Wed. Jan 22nd, 2025

नागरिकता महिलाहरुको पहिचानको कुरा हो

राधिका सापकोटा

radhika sapkota
अहिले नागरिकताको विषय एकदमै बहस र चर्चाको विषय बनिरहेको छ । संसदमा र संसद भन्द बाहिर पनि यो विषयले राम्रो चर्चा भएको छ । नागरिकता पाउन आमा वा बाबु नेपाली भएहुने की आमा र बाबु नै नेपाली हुनुपर्ने भन्ने विषय अहिले बहसमा छ । यहाँ वहस वा अनि र मा देखिन्छ तर यो भित्रको कुराले थुप्रै नेपाली नागरिकको रुपमा स्विकार गर्ने की नगर्ने वा पहिचानका लागि एउटा नागरिकले कति सम्म संघर्ष गर्नुपर्ने भन्ने विषय हो । यो मात्रै नभएर एउटा नागरिकलाई राज्य विहिन बनाउने कुरा पनि हो । नागरिकताको सवाल विशेष गरी महिलाहरुको पहिचानको कुरासंग गएर जोडिएको छ । एउटा आमाले आमा भएर मात्रै एउटा बच्चा जन्माउन पाउने की नपाउने वा उसले त्यसलाई पहिचान दिन पाउने की नपाउने भन्ने प्रश्न हो यो । यो नागरिकताको सवाल देखिएपनि यो देशका आम महिलाहरुको पहिचानको सवाल हो । म यो देशको नागरिक हो भन्नका लागि मैले अरु कसैको साहारा लिनुपर्ने नीतिलाई कहिले सम्म हामीले निरन्तरता दिने भन्ने सवाल पनि हो ।

पितृसतात्मक सोच र संरचनाका कारणले हामीले अहिले सम्म सत्य वा यर्थाथलाई स्विकार गर्न सकेका छैनौं । आमा भनेको जहिले पनि यर्थाथ हो उसको गर्भमा बच्चा आएदेखि दुनियाँले देख्छ र थाहा पाउछ त्यो उसको वच्चा हो भनेर तर त्यो गर्भको बच्चाको बाबु को हो भन्ने त्यो महिलाले भनेको आधारमा हुने हो जुन विश्वास मात्रै हो । एउटा आमालाई मात्रै थाहा हुन्छ उसले जन्माएको बच्चाको बाबु को हो । तर हाम्रो सोच संस्कारले त्यही यथार्थलाई स्विकार गर्न सक्दैन तर उसले भनेको विश्वासलाई सबै भन्दा ठूलो अधिकार दिएको छ , यो नै न्यायोचित देखिदैन ।
अहिले नागरिकतालाई महिलाको अंशसंग जोडेर हेर्ने गरिएको छ । अंश प्राप्त गर्नका लागि उसको श्रीमानको नाम नागरिकतामा हुनुपर्ने कानुनी प्रावधान नभएपनि व्यवहारिक रुपमा यसलाई स्थापित गराईएको छ । जसका कारणले पनि आम महिलाहरु र बच्चाहरु नागरिकताका लागि मात्रै विभिन्न खाले हिंसाहरु सहेर बस्न बाध्य भईरहेका छन् । आमाको नामबाट नागरिकता दिने कुरा जब अन्तरिम संविधान २०६३ ले बोलिसकेको भएपनि जिल्ला प्रशासनमा जाँदा प्राय प्रमुख जिल्ला अधिकारीहरुले यो बच्चाले कसको अंश दिन्छ ? भन्ने प्रश्न पहिलो प्रश्नको रुपमा गरेको पाइन्छ । त्यसैले अहिले नागरिकता नेपाली नागरिक हुनुको पहिचान भन्दा पनि धेरै नाता प्रमाणितको आधार, अंशको आधारको रुपमा लिइनुले पनि यसको जटिलतालाई बढाईरहेको छ । त्यसैले सबैभन्दा पहिला नागरिकतालाई केवल नेपाली नागकिको पहिचानको रुपमा मात्रै प्रयोग गरिनुपर्छ त्यो भयो भनेपनि यसमा सहजता आउन सक्छ ।
अहिले यदि आमाको नामबाट नागरिकता दिने हो भने विदेशी नागरिकहरुले वा विदेशी बाबुका बच्चाहरुले नागरिकता प्राप्त गर्छन् र राष्टियता खतरामा पर्छ भन्ने आम धारणा रहेको पाइन्छ । अहिले संसदमा वा राष्टिय महत्वका पदमा हुने धेरै महिलाहरु इन्डियाका छोरीहरु र नेपालको बुहारीहरु छन् । महिलाहरुको राजनीतिक हैसियतालाई स्विकार नगरेर मात्रै हो हैन भने के राष्टियता खतरामै हुने हो भने उनीहरुबाट खतरा हुन सक्दैन ? यहाँको पुरुषले ल्याएका कारणले उनीहरुले अवसर प्राप्त गर्ने कुरामा कही समस्या बनाइएको छैन किनकी यहाँ पितृसत्ता जसले गर्दा उसले जे गरेको कुरा पनि स्विकार्य हुन्छ तर त्यही काम महिलाले गर्दा स्विकार्य हुदैन ।

एउटा नागरिकलाई विदेशीसंग विवाह गरेर यहाँका सबै अधिकार प्राप्त गर्ने हक छ तर त्यही देशको उही हैसियतको एउटा नागरिकलाई त्यो अधिकारबाट बन्चित गरिएको छ । मेरो भनाई के मात्रै हो भने साच्चै विदेशी नागरिकहरुका कारण देशको राष्टियता खतरामा पर्छ भने विदेशी महिला विवाह गर्दा पनि नागरिकता सम्बन्धि उही नीति हुनु जरुरी छ । विदेशी महिला  विवाह गरेपनि वा विदेशी पुरुष विवाह गरेपनि उसले प्राप्त गर्ने नागरिकता र हैसियतमा उही हुने नीति हुन जरुरी छ । किनकी हाम्रो देशको संविधानको प्रस्तावनामा नै राज्यका सबै नागरिक समान हुने कुरा उल्लेख गरिएको छ भने किन फेरी महिला नागरिक र पुरुष नागरिक भनेर हरेक नीतिहरुमा विभेद गरिन्छ ? नागरिकता एउटा सानो सवाल हो तर यहाँ ठूलो कुरा महिलाहरुको पहिचानलाई स्विकार गर्ने की नगर्ने भन्ने कुरा हो , यो देशमा महिलाहरुको पहिचान के हुने भन्ने कुरा हो,  महिलाहरुको अस्तित्वलाई कसरी लिने भन्ने कुरा हो ।

About The Author