शीव ढुङगाना
२० पुस, ओखलढुंगा – जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले महिला हिंसा विरुद्धको अभियान शुरु गरेको छ ।
विद्यालयका विद्यार्थीहरुलाई माध्यम बनाएर प्रहरीले अभियान थालेको हो । प्रहरीले महिला हिंसा बिरुद्ध जिल्ला व्यापी विद्यालय स्तरीय निवन्ध प्रतियोगता आयोजना गरेर अभियान थालेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर विकले बताउनुभयो ।
‘महिला हिंसा बिरुद्धको अभियानमा नेपाल प्रहरीको भूमिका’ शीर्षकमा सबै माध्यमिक विद्यालय स्तरका विद्यार्थीहरुले लेखेका निबन्धमध्ये प्रत्येक विद्यालयबाट उत्कृष्ठ तीन निबन्ध छानेर जिल्लास्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो ।
जिल्लाभरबाट छनौट भइ आएका ३५ उत्कृष्ट निबन्धमध्ये सर्वोकृष्ट चार निबन्धलाई नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा सरस्वती मावि खानीभञ्ज्यांगकी छात्रा गीता श्रेष्ठ प्रथम, निकेतन मावि माधवपुरकी छात्रा पूजा आले मगर द्वितीय र भिमसेनस्थान मावि केत्तुकेका छात्र प्रेमकुमार राई रहेका छन् ।
निबन्धमा विद्यार्थीहरुले महिला हिंसा कम गर्न प्रहरीको भूमिकाको समिक्षा गर्दै आगामी दिनमा के गर्नुपर्छ भन्ने सुझाव समेत दिएका छन् । विद्यालयमा निबन्ध प्रतियोगिता गराउँदा हिंसा कम गर्न अभिभावकलाई समेत सचेत गराउन सकिने र बालबालिकाहरुको सृजनशीलता बढ्ने भएकाले यस्ता कार्यक्रम छनौट गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले सवारी दुर्घटना कम गर्ने बारेका सचेतना अभियान पनि विद्यार्थी मार्फत नै गरेको थियो ।