जन सम्पर्क समिति साउथ अष्ट्रेलियाले नयाँ वर्ष २०१५ को अवसरमा शुभकामना आदन प्रदान तथा स्थानीय नेपाली समूदायको प्रभावकारिताको विषयमा छलफल कार्यक्रम गरेको छ ।
रिमील पार्क एडिलेडमा आयोजित कार्यक्रममा स्थानीय नेपालीहरुले भोगेको समस्या तथा तिनका निदानका उपायवारे पनि छलफल भएको आयोजक जनसम्पर्क समिति साउथ अष्ट्रेलियाका सदस्य कुम्भराज सुवेदी कमलले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि तथा जनसम्पर्क समिति अष्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले सानो समूदायका नेपालीको वसोवास रहेको साउथ अष्ट्रेलियामा नेपाली समुदायका महिलाको सक्रियताको प्रसंसा गर्दै एक आपसमा मिलेर समुदायलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।
नयाँ वर्षको शुभकामना तथा बनभोज सहित आयोजित कार्यक्रममा साउथ अष्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला, एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक रमेश जोशी, एडिलेड नेपाली समाजकी अध्यक्ष सर्वदा घिमिरे, बोटल फर स्कुलका संयोजक नारायणकाजी गुरुङ , जनसम्पर्क समिति अष्ट्रेलियाका कार्यसमिति सदस्य अच्यूत धमला, कार्यक्रम संयोजक तथा जन सम्पर्क समिति साउथ अष्ट्रेलियाका अध्यक्ष रामबहादुर थापा लगायतले स्थानीय नेपालीको अवस्था, भोग्नु पर्ने समस्या तथा तीनका प्रभावकारी समाधान्का उपायबारे आ–आफ्नो विचार व्यक्त गरेका थिए ।