जति पनि भनौं। उहाँहरुले आफैं पार्टी बनाउनुभो। त्यही पार्टीमार्फत् आन्दोलन गर्नुभो, त्यही आन्दोलनबाटै नेताका रुपमा स्थापित हुनुभो। आन्दोलनपछिको राजनीतिमा आएर भने त्यही स्तरमा कोही पनि नेता स्थापित भएको देखिँदैन। जो भए, आन्दोलनमा नेता भए। पछि सबैका लागि प्रतिकूल परिस्थिति आए। हामीले भने आफैं पार्टी बनाएका पनि होइनौं, आन्दोलन पनि आफैं अगुवाई गरेका होइनौं।

ए, जनता परिवर्तनको नेता तपाईंहरु हो भन्ने भ्रममा रहेछन्?
हामीले त्यहाँ नेतृत्व गर्न नपाए पनि दिइएको भन्दा ठूलो स्पेस सिर्जना गर्‍यौं। त्यो भूमिकाको महŒव रह्यो होला पनि। त्यो सन्दर्भमा भन्ने हो भने भ्रम परेको होला, सबै हामीले नै थेगेको हो कि! त्यही भएर आन्दोलनमा त्यत्रा त्यत्रा कुरा गर्ने अहिले गर्न नसक्ने भन्ने प्रश्न पनि उठे। तर त्यो आन्दोलन हाम्रो नेतृत्वमा भएको थिएन। कसैले नेतृत्व गरेको आन्दोलनमै हामी भूमिका निर्वाह गरिरहेका थियौं। त्यसैले आन्दोलनपछि निर्णय गर्ने ठाउँमा पनि हामी थिएनौं, छैनौं। निर्णय गर्ने ठाउँमै नभएको मान्छेप्रति प्रश्न गरिनु कतै अन्याय त भइरहेको होइन हामीमाथि?

राम्रो नतिजा आए जस लिन खोज्ने। नराम्रो आए अपजस बेहोर्न तयार नहुने?
तपाइंको प्रश्नलाई पनि इन्कार त गर्दिनँ। खाली मेरो कुरो के मात्रै हो भने परीक्षामै राख्दै नराखी यो फेल भयो भन्दिने हो कि होइन? अहिलेको राजनीतिक परिणाम हाम्रो रियल टेस्ट हो कि होइन? हामी त्यहाँ बस्न पाएका छौं कि छैनौं – त्यसरी पनि हेर्नुपर्ला। तपाईंहरु ठूलो मिडियामा हुनुहुन्छ। कत्ति कुरा चित्त नबुझिरहेको पनि हुनसक्छ। यसका लागि दुई कुरा गर्नुपर्छ। कि आफूले नेतृत्व गर्नुपर्‍यो, कि त नयाँ संस्था प्रारम्भ गर्नुपर्‍यो। यस्तो बनिबनाउँ जब्बर संरचना हुन्छ कि, नयाँ कुरा प्रारम्भ पनि गर्न सकिन्न। भएको कुरालाई रातारात आफ्नोअनुसार फेर्न पनि सकिन्न। तर के हो भने यहाँबाट भाग्न पनि सकिन्न। प्रत्येक ठाउँमा त्यसरी नै भइरहेको हुन्छ। यसै सन्दर्भमा हेर्नुपर्छ भन्ने मलाई लाग्छ।

विद्रोही नेताको छवि बनेको थियो, अब सम्झौता गर्ने नेताको छवि बन्लाजस्तो छ त?
विद्रोहको परिभाषा सधैंभरि एउटै हुँदैन। विद्रोहका मानक सधैं एउटै रहँदैनन् पनि। मेरो स्वभावमा धेरै ठूलो परिवर्तन आएकेा जस्तो मलाई लाग्दैन। नाफा-घाटा हेरेर काम गर्ने मान्छे होइन म। कांग्रेसको विधानबाट संवैधानिक राजतन्त्रको मान्यता नफेरिएको बेलामा यो परिवर्तन हुनुपर्छ, हटाइनुपर्छ भन्ने एउटा मुद्दा बोक्दा त्यो विद्रोह हुन्थ्यो। सिंगै पुस्ताको आवाज हुन्थ्यो त्यो। गएको दुई वर्षयता म कांग्रेस केन्द्रीय कार्यसमितिमा छु। त्यहाँ बसेर पार्टीभित्र यो हुनुपर्छ, यो हुनुहुँदैन भनेर परिवर्तनका कुरा उठाइरहेकै छु। हिजो त्यसको प्रभाव चाँडो पर्थ्यो, किनकि त्यो मेरो पार्टीभित्रको मात्रै कुरा हुँदैनथ्यो। त्यसले देशभरि प्रभाव पार्थ्यो।

गणतन्त्र आयो भने सबथोक ठीक हुन्छ भनेर सपना देखाउनुभो, तपाईंहरुले भनेको जस्तो भयो त?
देश चलाउन सक्ने क्षमता छ। योजना, इमानदारिता र प्रतिबद्धता पनि छ। देश चलाउँदै नचलाई चलाइसकेको निष्कर्ष निकाल्नु अन्याय र गलत हुन्छ। देश चलाएकै छैन मैले। सोसल मिडियाका साथीहरुले लेखेको हेर्छु म। उहाँहरुमा मप्रति आक्रोश छ किनकि म एउटा प्रतीक भएँ। साथीहरुलाई धन्यवाद। तर मैले देश हाँक्न पाएको छैन। म भन्नुको मतलब हाम्रो पुस्ताले चलाउन पाएको छैन। जुनसुकै पार्टीमा छरिएर बसेका हामी युवाहरुले चलाउन पाएका छैनौं, त्यसैले यति छिटो हाम्रोबारेमा निष्कर्षमा नपुगौं। हामीले हिजो गणतन्त्रको कुरा गर्दा राजा नभएको अवस्था मात्रै कल्पना गरेका थिएनौं। मूल्य, आदर्श र हामीले कल्पना गरेको अभ्यास आजको जस्तो पटक्कै होइन। हाम्रा पनि त अपेक्षा थिए। योभन्दा फरक हुन्छ भन्ने विश्वासले त्यो भनिरहेका थियौं। तपाईंको प्रश्नको आशय त कस्तो भयो भन्दाखेरि मानौं कि मलाई आजको जस्तो बर्बाद अवस्था आउँछ भन्ने थाहा थियो, तर मान्छेहरुलाई मैले राम्रो हुन्छ भनिरहेको थिएँ। म त्योसँग सहमत छैन। मलाई राम्रै हुन्छ भन्ने थियो। २०१५ सालमा जब पहिलो निर्वाचन भयो, त्यसपछिको कोर्स रोकिएको थिएन भने नेपालको प्रजातन्त्रले धेरै फड्को मार्थ्यो। पछि पनि विभिन्न सशस्त्र आन्दोलनलगायत्का मुद्दा हल गर्न लाग्यौं किनकि यस्ता विषय हल नगरी लोकतन्त्र अघि बढ्न सक्दै सक्दैन भन्ने मेरो विश्वास हो। बीचका अभ्यासबाट मलाई लाग्यो लोकतन्त्र र राजतन्त्र सँगै जानै सक्दैनन्। जबसम्म राजसंस्था रहन्छ, तबसम्म लोकतन्त्रको कोर्स भत्किइराख्छ।

लोकतन्त्रलाई राजाबाट मात्रै खतरा रहेनछ भन्ने पुष्टि भएन र? अरु शक्ति पनि लागेका छन् भन्छन्!
हो, शायद हाम्रो बुझाई एकांगी नै भयो त नभनौं। त्यो बेला हामीले गणतन्त्रको डिस्कोर्स सिर्जना गर्ने बेलामा राजा नभएको व्यवस्था मात्रै लोकतन्त्र होइन है, यसका मान्यता फरक हुन्छन् भन्ने बुझाउन सक्नुपर्थ्यो। अर्कोतिर नेपाली लोकतन्त्रको इतिहासको कठोर समीक्षा गरेर उत्तर दक्षिणको हामीसँगको सम्बन्ध परिभाषित गर्नुपर्नेलगायत्का आयामहरुमा छलफल गर्नुपर्थ्यो, यसले हामीलाई बल पुर्‍याउँथ्यो होला। संविधान सभा विघटनपछि हामीले पाइराखेको सानो ठाउँ पनि कुनै पनि बेला गुमाउन सक्ने खतरा बाँकी छ।

