Thu. Oct 10th, 2024

नीलकण्ठ नगरपालिकामा ११ करोड २६ लाखको बजेट सार्वजनिक

bajet 1

२२ पुस , धादिङ
धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७२ /०७३ का लागि ११ करोड २६ लाख ३२ हजार ५ सय बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको मंगलबार सम्पन्न परिषदले पुँजीगत तर्फ सात करोड तीन लाख ७४ हजार र चालु तर्फ सामाजिक सुरक्षा कार्यक्रम सहित चार करोड २२ लाख ५८ हजार पाँचसय रुपैयाँ बराबरको अनुमानित बजेट विनियोजन गरेको हो । अघिल्लो वर्ष ८ करोड ५३ लाख ४० हजार रकम विनियोजन भएको थियो ।

नगरपालिकाको बजेट सार्वजनिक गर्नुहुँदै कार्यकारी अधिकृत विश्वराज मरासैनीले बजेटमा पूर्वाधार र संरचना विकास नीति, कृषि, वन, वातावरण विकास नीति, भूमी तथा जलश्रोत विकास नीति, जनसंख्या तथा सामाजिक नीति, संगठन तथा प्रशासन विकास नीतिलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो।

नगर क्षेत्रभित्र चक्रपथ निर्माण, खानेपानीको पहुँच, ग्रामीण बाटोघाटो निर्माण, बजार क्षेत्रभित्र सडकपेटी व्यवस्थित गर्ने, नगरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउन धार्मिक तथा साँस्कृतिक एव् ऐतिहासिक स्थलहरुको संरक्षणमा विशेष ध्यान दिने, भवन आचारसंहिता, सडक मापदण्ड, राजश्व परिचालन, पूर्ण साक्षरता, पूर्ण खोप, खुल्ला दिशामुक्त र धुँवा रहित चुलो सम्बन्धी कार्यलाई प्राथमिकतामा राखिएको मरासैनीले बताउनुभयो ।

नगर क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमणलाई निरुत्साहित गर्न, बजार क्षेत्रमा सडक बत्ति व्यवस्थापन गर्न, भौतिक पूर्वाधार कार्यक्रमहरु सञ्चालन गरिने कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रममा सहभागि विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरुले नगरपालिकाले बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा कार्यान्वयनकर्ता भन्दा बढि अनुगमनकर्ताले उत्प्रेरक, सहजकर्ता र समन्वयकर्ताको भूमिका खेल्न सबैसंग आग्रह गरेका छन् । नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विविधता एवं भौगोलिक अवस्थितिका आधारमा विकासका पूर्वाधारहरु निर्माण गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

नीलकण्ठ नगरपालिकाको परिषद उद्घाटन कार्यक्रममा राट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द पोख्रेलले साना–साना विकास योजनाहरु बन्दा देखिने गरी काम हुन नसकेको बताउनु भएको छ । साना साना योजनाहरु स्थानीय निकायले बनाउने र वृहत योजनाहरु मात्र राट्रिय योजना आयोगले बनाउने डाक्टर पोख्रेलले बताउनुभयो । कार्यक्रममा डाक्टर पोख्रेलले अबका दिनमा यसलाई सुधार गरेर राट्रिय योजना आयोगले ठूला र वहुवर्षिय योजनाहरु तर्जुमा गर्ने पनि बताउनुभयो ।

कार्यक्रममा सभाषद गुरुप्रसाद बुर्लाकोटीले श्रोत साधनको पूर्ण व्यवस्था नभई सञ्चालन गरिएको नगरपालिकामा धेरै चुनौतिहरु रहेको बताउनु भयो । सदरमुकाम धादिङबेसीसंग ग्रामीण क्षेत्रको विकासलाई जोड्नु पर्ने चुनौतिपूर्ण काममा सहयोग गर्न पनि बुर्लाकोटीले राजनीतिक दल, सरकारी तथा गैर सरकारी निकाय, सहकारी संस्थाहरु र अन्य सहयोगी निकायसंग आग्रह पनि गर्नुभएको छ ।

bajet 2

About The Author

अन्य समाचारहरु: