१ भदौ, धादिङ –उत्तरी धादिङको दार्खा गाँउ विकास समितिको वडा नं ८ धार्नामा सुख्खा पहिरो झरेपछि २५ घरधुरीका स्थानीयहरु विस्थापित भएका छन् ।

गत आइतबारदेखि बस्तीमाथिबाट पहिरो खसेपछि दार्खाका २५ धरधुरीका ९९ जना विस्थापित भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोको जोखिममा रहेका स्थानीयहरुलाई दार्खा प्रहरीले उद्धार गरेर नजिकैको सुरक्षित स्थानमा राखेको छ भने केहीलाई अस्थायी टहराको निर्माण गरि राख्नका लागि स्थानीय राजनैतिकि दल, संघसंस्था, स्थानीयहरुबीच छलफल गरिएको छ ।
दार्खाका मस्तबहादुर तामाङ, मानबहादुर तामाङ, गोले तामाङ, कमिसा तामाङ, डोक्याप तामाङको घर बढी जोखिममा रहेको छ । पहिरोले पुरिएर मानविय क्षति नभएपछि भौतिक क्षतिहरु भएका छन् ।
पहिरोबाट विस्थापति भएका मध्ये ५ घरधुरीका २२ जनालाई दार्खा ८ सल्लेरीमा ५ वटा त्रिपालको टहरा बनाइ राखिने बताइएको छ । त्यस्तै १६ जनालाई भोक्टेनी प्राविमा र ६१ जनालाई लङचेतका स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था मिलाइएको छ ।
अविरल वर्षाका कारण उत्तरी धादिङका रि, दार्खा, झार्लाङ, तिप्लिङ लगायतका गाविसमा पहिरो गएका कारण त्यहाँका स्थानीयहरु विस्थापित भएका छन् ।