हो, यो खतरा आइरहेको बेला तपाईंहरु कहाँ हुनुहुन्छ भनी जनताले खोज्न पाउनु तिनको अधिकार होइन?
हो, यसबारे हामी पनि अलि अल्मलिएका छौं। यसलाई लुकाएर हुँदैन। हामी छलफल/बहस गरिरहेका छौं। जनताको तहमा व्याप्त उकुसमुकुस हामीमा पनि छ। यही महिनामात्रै हामी आठ/दशपल्ट छलफलमा बस्यौं होला। विभिन्न दलका साथी, हामी आफ्नै दलका साथी छलफलमा छौं। असहमतिबीच अहिलेको अवस्था चिर्न हामी सहमत छौं तर कहाँनेर हान्ने? कसरी हान्ने भन्ने विन्दु पहिल्याउन सकिरहेका छैनौं। क्षमता नभएर पनि होला। अथवा जब्बर संरचनाभित्र बस्नुपरेकाले पनि होला तर कोसिस नगरेको, चित्त बुझाएको, समर्पण गरेको, प्रयत्न गरेको तर गर्न नसकिरहेको – म यति चार कुरा भन्छु। मेरो अनुरोध- हामीलाई यो चौथो समूहमा राखिदिनूस्।

व्यक्ति जतिसुकै गतिशील भए पनि संस्था निस्त्रि्कय भयो भने बिस्तारै व्यक्ति पनि गल्दोरहेछ होइन?
एकदमै। मलाई व्यवस्थापिका-संसदको चार वर्ष सम्झन दिनूस्। उत्साह, उमंगको कुरामात्रै होइन, नयाँ दृष्टिकोणका साथ काम गर्न यति धेरै कुरा थिए हामीसँग। एकदमै धेरै प्रयत्न गरियो। ३० वर्षभन्दा बढी समययता राजनीति गरिरहेका थुप्रै मानिस थिए त्यहाँ। ती आफू केही गर्दैनथे, हामीलाई पनि गर्न दिँदैनथे।

ती भनेका को हुन्?
ती भनेका सबै पार्टीका स्थापित नेता हुन्।

नामै तोकेर भन्दिए भो नि?
संसद भित्र-बाहिरकै कुरा गर्छु। पुष्पकमल दाहालदेखि बाबुराम भट्टराईसम्म। मोहन वैद्यदेखि रामबहादुर थापा बादलसम्म। सुशील कोइरालादेखि शेरबहादुर देउवा, रामचन्द्र पौडेलसम्म। झलनाथ खनालदेखि माधव नेपाल केपी ओलीसम्म। उपेन्द्र यादवदेखि शरतसिंह भण्डारी विजय गच्छदार, महन्थ ठाकुरसम्म। उहाँहरु नयाँ गर्न पनि तयार हुनुहुन्न। नयाँका लागि ठाउँ दिन पनि तयार हुनुहुन्न। दलका हिसाबले उहाँहरु फरकफरक ठाउँमा हुनुहुन्छ। एउटा कुरामा भने मतैक्य जस्तै छ- नयाँ कुरा छिर्न दिनुहुन्न, नयाँ जोश, उत्साह उमंग मार्नुपर्छ। यो संस्थाभित्र कसैले नवीन कुरा गर्छ भने छिर्न दिनुहुन्न। मेरो दलभित्र पनि त्यही छ। मैले संसदभन्दा फरक कुरा मेरो पार्टीभित्र पनि अनुभव गरिनँ। के केन्द्रीय कार्यसमितिमा गएर सुतेर बसियो होला र? परिवर्तनका लागि प्रयास गरिएन होला र? त्यसलाई चिर्न खोजियो। संसदभित्र पनि यस्तो दिक्कलाग्दो अवस्था भो कि मैले त भन्दिएँ पनि- यो संसद र रिपोटर्स क्लबमा केही भिन्नता छैन किनकि दुवैले समाचार बनाउँछन्। संसदमा त्यतिसम्म गलाउने काम गरियो हामीलाई। पार्टी र संसदमा उस्तै अवस्था छ। अघि जुन नेताको नामको नाम मैले लिएँ, म भाग्यमा विश्वास त गर्दिनँ तर कदाचित नेपालमा ती नेताले राजनीति छाड्ने या संन्यास लिने घोषणा गर्नुभयो भने तत्तत् पार्टीको पनि हितमा हुन्छ। लोकतन्त्रको पनि हितमा हुन्छ।

तपाइँको पनि हितमा हुन्छ ….
अँ, हाम्रो हितमा पनि हुन्छ। स्वभावैले।

ठोस संघर्ष र दबाबको भूमिका नखेलेर किन यस्तो निरीह कुरा गर्नुभएको?
तपाईंको शब्दचयनको म प्रतिवाद गर्छु। नागरिकजस्तो पत्रिकाबाट यति कुरा बोल्नु निरीहता हो? यो पनि कुनै न कुनै हिसाबले मेरो धारणालाई बल पुर्‍याउने संघर्षको तरिका हो। यो पनि जनमत निर्माण गर्ने तरिका हो।

तपाईंको पो मिडियामा बोली बिक्छ र सुनाउनुहुन्छ, मिडियामा पहुँच नभएकाहरुले ‰यालको फ्रेम उठाएर आफ्नै नेतालाई प्रहार गरेर भए पनि सुनाउन खोज्दा रहेछन्, होइन?

यो त एक प्रकारले भन्नुपर्दा, मिडियाकै अवमूल्यन हो। नेपाली मिडियाले यति पनि फरक छुट्ट्याउन सक्दैन भने मैले त अपशोचमात्रै प्रकट गर्न सक्छु। कुनै सनकमा भएका कामलाई सुविचारित ढंगले नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने भद्र आग्रहसँग दाँज्न मिल्दैन।

भनेपछि नेतृत्व हस्तान्तरण आवश्यक छ अब?
नेपालको नेतृत्व फेरि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा होइन, अर्को पुस्तामा हुनुपर्छ भन्ने कुरा हो। पुस्ताबाट पुस्तामा हस्तान्तरण तीव्र हुनुपर्छ, फेरि अर्को पुस्तामा गएर रोकिनुहुन्न भन्ने बहस चलाउनुपर्छ र पार्टीभित्रको नेतृत्वको हस्तान्तरणको प्रश्न भनेको त्यो पार्टीको प्रश्नमात्रै होइन किनकि पार्टीहरु भनेका सार्वजनिक संस्था हुन्। मेरो प्रयास के कुरामा हो भने भलै कतिपय साथीहरु त्यसलाई गलत भन्नुहुन्छ तर मेरो विश्वास के हो भने कांग्रेसलाई मत नहालेको मान्छेले पनि यो दलको बारेमा बहस गर्न पाउनुपर्छ। धारणा राख्न पाउनुपर्छ किनकि ऊ भोलिको सक्षम मतदाता हो। ऊ नागरिक हो। तपाईंको पार्टीको नेतृत्व ठीक भएन, फेर्नुपर्‍यो भन्न पाउँछ। पार्टीले मेरा निजी कुरा हुन् भनेर लुकाउन पाउँदैन। सार्वजनिक बहस गर्न पाउनुपर्छ। कतिपय कुरा यसरी बहसमा आओस् भनेर भन्छौं तर साथीहरु पार्टीको कुरा बाहिर नभन्न भन्नुहुन्छ। यो अरु पार्टीले पनि गर्नुपर्ने कुरा हो।

तपाईं त घटनास्थलमै हुनुहुन्थ्यो। कांग्रेस सभापति सुशील कोइरालामाथिको आक्रमणलाई कसरी बुझ्ने त? जनताको आक्रोश? कार्यकर्ताको नेतृत्वमाथिको अविश्वास? या अरु नै केही?

जनता आक्रोशित छ, थुप्रै कुरा फेर्न चाहन्छ। उकुसमुकुस छ, सही कुरा हो। तर नेताहरुमाथि बेलाबखत हुने गरेका घटनालाई सामान्यीकरण गर्नु उचित हुँदैन। नेपाली जनता आक्रोश व्यक्त गर्न चाहन्छन् तर त्यो शैलीबाट होइन। त्यसलाई प्रतिनिधि घटना बनाएर प्रचार गरिनु नेपाली समाजकै अवमूल्यन हो। आक्रमण गरेको कुरालाई कसैले ठीक हो भन्ने हो भने त मैले अझै एक कदम अघि बढेर खुकुरी हान्न पाउनुपर्‍यो। अझै रीस उठे गोली हान्न पाउनुपर्‍यो। अनि के, झापडसम्म हानेको ठीक छ, चिर्पटले हानेकोसम्म ठीक छ, त्यहाँभन्दा माथिचाहिँ गर्न पाउँदैनौ भन्ने?त्यस्तो त होइन होला।

नेपाली समाज कता जाँदैछ भन्नलाई यो उदाहरण काफी छ? या यो अपवाद हो?
यो त बिल्कुलै अपवाद हो। दलहरुले विश्वास गुमाएको अवस्था छ। जनता आक्रोशित छन्। मानिसहरु नयाँ निस्कन्छ कि भनी खोज्दैछन्, त्यसमा सन्देह छैन। तर यस्ता घटनासँग तिनको प्रत्यक्ष सम्बन्ध केही पनि छैन। यस्ता घटनालाई महिमामण्डित गर्नु ठीक हुँदैन।

राजनीतिमा पुस्ता हस्तान्तरणको कुरा गर्नुभयो, कार्यान्वयन कत्तिको सम्भव होला?
अघिल्लो पुस्ताको नेपाली राजनीतिमा ठूलो योगदान छ। पार्टी उहाँहरुले नै निर्माण गरेको हो। मेरो सिंगै उमेरभन्दा बढी त उहाँहरुले संघर्ष नै गर्नुभएको छ। नेपाली समाज र चेतनालाई यहाँसम्म ल्याइपुर्‍याउने कुरामा पनि ठूलो योगदान छ। तर प्रत्येक पुस्ताको सीमा हुँदोरहेछ। त्यो पुस्ताको सीमा भनेको नेपाली समाजलाई यहाँसम्म ल्याइपुर्‍याउनेसम्म मात्रै थियो। हाम्रो पुस्ताको पनि सीमा छ, यसको जगमा टेकेर नेपालले फड्को मार्न छिटोछिटो काम गर्न सकिन्थ्यो। त्यसो त हाम्रो पुस्तामा पनि सुधार गर्नुपर्ने कुरा छन्। तर यसले जति छोटो समयमा फड्को मार्ने काम गर्‍यो, अब यसलाई काम गर्न दिउँ। यसले काम गर्न पायो भने समाजलाई एक ठाउँसम्म पुर्‍याउँछ। यसले एकदम छिटो काम गरेर छोड्नुपर्छ। हामीपछि यस्तै एउटा अर्को काबिल पुस्ता तयार गर्नुपर्छ। अबको दश पन्ध्र वर्षभित्र टेकओभर गर्नुपर्छ। त्यसले कसैका विरुद्ध लड्नु नपरोस्। हामीसम्म आउँदा कसैका विरुद्ध लडेरै आउनुपर्‍यो। त्यति बनाएर छाडियो भने राम्रो हुन्छ।

कुरामात्रै होलाजस्तो छ, कार्यान्वयन त खै?
अब यो कुरा निवेदन दिएर हुँदैन, याचना गरेर पनि हुँदैन। मान्छे भन्छन्- कुरा गरेर हुन्छ? सुरुमा त कुरै गरेर हुन्छ। कामको प्रारम्भ कहाँबाट हुन्छ? कुरै गरेर हुन्छ। म जबर्जस्त स्थापित गर्न खोजिरहेको छु कि व्यक्ति म केही पनि होइन। आज मैले राजनीति छाड्ने निर्णय गरें या पछि हटें भने के हुन्छ भन्ने कुरा होइन। एउटा पुस्ता तयार होस्, त्यसले काम गर्न पाओस् भन्ने कुरा हो। सबभन्दा पहिले त मान्छेलाई सोच्न बाध्य बनाऔं। एमाले होस् या माओवादी। सबै दलका नयाँ पुस्तालाई यो कुरा हो भन्ने बनाऔं। यो कुरा त बोलेरै प्रारम्भ हुन्छ। चाहे मिडियामा होस् या पार्टीका फोरममा- बोलेर, लेखेर कुरा गरेरै हुन्छ। एउटा पुस्ताले बिदा लिनुपर्छ भन्ने कुरा पनि काम नै हो।

बाबुराम भट्टराई नेतृत्वको सरकार हटाएर कांग्रेसको सरकार बनाउने चर्चा छ। सरकारमा नगई काम गर्न सकिन्न?
सकिन्छ। बाबुरामजीको सरकारबारे मेरो टिप्पणी कतिमात्रै हो भने अब हुने भनिएको निर्वाचन गराउने राजनीतिक, नैतिक, वैधानिक कुनै पनि अधिकार योसँग छैन। अर्को सरकारले नै गराउनुपर्छ तर त्यसको बटमलाइन निष्पक्ष भयमुक्त निर्वाचन हो। अब कांग्रेसकै नेतृत्वमा भयमुक्त हुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ अघिल्लो संविधान सभा चुनाव गराउँदा कांग्रेस सरकारको नेतृत्वकर्ता थियो। भयमुक्त भयो त? हाम्रा १०-१५ जना उम्मेदवार अस्पतालमा थिए। मतदाता, उम्मेदवार सब भाग्या थिए। हाम्रो नेतृत्वमा गराउनेबित्तिकै भयमुक्त हुँदोरहेनछ भन्ने कुरा त हामी आफैंले अनुभव गरेर हेर्‍यौं नि त। कांग्रेसले सरकारको दाबी गर्न पाउँछ तर त्यसको बटमलाइन भयमुक्त निर्वाचन हो। त्यसो हुन्छ भने सरकारमा गए हुन्छ। कदाचित कांंग्रेसले नेतृत्व गर्नै पायो भने पनि किन सुशील कोइराला वा शेरबहादर वा रामचन्द्रले नै नेतृत्व गर्ने? हामी अहिले के भन्छौं, यति सालमा द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनायौं, यति सालमा दलित बनायौं। अहिले बनाइदिऊँ न दलितलाई प्रधानमन्त्री। कांग्रेसले मौका पायो भने अहिले बनाइदिउँ न मधेसी प्रधानमन्त्री। अथवा भीमबहादुर तामाङ होस् या विमलेन्द्र निधि या चित्रलेखा यादव। किन नबनाउने उहाँहरुलाई?

बाबुराम सरकार यत्तिकै रहन्छ जस्तो छ, आन्दोलनमा जाने हो?
पछिल्ला दिनमा दलबीच फेरि छलफलबाट सहमति खोज्ने निर्णय भयो। हामीले पनि त्यही प्रक्रियालाई बल पुर्‍याउने हो। संविधान सभा विघटन गरेर बाबुरामजीले कसको सेवा गरिराख्नुभएको छ भन्ने प्रश्नको जवाफ उहाँले दिँदै जानुपर्ला शायद। बाबुरामजीले यो प्रक्रिया अड्काइरहनुहुन्छ भने हामीले सडकबाट विकल्प खोज्नुपर्छ।

आन्दोलन होलाजस्तो नलागेर राष्ट्रपतिलाई सक्रिय गराउन खोज्नुभएको हो कि?
राष्ट्रपतिज्यू आफैं यस कुरामा सचेत हुनुहुन्छ। बाहिरबाट जे/जे कुरा भनिए पनि उहाँ संविधानले दिएको भूमिकाभन्दा बाहिर जान पटक्कै चाहनुुहुन्न। सविधानले संरक्षकको जिम्मेवारी दिएको हुँदा र एक प्रकारको संकट अहिले उत्पन्न भएको हँुदा उहाँका केही निश्चित भूमिका भने छन्। जुन भूमिका उहाँले गरिराख्नुभएको छ। संविधानले पनि त्यति गर भनेकै छ। तर राष्ट्रपतिले अतिरिक्त भूमिका खोज्ने काम गर्नु पनि हुन्न। आफ्नो मर्यादाप्रति उहाँ सतर्क हुनुहुन्छ।

आन्दोलन गर्न नसकेर राष्ट्रपति गुहारेका हुन् त नेताले?
त्यो रुन्चे कुरा भो। त्यस्तो हुन सक्दैन।

प्रधानमन्त्रीको छोड्ने संकेत छैन त?
बाबुरामजीको नेतृत्वको सरकारले नेपालमा चुनाव गराउने कुरा त हामी कसैका लागि पनि स्वीकार्य हुने कुरै होइन। त्यसैले बाबुरामजीले छाडेर नयाँ सरकार बन्नुपर्छ भन्ने कुरा नै हो। बाबुरामजी सरकारबाट नहट्ने र यो प्रक्रिया अड्काइराख्नुहुन्छ भने सडकबाट विकल्प खोज्ने हो। तर जबसम्म कांग्रेसले बाबुराम हटाएर प्रधानमन्त्रीमा आफ्नो दलको मान्छे राख्ने भन्ने ‘इम्प्रेसन’ जनतामा दिइराख्छ, तबसम्म जनता आन्दोलनमा आउँदैनन्।

बाबुरामले गराउने चुनाव तपाईंहरुले नमान्ने हो भने तपाईंहरुले गराउने चुनाव बाबुरामको दलले मान्नुपर्छ भन्ने के छ?
छैन। बाबुरामले मंसिर ७ गते बकाइदा निर्वाचन गर्ने भनेर घोषणा गरेको होइन? नसकेपछि त्यो अब सकियो। त्यो ज्ञानेन्द्रका पालामा घोषणा गरिएको निर्वाचनजस्तै भयो। तर बाबुरामले जिद्दी गर्नुभयो। यो ‘कोर्स’ नै सकियो।

तपाईंहरुले नै गर्न दिनुभएन भन्छन् नि?
कसरी? कम्तीमा चुनाव गर्नका लागि भए पनि संसद राखौं भनेर सभामुख सुवास नेम्वाङले पटकपटक भनेको होइन? हामी सबैले सहमति जनाएको होइन? नेम्वाङले राखेको प्रस्तावमा हामी एकछिन छलफल गर्छौं भनेर आउँदै नआई भागेको होइन? अनि गएर निर्वाचनको घोषणा एकलौटी गरेको होइन? के उनीहरुले चुनाव घोषणा गर्दा कांग्रेसले यसो गरेमा चुनाव गराउन सकिन्छ भनेर घोषणा गरेको हो? मंसिर ७ मा चुनाव गर्छु, दुई तिहाई ल्याएर देखाइदिन्छु भनेको होइन? देखाइदिए भो नि त। किन नदेखाएको? अहिले चुनाव गराउन नसक्ने, अनि हामीले बाबुरामबारे छलफल गर्नुपर्ने? संविधान सभा विघटन हुने दिने सुवास नेम्वाङको कार्यकक्षमा म आफैं पसेर सुन्ने/हेर्ने मौका पाएँ। आजको जस्तो अवस्था आउन सक्छ है भनेर सभामुखले ५०-५० पल्टसम्म भन्नुभएको थियो। त्यसैले आजको जस्तो अवस्था आउनसक्छ भनी हिजो थाहा नभएको होइन। यी सबै परिणाम आउन सक्छन् भन्ने थाहा पाएरै बाबुरामजीले निर्वाचन घोषणा गर्नुभएको हो। त्यस कारणले गर्दा हामी थाहा पाएर पनि बाबुरामजीसँग जान सक्दैनथ्यौं।

बाबुरामले किन त्यसो गर्न चाहनुभयो होला त?
बाबुरामजी सबैतिर संकट उत्पन्न गरेर ठूलो कोलाहलको स्थिति उत्पन्न गर्न चाहनुहुन्थ्यो। त्यो कोलाहलबाट अन्ततः कसलाई फाइदा हुन्थ्यो, त्यो पछि खुल्दै जाने कुरा हो। बावुराम भट्टराई यो विषयमा प्रष्ट हुनुहुन्थ्यो। कोलाहल रहन्छ, तैपनि मचाहिँ रहिरहन्छु भन्ने उहाँले थाहा पाउनुभएको थियो। यत्रो ठूलो षड्यन्त्र गर्नुभो उहाँले। त्यसैले यो षड्यन्त्रको नाइके बाबुराम हो। अनि यो षड्यन्त्रको नाइके हो भन्ने थाहा पाइपाई कोही उहाँसँग जान्छ?

अहिलेको अवस्था आउनुका पछाडि बाबुरामको प्रधानमन्त्रीमा रहिरहनेमात्रै आकांक्षा होला कि घोषित सत्ता कब्जाको नीतिले काम गरेको हो?
माओवादीको दस्तावेज हेर्‍यो भने कसैले पनि अहिले भइरहेका कुरालाई अस्वाभाविक मान्दैन। निर्वाचनपछि पनि उहाँहरुले पार्टीको विस्तारित बैठकमा पास गरेका मुद्दा हेर्ने हो भने त अहिलेको अवस्था नआएको थियो भनेचाहिँ अस्वाभाविक मान्नुपर्थ्यो।

अन्त्यमा, तपाईं त कोइरालासँग लडेको पहिचान बोकेको मान्छे, अहिले कोइरालासँग मिल्न गइसक्नुभो भन्ने सुनिन्छ नि?
मैले कोइराला वर्चस्व विरोधी पहिचान बनाउने कोसिस कहिल्यै पनि गरिनँ। नेपाली कांग्रेसको तत्कालीन नेतृत्वले गरेका कतिपय निर्णय चित्त नबुझेर आलोचना गरेको हो। त्यति बेला पनि पार्टीका मूल काम पूरा गर्दै पार्टी सुधार्न चाहने मान्छे हुँ। मेरा थुपंै्र अग्रज र साथीहरु पार्टीबाहिर बसेर सुधार्न सकिन्छ भनी बाहिर पनि जानुभयो तर म पार्टीमै बसें। पार्टी र आन्दोलन दुवैको काम गरें, जिम्मा लिएँ। पार्टीभित्र परिवर्तन हुनुपर्छ भन्दै आएँ । कति कुरा सुनिए, कति सुनिएनन्। मेरो भूमिका अहिले पनि फेरिएको छैन। तपाईंलाई एउटा कुरा बताइदिउँ्क- म केन्द्रीय सदस्य भएको यतिका समय भयो, म सानेपाको बैठकमा मात्रै जान्छु। महाराजगन्जको बैठकमा पनि जान्नँ। बूढानीलकण्ठको मा पनि जान्नँ। म कांग्रेसको बैठकमा जान्छु, सानेपामा।

ए, नेता भेट्न घर जानुहुन्न?
होइन, सभापति वा कुनै नेतासँग व्यक्तिगत काम वा शिष्टाचारका लागि भेट गर्ने कुरामा जान्छु। त्यो गलत र अस्वाभाविक दुवै होइन तर पार्टीका बैठक भनेर जुन सञ्चालन हुन्छ, तपार्इंहरु सुुन्नुहुन्छ नि, प्रभावशाली नेताहरु बस्नुभो भनेर। अनौपचारिक बैठक आदि कुनैमा पनि जान्नँ। म सानेपा बैठकमा मात्रै जान्छु। बुझ्नुपर्ने कुरा के छ भने सुशील कोइराला हाम्रो सभापति हो। उहाँ सबैको सभापति हो। त्यस अर्थमा मेरो पनि सभापति हो। निर्णय र कार्यान्वयनलगायत् कतिपय कामहरुमा मेरो असहमति वा फरक मत होला, तर महाधिवेशनजस्तो सर्वोच्च निकायबाट चुनिएर आएको सभापति भनेको हामी सबैको सभापति हो। उहाँलाई दिनुपर्ने आदर र ख्याल गर्नुपर्ने मर्यादाबाट किन कोही पछि हट्ने? तस्बिर : विजय गजमेर

About The Author

Loading...

अन्य समाचारहरु: