Sat. Oct 12th, 2024

सहमति प्रस्तावका लागि गृहकार्य

4_party_meeting_555228421_517692662

 

काठमाडौं – संविधानका विवादित विषयमा सहमतिको प्रस्ताव तयार गर्ने जिम्मा पाएको चार दलीय कार्यदलले विवादित विषयमा सहमतिको प्रयास थालेको छ। शुक्रबार बिहान बसेको कार्यदलको पहिलो बैठकले संविधानका अन्तरवस्तुका विषयमा दलहरूबीच देखिएको विवादका विषय पहिचान गरी लिपिबद्ध गरेको छ।

संविधानका अन्तरवस्तुमा दलबीच देखिएका मतभेद र असहमतिका बुँदा पहिल्याउने काम भएको छु, बैठकपछि कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले भने, अब शनिबार यसमा कुन दल कसरी लचक भएर सहमतिको प्रस्ताव बनाउने भन्ने छलफल हुन्छ।

कार्यदलले संविधानसभामा सबैभन्दा बढी विवाद देखिएको राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई दलबीचको असहमतिको विषयमा समेटेको छ। शनिबारदेखि प्रस्ताव तयार गर्ने गरी गृहकार्य हुने कर्णले बताए।

कार्यदलले संविधानका अन्तरवस्तुमा सहमति भए छोटो बाटोबाट संविधान पारित गर्ने विषयमा पनि परामर्श थालेको छ। शुक्रबार दिउँसो कार्यदलले संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई भेटेर संविधान निर्माणको सम्भावित ुफास्ट ट्र्याकुका विषयमा परामर्श गरेको थियो।

चारबुँदे सहमति कार्यान्वयनमा जोड

काठमाडौं – मधेसी मोर्चाले संविधानका अन्तरवस्तुमा सहमति गर्न गठित चार सदस्यीय कार्यदलमा मोर्चाको चारबुँदे सहमतिको मर्म र भावनाअनुरूप प्रस्तुत हुने निर्णय गरेको छ। फोरम लोकतान्त्रिक संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको मोर्चाको बैठकले मोर्चाका प्रतिनिधि एवं सद्भावना पार्टी संसदीय दलका नेता लक्ष्मणलाल कर्णलाई संविधानसभामा प्रतिनिधित्व गर्ने सात मधेसी दलले तराईमा दुई प्रदेशको संघीय संरचनासहितको चारबुँदे सहमति कार्यान्वयनमा अगाडि बढ्न निर्देशन दिएको जानकारी सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले अन्नपूर्णलाई दिए।

सात मधेसी दलले भौगोलिक रूपले समग्र तराईमधेस एक एकाइ भएकाले यसको कुनै पनि भूभाग अन्य भौगोलिक प्रदेशसँग नजोडिने गरी तराईमा दुई प्रदेशको अवधारणा सार्वजनिक गराइसकेका छन् भने मोर्चाको एक घटक मधेसी जनअधिकार फोरम नेपाल मधेस स्वायत्त प्रदेशको अडानमा कायमै छ।

मोर्चाको बैठकमा चार दलीय कार्यदलका सदस्य कर्णले शुक्रबार बिहान बसेको कार्य दलको बैठकबारे जानकारी दिएका थिए।
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: