मनिष दुवाडी / १५ असार, धादिङ – गत वर्ष गएको विनाशकारी भुकम्पका कारण विद्यालय भत्किएपछि दक्षिणी धादिङको महादेवस्थान मासखर्कका चेपाङहरु अहिले आफ्ना बालवालिकाहरु पढाउने विद्यालय निर्माणमा आँफै जुटेका छन् ।
अति विपन्न र सीमान्तकृत समुदाय चेपाङहरुका बालबालिकाहरु अध्ययन गर्दै आएका विद्यालयहरु भुकम्पका कारण पूर्ण रुपमा क्षति भएपछि यहाँका स्थानीय बालवालीकाहरु अध्ययन गर्ने विद्यालय निर्माणको लागि आँफै खटिएका हुन । लामो समयसम्म अस्थायी टहरामा बसेर पढ्नु पर्ने बाध्यता भएपछि स्थानियहरु विद्यालय निर्माणमा जुटेका हुन् ।
भुकम्प पछि चेपाङ गाउँमा रहेको लालीगुराँस प्राध्यमिक विद्यालय निर्माण गर्न एक गैर सरकारी संस्थाले विस लाख रुपयाँ सहयोग गरेपछि स्थानियहरु उत्साहीत बनी विद्यालय निर्माणमा जुटेका हुन् । मुस्कीलले विद्यालय जान थालेका चेपाङ बाल बालीकाहरु भवन भत्किएपछि विद्यालय जान छाड्ने भएकाले अन्यत्र भन्दा पहिले चेपाङ वस्तीको विद्यालय निर्माणमा जुटेको सहयोगि संस्था प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
उनले भने, ‘यसै त चेपाङ बालबालिकाहरु स्कुल नै छाड्ने गरेका हुन्छन, त्यसैमाथी पढ्ने र पढाउने स्थायी संरचना नै नहुँदा झनै समस्या पर्ने देखिएकाले हामीले जिल्ला शिक्षा कार्यलयको समन्वयमा यस क्षेत्रका विद्यालय निर्माणमा पहल गरेका हाँै ।’ अहिले चेपाङ्ग समुदायका बालवालीकाहरु पढ्न आउने घैराङ्ग प्राथामिक विद्यालय र लाली गुराँस प्रथामिक विद्यालयको भवन निर्माणको काम दु्रत गतिमा भईरहेको छ । चेपाङ्ग बस्तीका सबै विद्यालयहरु आगामी दुई महिनामा बनाई सक्ने बताइएको छ । वर्षातको समयमा पनि बालबालिकालाई विद्यालय भवनमा नै राखेर कक्षा सञ्चालन गर्ने योजनाका साथ निर्माण कार्य अगाडि बढाइएको छ ।
दाताले भवन निर्माणका लागि रकम उपलव्ध गराएपछि पानीको अभाव रहेको चेपाङ गाउँका स्थानीय महिलाहरु विद्यालय बनाउनका लागी पालै पालो तिन घण्टा पैदल हिडेर पानी बोक्छन् भने पुरुषहरु भवन निर्माणको कार्यमा जुटेका छन् । आफ्ना बालबालिका बसेर अध्ययन गर्ने विद्यालय निर्माणमा घरको काम थाँती राखेर भएपनि लागि परेको स्थानीय शेर बहादुर चेपाङले बताए । उनले भने, ‘घर त हाम्रो पनि छैन, तर घर बनाउनको लागि सरकारले दिने भनेको २ लाख रुपैया पाउन कहिले हो कहिले बरु विभिन्न संघ सस्थाहरुले विद्यालय भवन बनाउन सहयोग गरेका छन । यता तिर सहयोग गरे आफ्नै बालबालिका पढ्न पाउने हुन, हाम्रै समुदायलाई फाइदा पुग्ने हो भनेर धेरै जसो अभिभावकहरु विद्यालय निर्माणमा जुटेका छन ।’
महादेवस्थान गाँउ विकास समिति लगायत दक्षिणी धादिङका दुर्गम स्थानमा रहेका १८ ओटा विद्यालय भवनहरु भुकम्पका कारण पूर्ण क्षती हुँदा त्यस भेगका बालवालीकाहरुको पठनपाठनमा समस्या भएको छ ।