२१ साउन, धादिङ – धादिङ जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामचन्द्र भट्ट चयन भएका छन् ।
बार एशोसिएसनको शुक्रबार धादिङबेसीमा सम्पन्न २८ औँ साधारणसभा तथा १६ औँ अधिवेशनले भट्टको अध्यक्षतामा आगामी दुई वर्षका लागि ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रामकृष्ण अधिकारी, सचिवमा विनोदमान श्रेष्ठ, कोषाध्यक्षमा तोलाकुमारी पाठक चयन भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा गोविन्दराज श्रेष्ठ, विश्वराज अधिकारी, टंककुमार श्रेष्ठ,दुर्गा प्रसाद तिवारी र भेषराज नेपाल रहेका छन् ।
धादिङ जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष दुर्गाप्रसाद तिवारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल बार एशोसिएसनका केन्द्रिय अध्यक्ष शेरबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धादिङका जिल्ला न्यायधिस इश्वरराज आचार्य, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, धादिङ क्षेत्र नं २ का सांसद गुरुप्रसाद बुर्लाकोटी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी कार्यलयका प्रमुख, संघसंस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो ।