Sat. Dec 7th, 2024

राजमार्ग क्षेत्रमा ग्याँस उद्योगको अनुगमन, ग्याँस लुकाएर कालोबजारी गरेको स्थानीयको आरोप

gas_1374639115

२३ पुस,  धादिङ
देशभर खाना पकाउने ग्याँस अभाव भइरहँदा धादिङको राजमार्ग क्षेत्रमा रहेका ग्याँस उद्योगहरुको बुधबार अनुगमन गरिएको छ ।

ग्याँस उद्योग र डिपोहरुले ग्याँस लुकाएर कृत्रिम अभाव सिर्जना गराएको जनगुनासो आउन थालेपछि जिल्ला अनुमगन समितिले धादिङ जिल्लाभित्र रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरिएको हो । बैरेनीदेखि खानीखोलासम्म रहेका विभिन्न ८ ओटा ग्याँस उद्योगहरुबाट साविक रुपमा ग्याँस आपूर्ति भइरहेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एव् अनुमगन समितिका संयोजक नन्दलाल शर्माले बताउनुभयो ।

कम्पनीले ग्याँस ल्याएको र बजारमा पठाएको चलानी अनुसार अन्य समयमा जस्तै सिलिण्डर भरिरहेको र आपुर्तिमा कुनै समस्या नरहेको शर्माले जानकारी दिनुभयो । उद्योगीहरुले पनि उद्योगको क्षमता अनुसार ग्याँस आपूर्ति भइरहेको र नियमित रुपमा बजारमा ग्याँस पठाइरहेको बताएका छन् । एक महिना अगाडी जति ग्याँस नियमित रुपमा ग्याँस सप्लाई भइरहेको थियो अहिलेपनि त्यतिनै ग्याँस सप्लाई भइरहेको सिद्धार्थ ग्याँस उद्योगका मेनेजर रामकृष्ण चापागाईले बताउनुभयो ।

काठमाण्डौका ग्याँस डिपोहरुले ग्याँसको कृत्रिम अभाव सिर्जना गराएको हुनसक्ने नमस्ते ग्याँस उद्योगका मेनेजर निलम पन्तको भनाई छ । धादिङ जिल्लाभित्र विभिन्न १४ ओटा ग्याँस उद्योग संचालनमा रहेका छन् । धादिङको भुमेस्थान गाविस वडा नम्बर २ खयरघारीमा रहेको ओम ग्याँसमा स्थानीय होटल व्यवसायीहरुले बुधबार विहान पनि ताला लगाएका थिए ।

कानूनी प्रकृया पुरा नगरी बल प्रयोग गरेर ताला लगाएको भन्दै एकजना होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्याँस लुकाएर कालोबजारी गरेको आरोप लगाउदै स्थानीय र व्यवसायीहरु भने आक्रोसित भएका छन् । धादिङको राजमार्ग क्षेत्रमा १४ ओटा रिफिल सेन्टर भएपनि सदरमुकाममा दुई साता अघिदेखि ग्याँसको हाहाकार भएको छ ।

About The Author

अन्य समाचारहरु: