२१ जेठ, तनहुँ – तनहुँ जिल्लाका ३७ वटा गाविसमध्ये २५ गाविस अझै प्राविधिकविहीन अवस्थामा रहेका छन् ।
जिविस तनहुँ मार्फत जिल्लाका विभिन्न गाविस र नगरपालिका क्षेत्रमा गरिने विकासका अधिकांश योजना प्राविधिक नहुँदा प्रभावित बनेका छन् । जिल्लामा रहेका ३७ गाविसमध्ये १२ वटा गाविसमा क्लस्टर बनाएर तीन प्राविधिक राखिएको छ । जिल्ला प्राविधिक कार्यालय तनहुँका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले भने, “अझै २५ वटा गाविस प्राविधिकविहीन अवस्थामा रहेका छन् ।”
जिल्लाका देवघाट, कोटा, वैदी, छिपछिपे, छिम्केश्वरी गाविसमा क्लस्टर बनाएर एक प्राविधिक, छाङ, मनपाङ र जामुने गाविसमा क्लस्टर बनाएर एक प्राविधिक र भिमाद, माझकोट, किहुँ र अरुणोदय गाविसमा एक प्राविधिक क्लस्टर बनाएर राखिएको अवस्था रहेको उनले जानकारी दिए ।
आगामी वर्षमा झनै विकास निर्माणका काम अझ प्रभावित हुने देखिएको छ । उनले भने “बजेट दोब्बर वृद्धिसँगै प्राविधिक जनशक्तिको पनि वृद्धि आवश्यक पर्छ तर त्यो सम्भव छैन । प्राविधिक नहुँदा गाउँ समाजमा गरिने विकास निर्माणका काम प्रभावित हुन्छ नै योजना सम्पन्न गर्न पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ ।”
उक्त कार्यालयले जिल्लाभित्र ३६९ वटा कुल सञ्चालित योजना रहेकामा २९३ वटा कार्यान्वयनमा रहेको, ५५ वटा सम्पन्न भइसकेको र २० वटा योजनाको सम्झौता गर्न वाँकी रहेको प्रमुख जिल्ला इन्जिनियर बरालले जानकारी दिए । –रासस