३२ जेठ, काठमाडौँ – भूकम्पका कारण पूर्ण रूपमा घर भत्किएर सरकारले दिएको अनुदान रकम पाउने लाभग्राहीको सङ्ख्या चार लाख ७३ हजारभन्दा बढी भए पनि हालसम्म अनुदान रकम हात पार्नेको सङ्ख्या भने दुई हजार मात्र छ ।

काठमाडौँ उपत्यकाबाहेक भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा सरकारी अनुदान रकमका लागि सोमबारसम्म ८० हजार २२ परिवारभन्दा बढीसँग सम्झौता भए पनि दुई हजार परिवारले प्रथम किस्ताको ५० हजार रुपियाँ बुझेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ ।
भूकम्पपछिको पुनःनिर्माणका लागि मन्त्रालयमा स्थापना गरिएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले दिएको जानकारीअनुसार दोलखाका लाभग्राहीको सङ्ख्या ५१ हजार सात सयभन्दा बढी भए पनि हालसम्म एक हजार २३७ जनाले मात्र पहिलो किस्ताको रकम प्राप्त गरेका छन् ।
त्यस्तै गोरखाका ७६५ जनाले सिन्धुपाल्चोकका दुई जनाले मात्र पहिलो किस्ताको रकम प्राप्त गरेका छन् । गोरखाका ५८ हजार ५०३ जना लाभग्राहीमध्ये चार हजार ८५० जनासँग अनुदान सम्झौता भएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको ७८ हजार ४४८ लाभग्राहीमध्ये तीन हजार जनासँग मात्र सम्झौता भएको एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए। बाँकी जिल्लामा रकम वितरण हुन सकेको छैन ।
भूकम्पपीडितलाई बैङ्क खातामार्फत रकम उपलब्ध गराउने प्रक्रियामा विभिन्न प्राविधिक समस्या आएका कारण ढिलाइ भएको उनले स्पष्ट पारे ।
केही दिनअघि मात्र विभिन्न वर्गका बैङ्कसँग अनुदान रकम वितरणका लागि सम्झौता भइसकेको र जिल्लास्थित आयोजना एकाइ तथा सम्बन्धित जिल्लामा कार्यरत बैङ्क शाखाबीच छलफल भएपछि वितरणको कार्य अगाडि बढ्ने उनले बताए। प्रणाली बनेपछि अनुदान रकम वितरणको कार्य द्रुत गतिमा हुने उनको भनाइ छ ।
गोरखाापत्रबाट