Mon. Apr 29th, 2024

हिंसा न्युनिकरणका लागि महिला पुरुष दुबैको उत्तिकै महत्वपूर्ण भूमिका छ : राधिका सापकोटा

राधिका सापकोटा सहयात्री समाज नेपालको कार्यकारी निर्देशक छिन् । उनी महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको सदस्य पनि हुन् । उनी विगत १६ वर्ष देखि महिला अधिकार, मानवअधिकार र लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्धको अभियानमा काम गरिरहेकी छिन् । उनीसँग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

radhika-sapkota1

लामो समयदेखि मानव अधिकारसंगै लैङ्गिक हिंसा विरुद्ध काम गर्दै हुनुहुन्छ, प्रष्ट पारिदिनुहोस् न के हो लैङ्गिक हिंसा?
लैङ्गिक विभेदमा आधारित हिंसा भन्नाले त्यस्ता सम्पूर्ण कार्यहरूलाई बुझाउँछ जुन कुनै पनि व्यक्तिलाई उसको लिङ्गको आधारमा गरिने विभेदबाट निर्देशित भई गरिएको हुन्छ । जस्तैः लिङ्गको आधारमा कुनै व्यक्तिलाई शारीरिक, मानसिक, यौनिक रूपले पीडा दिने वा त्यस्ता प्रकारका व्यवहार गर्ने गर्नका निम्ति डर देखाउने, धम्क्याउने साथै अरुको स्वतन्त्रता खण्डित गर्ने किसिमका कार्यहरू हुनछन् । लैङ्गिक विभेदमा आधारित हिंसाबाट महिला, पुरुष, बालक, बालिका जो कोही पनि पीडित अथवा प्रभावित हुन सक्छन् । यसो भए पनि लैङ्गिक विभेदमा आधारित हिंसाबाट खासगरि महिला तथा बालिकाहरू नै बढि प्रभावित हुने गरेका छन् । लैङ्गिक विभेदमा आधारित हिंसा भन्नाले कसैको इच्छाविना कुनै व्यक्तिमाथि नोक्सान पुग्ने व्यवहार गरिएको हुन्छ । यस्तो व्यवहार समाजले स्थापित गरेको महिला र पुरुषबीचको विभेदका आधारमा गरिएको हुन्छन ।

पुरुष र महिलामा हुने हिंसाको प्रकृतिमा के फरक छ ?
संसारभरीको कुरालाई हेर्ने हो भने १ तिहाई महिलाहरुमाथि कुनै न कुनै तरिकाको हिंसा भैरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भनेपनि ९६ प्रतिशत महिलाहरुमाथि हिंसा हुने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । लैङ्गिकताको आधारमा हुने हिंसाबाट महिला र बालिकाहरु नै सबै भन्दा बढि प्रभावित भएका छन् । पितृसत्तात्मक सोच र संरचना भएको हाम्रो समाजमा महिलाहरु स्रोत,शक्ति र सत्तामा मा अधिकार वा पहुँच पुग्न सकेको छैन जसका कारणले उनीहरु हिंसामा पर्छन । हिंसामा परेपछि न्याय सम्म उनीहरुको पहुँच हुदैन । तर एकजना पुरुष पुरुष भएकै कारणले हिंसामा परेका घटनाहरु असाध्यै न्युन हुने गरेको पाइन्छ । कुनै अपराधिक क्रियाकलापका कारण उनीहरु हिंसामा परेका घटनाहरु हुन सक्छन् तर समाजले पुरुषलाई दिएको भुमिकाका कारणले हिंसा भएका घटनाहरु मैले पाएको छैन । तर महिलाहरुको हकमा हेर्ने हो भने खाना मिठो नपाएका कारण, श्रीमानलाई नभनि एकदिन घर छोडेर हिडेका कारण वा श्रीमान र परिवारलाई चित्त नबुझ्ने काम गरेका कारणले गर्दा हिंसा खेप्न वाध्य भएका छन् । महिलाप्रति हेर्ने समाजको दृष्टिकोणका कारण महिला र वालिकाहरु बलात्कार भैरहेका छन् । त्यसैले महिला लैङ्गिकताका आधारमा हुने हिंसाबाट प्रभावित छन् तर पुरुषहरु अन्य अपराधिक क्रियाकलापका कारण प्रभावित हुन सक्छन् ।

कसरी हिंसामा परिरहेका हुन्छन् महिला ?
यो समाजले महिला यस्तो हुनुपर्ने भन्ने मान्यता स्थापित गरेको छ । त्यो स्थापित मान्यता विरुद्ध जसरी महिलाहरुले काम गर्दछन् त्यसपछि उनीहरु माथि हिंसा हुने गर्दछ । एउटा महिला उसको शरिरमा महिलाका अंग भएका कारणले हैन यो समाजले महिलाप्रति बनाएको दृष्टिकोणका कारणले गर्दा हिंसा हुने गरेको पाइन्छ ।

लैङ्गिक विभेद कारण समाजमा परेको असर के कस्तो पाउनुभएको छ ?
लैङ्गिकताको आधारमा हुने विभेदले हामी महिलाहरुलाई मात्रै असर परेको छ भन्ने हामी सोच्दछौं तर लैङ्गिगक विभेदले महिलाहरुसंगै पुरुषहरुमा पनि धेरै असर परेको छ । एउटा परिवार जहाँ हिंसाको वातावरण छैन, सहज वातावरण छ भने त्यहाँ वच्चा बच्चिको हुर्काई र उनीहरुको विकास सकारात्मक रुपमा भएको हुन्छ । त्यो परिवारको आर्थिक उन्नति राम्रो भएको हुन्छ । जब एउटा परिवारमा हिंसात्मक वातावरण छ भने त्यो परिवारलाई समाजले सधै नराम्रो वा नकारात्मक दृष्टिकोणले हेर्दछ । घरपरिवारबाट हेला भएको एउटा व्यक्तिलाई समाज र आफन्तले समेत नराम्रो गर्ने गर्दछन् । यसले परिवारको सबै खुसी खोसिएको हुन्छ । मानसिक रुपमा सबै सधै तनाबमा हुने र अन्तमा परिवारको कोही न कोही मानसिकरुपमा समस्यामा पर्ने र आत्महत्या समेतको अवस्थामा हुन्छ ।

समाजले पुरुषलाई दिएको भुमिकाका कारण महिलामात्रै हैन पुरुषहरु समेत समस्यामा परेका छन् । सके पनि नसके पनि परिवार पाल्नु पर्ने पैसा कमाउनु पर्ने यदि यसो गर्न नसके नामर्दको रुपमा कहालाइने जुन अवस्था छ जसका कारणले आज हाम्रा देशका थुप्रै युवाहरु खाडीको त्यो तातोमा परिवारको माया छोडेर काम गरिरहेका छन् । यो समाजले पुरुष भएका कारणले दिएको जिम्मेवारी पुरा गर्ने नाममा आज दिनहूँ हाम्रो पुरुषहरुको लास बाक्सामा आईरहेको छ । संसारका २०० देशमा आत्महत्या गर्नेहरुको संख्यामा महिलाहरु भन्दा पुरुषहरुको संख्या सबै भन्दा बढि छ । आफूलाई समजाले दिएको जुन जबरजस्त थुपारिदिएको भुमिका छ त्यो पुरा गर्न नसकेका कारणले उत्पन्न मानसिक समस्याले उनीहरुलाई आत्महत्या सम्म पुर्याएको छ । त्यसैले लैङ्गिक विभेदका कारण महिला जत्तिकै पुरुषहरुलाई पनि असर गरेको मैले पाएको छु ।

radhika-sapkota 2

लैङ्गिकताका आधारमा हुने हिंसा विरुद्ध कसको भुमिका के हुन सक्छ ?
लैङ्गिकताको आधारमा हुने हिंसा न्युनिकरणका लागि महिला पुरुष दुबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेको छ । मेरो मान्यतामा त अझै महिला भन्दा पूरुषहरुले यसको अगुवाई गर्न जरुरी छ । किनभने आज हरेक दिन महिलामाथि हुने हिंसाका घटनाले आम पुरुषहरुलाई हिंस्रकको रुपमा दाग लगाएको छ । आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुहरुका कारण हरेक बाबु प्रति शंका उत्पन्न गराएको छ । एउटा श्रीमतीको हत्यारा पुरुषका कारण हरेक श्रीमानप्रति शंका उत्पन्न गराएको छ । छोरीलाई बलात्कार गर्ने बाबुहरुका रुपमा पुरुषहरुलाई एउटा दाग लागेको छ यसको विरुद्ध पुरुषहरुले नै अभियान शुरु गर्नुपर्छ । हरेक पुरुष हिंस्रक हैन भनेर आफ्नो वर्गप्रति लागेको यो दाग मेटाउन पुरुषहरुको भुमिका एकदमै महत्वपूर्ण हुन्छ । संगै यो समाजका सबै वर्ग र क्षेत्रले हिंसाका यस्ता घटनामा शुन्यसहनशिलता अप्नाउन जरुरी छ ।

यसका साथै नीति निमार्ण गर्ने तहमा पुगेका व्यक्तिहरुको सोचमा पनि परिवर्तन हुनु जरुरी छ । अहिले सम्म पितृसत्तात्मक सोचका कारणले गर्दा हाम्रा नीतिहरु त्यतैतिर केन्द्रित छ । अब नीति निमार्ण गर्दा लैङ्गिक समानता कायम गर्ने खालका नीतिहरु निमार्ण हुन जरुरी छ । हामी सामाजिक संस्थाहरुले विभिन्न क्षेत्रमा काम गरिरहेका छौं । हामी समाज विकासको एउटा सपना बोकेर काम गरिरहेका छौं तर हामीले जतिनै विकास गरेपनि लैङ्गिक हिंसा अन्त्य गर्न सकेनौं भने त्यो विकासको कुनै अर्थ हुदैन । त्यसैले हामी सबैको साझा एजेण्डा लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्धको अभियान हुनु जरुरी छ । अहिले संचार क्षेत्रको भुमिका सबै सामाजिक परिवर्तनका लागि धेरै महत्वपूर्ण रहेको छ । संचारमाध्यमले अब आफ्ना सामाग्रिहरुमा लैङ्गिक विभेद अन्त्य गर्ने खालका विषयवस्तुहरु ल्याउन जरुरी छ । यसै गरी महिला र पुरुष एक अर्काको सहयोगले परिवार राम्रो बनेका सफलताका कथाहरु ल्याउन जरुरी छ । यी कुरा हामीलाई साना लाग्न सक्छन् तर यसले सामाजिक परिवर्तनका लागि महत्वपूर्ण भुमिका खेल्न सक्दछ ।

 त्यसो भए अब के गर्न जरुरी छ ?
– नेपालमा सरकारी र गैरसरकारी संघसंस्थाहरु सबैले महिलाहरुलाई केन्द्रित गरेर काम गर्यौं । महिलाहरुलाई कसरी बोल्न सिकाउने, कसरी सक्षम बनाउने, उनीहरुका अधिकारका बारेमा सचेत बनाउने, उनीहरुले भोगेका हिंसाहरुलाई बाहिर ल्याउन प्रेरित गनेृ जस्ता विषयमा अहिले सम्म सबैको लगानी रह्यो । केही समयका लागि यो जरुरी थियो जसले महिलाहरुलाई आफ्ना अधिकारका बारेमा सचेत बनाउनका साथै आफूमाथि हिंसा भैरहेको कुराको अनुभूति गर्न सक्षम बनाएको छ । तर हामीले अहिले सम्म त्यसको एउटा पाटो वा यो समस्याको एउटा महत्वपूर्ण पक्ष पुरुषलाई छोडिरह्यौं । यो पितृसत्तात्मक संरचनामा हुर्केको एउटा पुरुषले आफ्नो हजुबाबु र बाबुले गरेका व्यवहारबाट आफ्नो मान्यता तयार गरेको छ । त्यसैको आधारमा नै उसले आफ्नो व्यवहार गर्छ । त्यसैले आफूले गरेको व्यहार ठीक छ की छैन ? मैले गरेको व्यवहारले मेरो परिवारमा कस्तो असर गरेको छ ? मैले आफूमा केही परिवर्तन गरे भने कस्तो हुन सक्छ भन्ने खालका कुरामा पुरुषहरुलाई महसुस गनराउने र उसको व्यहारमा परिवर्तन गर्न सक्ने हो भने अहिले भैरहेको हिंसामा न्युनिकरण गर्न सकिन्छ । यहि मान्यताका साथ अहिले सहयात्री समाज नेपालले लैङ्गिकताका आधारमा हुने विभेदमा पुरुषहरुको सहभागिताका लागि काम शुरु गरेका छौं । यसलाई अब हामी सबैले बढाउन सक्यौं भने यसले परिवर्तन गर्न सक्ने कुरामा हामी विश्वस्त छौं ।

अन्तमा केही भन्नु छ ?

– हामी अहिलेको सभ्य समाजमा छौं । यो सभ्य समाजका सभ्य मानिसका रुपमा हामी आफूलाई चिनाउन चाहान्छौं तर हरेक दिन यो समाजका छोरीहरु बलात्कार भैरहेका छन् । ९४ प्रतिशत बलात्कारका घटना आफ्ना आफन्त र चिनेका मानिसहरुबाट भैरहेको छ । हामील नचिनेकासंग डराउँछौं तर महिलाहरुत चिनेका र सबै भन्दा नजिकका बाट सबै भन्दा बढि हिंसामा परिरहेका छन् । कुनै दिन छोरी बेच्ने देशका रुपमा हाम्रो देश आज छोरी बलात्कार गर्ने बाबुहरुको देशका रुपमा परिचित हुदै छ त्यसैले अब हामी सबै एकपटक यो सवालमा चिन्तित हुनु जरुरी छ । यो महिला र पुरुष विचको लडाई हैन, यो त हाम्रो समाजको सभ्यताको लडाई हो । त्यसैले लैङ्गिकताका आधारमा हुने हिंसा विरुद्ध सबैलाई लाग्नका लागि हार्दिक अनुरोध गर्दछु ।

About The Author

Loading...

अन्य समाचारहरु: