१९ जेठ, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी जङ्गलमा आज बिहान ४ बजेको समयमा गाडी मर्मतका क्रममा च्यापिएर एकजना गाडी चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार धरानबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ३६२० नम्बरको बस बाटोमा बिग्रिएर मर्मत हुँदै गर्दा सोही दिशातर्फबाट आएको ना ५ ख १५१६ नम्बरको बसका चालकले गाडी नजिकै रोकेर तल हेर्ने क्रममा गाडी उचाल्न प्रयोग भएको जग फुत्किएपछि मर्मत भइरहेको गाडीले टाउको च्यापिएर गाडी चालक लक्ष्मण गौतम गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते गाडी चालक गौतमको कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै बस एउटै कम्पनीका हुन् । दुवै बस र बसका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस