१० पुस, काठमाडौ- विश्व क्रिकेट लिग डिभिजन-३ जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले बुधबार सम्मान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले नेपाली टोलीका सदस्यलाई जनही १ लाख प्रदान गर्दै सम्मान गरेको हो ।
दुई महिनाअघि मलेसियामा नेपालले फाइनलमा युगान्डालाई ६२ रनले पराजित गरी डिभिजन-३ को उपाधि रक्षा गरेको थियो । गत वर्षको मेमा बर्मुडामा भएको डिभिजन-३ को पछिल्लो संस्करणमा पनि नेपालले युगान्डालाई नै फाइनलमा पराजित गरेको थियो । बर्मुडाको डिभिजन-३ जितेको टोलीलाई सरकारले जनही साढे ३ लाख प्रदान गरेको थियो । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले नीतिगत व्यवस्थापनले गर्दा यसपटक पुरस्कार रकम कम भएको बताए । उनले भने, क्रिकेटमा संरचनागत समस्या छ । त्यो बनिसकेपछि यस्ता कमजोरी आफंै हराएर जान्छ ।
मन्त्री पौडेलसँगै मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, सहसचिव चूडामणि पौडेल, सरकारले गठन गरेको नेपाल क्रिकेट संघ (क्यान) तदर्थ समितिका अध्यक्ष विनयराज पाण्डे, महासचिव रमेश सिलवालले खेलाडीलाई नगदका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
सम्मान पाउनेमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सुवास खकुरेल, वसन्त रेग्मी, शक्ति गौचन, नरेश बुढाऐर, आरिफ शेख, भुवन कार्की, सागर पुन, सोमपाल कामी, अमृत भट्टराई, विनोद भण्डारी, महबुब आलम, पुबुदु दसानायके (प्रशिक्षक), रमन सिवाकोटी (टेक्निकल एनालिस्ट), दिनेश भट्ट (फिजियो) छन् । खेलाडीद्वय शक्ति र सागरसँगै टेक्निकल एनालिस्ट रमन मन्त्रालयमा आयोजित कार्यक्रममा उपस्थित थिएनन् ।
सम्मान कार्यक्रममा डिभिजन-३ मा नेपाली टोलीका सहायक प्रशिक्षक जगत टमाटालाई छुट्याइएको थियो । मन्त्रालयका प्रवक्ता पनि रहेका चूडामणिले प्राविधिक गल्तीले टमाटाको नाम छुट्न गएको बताए । उनका अनुसार सरकारले निलम्बन गरेको क्यानले पठाएको १७ जनालाई सम्मान गरेको र त्यसमा सहायक प्रशिक्षकको नाम नभएको बताए । उनले छिट्टै सहायक प्रशिक्षक टमाटालाई सम्मान गरिने जनाए ।
डिभिजन-३ मा नेपाली टोली १९ सदस्यीय थियो । बुधबारको सम्मानमा नेपाली टोलीका व्यवस्थापक एवं सरकारले निलम्बन गरेको क्यानका सदस्य दीपक साउदलाई कार्यक्रममा बोलाइएको थिएन । मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार सरकारले नै निलम्बन गरेका क्यान पदाधिकारीलाई पुरस्कार दिन नमिल्ने जनाए । निलम्बित क्यानलाई समर्थन जनाउँदै आएको राष्ट्रिय खेलकुद परिषद्लाई सम्मान कार्यक्रममा नबोलाउने मन्त्रालयको निर्णय यही कारण भएको नेपाली क्रिकेट टोलीले स्पष्ट बुझेको थियो ।
सम्मान कार्यक्रम पनि नेपाली क्रिकेटको विवादमै केन्द्रित भयो । मन्त्रालयका सचिव शर्माले विवादले गर्दा कुनै पनि हालतमा नेपाली क्रिकेट पछाडि पर्न नहुने जनाउँदै सरकार यस्तो अवस्थामा सहयोग गर्न तयार रहेको बताए । सरकारले निलम्बन गरेको क्यानले त्यसको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा हालेको छ । मन्त्री पौडेलले मुद्दा मामिलाले खेलकुदमा अप्ठ्यारो नपरोस् भन्ने आफूहरूको भावना रहेको जनाए ।
कप्तान पारसले पनि आफ्नो भनाइ यसैमा जोड्दै भने, नेपाल डिभिजन-२ मा होस् या १ मा, पहिला भनेको नेपाली क्रिकेटलाई व्यवस्थित बनाएर लानुपर्छ । जितेरमात्र होइन क्रिकेट संस्कार अरू बेला पनि हुनुपर्छ । खेलाडीहरू मैदानमा सधैं राम्रो प्रदर्शन गर्न तयार छन् ।
डिभिजन-२ जितेमा सरकारले नेपाली टोलीका सदस्यलाई जनही १० लाख दिने भएको छ । मन्त्री पौडेलले सरकारले हालैका बैठकहरूमा यस्तो निर्णय गरेको बताउँदै डिभिजन-२ तयारीलाई पनि सरकारले सबै सहयोग गर्ने जनाए । गत वर्ष नेपाल २०-२० विश्वकपमा छनोट हुँदा सरकारले नेपाली खेलाडीलाई जनही १० लाख प्रदान गरेको थियो, जुन क्रिकेटमा नगदको हिसाबले सबैभन्दा ठूलो सम्मान थियो ।
(इ-कान्तिपुर अनलाइनबाट साभार)