Tue. May 20th, 2025

सचेत छन् अहिलेका आमाहरु

asmita-khatiwada
अस्मिता खतिवडा – धादिङ मैदीकी सुस्मिता सिलवालको ५ महिने काखे बालक छ । उनी आफ्नो बच्चालाई दैनिक ६ देखि ८ पटकसम्म स्तनपान गराउँछिन् । सिलवाल पढेलेखेकी हुनाले स्तनपानबारे उनलाई राम्ररी जानकारी छ । पहिलो बच्चा जन्मिएको एक महिनासम्म उनको दुध नआएपछि परिवारका सदस्यहरुले गाई र भैंसीको दुध खुवाउन सल्लाह दिएपनि उनले त्यसो गरिनन् ।

२६ वर्षीया सिलवाल भन्छिन् “पहिलो बच्चा हुँदा यस्तै हुन्छ थाहा थियो त्यसैले कसैको कुरा सुनिन, सुरुमा घाउ भो, सुन्नियो पनि । तर पछि सजिलै दुध आयो । त्यतीबेला अरुका कुरा सुनेको भए आज मेरो बच्चा यति स्वस्थ हुन्थेन ।”

सुस्मिताको गाउँमा केही यस्ता महिला छन् जसले जागिर जाने डरले बच्चालाई ३ महिनादेखि नै परिवारको जिम्मा लगाएर हिड्छन् । सँगै सुत्केरी भएका ती महिलासँग तुलना गर्दा आफू र बच्चा निकै स्वस्थ रहेको र आफुलाई पनि मौमसी रुघाखोकी बाहेक अरु कुनै स्वास्थ्य समस्याले नसताएको उनले बताइन । उनको बच्चा पनि निकै टाठो देखिन्थ्यो ।

आफ्नो बच्चालाई पूर्ण स्तनपान गराएर आफूसँगै बच्चाको स्वास्थ्य तन्दरुस्त राख्ने सुस्मिता त एक प्रतिनिधि पात्र हुन । यस्ता धेरै आमाहरु हाम्रो समाजमा छन् जसले स्तनपानको महत्व राम्रैसँग बुझेर भरपुर स्तनपान गराएर आफ्नो र बच्चाको दीर्घकालीन रुपमा स्वस्थ्य बनाइरहेका छन् ।

साँकोषकी  सुनिता तामाङ भन्छिन, “मैले २ वटा सन्तान जन्माएँ र दुवैैलाई आफ्नै दुध खुवाएर हुर्काएँ । पहिलो बच्चा नहुँदासम्म बाहिर काम गर्थे तर बच्चा पाएपछि सबै छोडिदिए ।”

त्यस्तै प्रयास नेपाल धादिङकी अध्यक्ष उषा वि.क भन्छिन्– ‘मेरो १० महिने छोरा छ । मैले मेरो बच्चालाई छ महिनासम्म आफ्नो मात्र दूध खुवाएं । अहिले आफ्नो दुधको अलावा लिटो, जाउलो लगायतका अतिरिक्त खानेकुरा पनि खुवाऊँदै आएको छु ।  म कामकाजी हँुदाहँुदैँ पनि मलाई मैले काम गर्ने संस्थाले आफनो बच्चालाई घरै बसेर स्याहार गर्न बिदा समेत दिएको थियो ।’ उनले नेपालमा धेरै कामकाजी महिला सुत्केरी भएपछि कामको चापले आफ्ना बच्चालाई प्रयाप्त स्तनपान नगराउने गरेको उल्लेख गर्दै त्यसका लागि कार्यरत संस्थाले त्यो प्रबन्ध मिलाई सहयोग गर्नुपर्ने बताईन ।

यस्तै, रेडियो धादिङमा काम गर्ने डोल्मा मम्बाले आफ्नो अनुभव सुनाउदैँ बच्चालाई दुई वर्षसम्म आमाको दुध खुवाउन आवश्यक भएको उल्नेख गरिन् । उनले भनिन्,–‘बच्चालाई समय–समयमा आमाको दूध खुवाउनुपर्छ । सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ । त्यसैले हरेक आमा मात्र होइन, घरका अन्य सदस्यले पनि बच्चालाई पूर्ण स्तनपान गराउने वातावरण मिलाएर सहयोग गर्नुपर्छ ।’’

आफ्नो बच्चालाई पटकपटक स्तनपान गराउन परिवारमा सासू र श्रीमानको महत्वपूर्ण भूमिका रहने भनाई छ, धादिङबेशीकी शर्मिला घिमिरेको ।

कामकाजी महिलाले बच्चा, परिवार र कार्यालयको दोहोरो जिम्मेवारी पूरा गर्नुपर्ने भएकाले त्यो जिम्मेवारी पूरा गर्न ती समूहले सहयोगी भूमिका खेल्नुपर्ने वताउंmछिन्, जिल्ला स्वास्थ्य कार्यलय धादिङकी पब्लीक हेल्थ नर्स गोमा गुरुङ । उनले भनिन्, ‘‘स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ तर आमाको खानामा उचित ध्यान पु¥याउन नसकेमा उनको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ ।’’ ६ महिनासम्म आमाको दूध बाहेक केही नचाहिने हुनाले उसलाई चाहिने सम्पूर्ण पोषक तत्व दूधमै पाइने भएकाले अन्य खानेकुरा र पानी पनि नदिन पब्लीक हेल्थ नर्स गोमा गुरुङले आग्रह गरिन् ।  बच्चा जन्मेको ५ दिनसम्म आमाको दूधमा उत्पन्न बिगौतीमा बच्चाको लागी स्वास्थ्यको भण्डार नै रहेकाले सकेसम्म बढी खुवाउनुपर्ने गुरुङको भनाइ छ ।

जति आमाको पोषणस्तर राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दूध प्राप्त गर्नसक्छ । जिल्ला स्वास्थ्य कार्यलय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशाशक जिवनकुमार मल्ल शिशुको दिमाग तथा शारीरिक विकासको लागि पनि स्तनपान आवश्यक भएको बताउंछन् । उनले नेपालमा ७० प्रतिशत आमाले मात्र आफ्ना बच्चालाई नियमित स्तनपान गराउने गरेको बताउदैँ स्तनपानले १३ प्रतिशत बालमृत्युदरलाई रोक्ने जानकारी दिए ।

आजभोलीका आधुनिक आमाहरु फिगर बिग्रने र भद्दा हुने डरले बच्चालाई स्तनपान गराउन संकोच मान्ने गर्दछन् । कतिपयले त दुधै आएन भनेर आलटाल गर्दै बच्चालाई आफ्नो दुधको साटो बोटलबाट दूध खुवाउने संस्कार पनि बढदै गएको छ । कुनै पनि बच्चाको लागि आमाको दुध बाहेक अरु कुनै खाना पोषिलो र स्वस्थकर नहुने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने वरिष्ठ जनस्वास्थ्य प्रशाशक मल्लको भनाई छ । आजको बच्चा भोलिको राष्ट्र निर्माता भएकाले बच्चाको स्वास्थ नै राष्ट्रको स्वास्थ हो । “आमाको दुध नै बच्चाको स्वस्थ जीवनको आधार हो” मल्लले भने ।

महिलाको अवस्था, उनले गर्ने कामको प्रकृति हेरी दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिजपदार्थ थप गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले दैनिक आवश्यक र सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ । आमाको दूधमा शिशुको सम्पूर्ण विकासको लागि चाहिने सम्पूर्ण तत्व हुने भएकाले आमाको स्वास्थ्य पनि सकारात्मक प्रभाव पार्ने चिकित्सकहरु बताउँछन् ।
 
प्रकाशित मिति : २०७३ साउन २३ गते

About The Author