रविना पौडेल / ७ भदौ, धादिङ – खानेपानीको सहज आपूर्ति नहँदा सदरमुकाम धादिङबेसीका उपभोक्ता मध्य बर्खामा पनि पानीको समस्या भोग्न बाध्य छन् । खडेरि र हिउदका महिनाहरुमा भोग्नुपरेको समस्या हिजोआज पनि उस्तै छ । खानेपानी आपूर्तिको समस्या दीर्घकालिन समाधान नहँदा मध्य बर्खामा पनि खानेपानी अभाव देखिएको हो ।
सुख्खा याममा पानीको श्रोत सुकेर पानी नआउँदा समस्या खेप्दै आएका उपभोक्ता बर्खा लागेपछि पनि सहजै पानी उपभोग गर्नबाट बञ्चित भएका छन् । ‘कतिखेर पानी आउला भनेर कुरेर बस्नु पर्छ, घरमा धेरै मान्छे बस्छन्, कहिले त पालै पाइदैन ।’ पुछारबजारकी सपना परियार भन्छिन्– ‘नुहाइधुवाइ गर्ने पानी त परै जाहोस ट्वाइलेट जाने पानी समेत हुँदैन ।’
घरको धारोमा पानी नचड्ने भएकाले उपभोक्ताहरुले पानीको मेन लाइनबाट पाइप छुटाएर सडकमै बसेर पानी भर्ने गरेका छन् । घर अगाडि मेन लाइनबाट सिधै पानी उपभोग गर्नुपरेको शान्तबजारका राजेश श्रेष्ठले बताए ।
बढ्दो जनसंख्याको चाप र श्रोत सुक्दै गएपछि बर्सेनि पानी अभाव चुलिदै गएको हो । दीर्घकालिन समाधानका लागि पटक पटक पहल थालिएपनि कार्यान्वयन भएको छैन । खानेपानी तथा सरसफाई उपभोक्ता समिति धादिङले पानी आपूर्ति नगराइ सुल्क भने बढाएको उपभोक्ताहरुले गुनासो गरेका छन् । समितिकै प्रतिनिधिहरुले घर भित्रको धारोमा पानी नचडेकाहरुले बाहिरबाट सिधै पानी भर्न दिएको सल्लाह अनुसार मेन लाइन काटेर पानी उपभोग गर्न थालेको बताउँछन् ।
अधिवेशनका बेला उपभोक्ताको घरघरमै गएर विभिन्न आशा फिजाएको समितिले पनि खानेपानीको दीर्घकालिन समाधान दिन सकेको छैन ।
सदरमुकामका घरहरुमा कोठा भाडामा बस्ने उपभोक्ता झनै बढि समस्या भोग्न बाध्य भएका छन् । एउटै घरमा ८/१० परिवार भन्दा धेरै कोठाभाडामा लिएर बस्ने र ती परिवारलाई आवश्यक पानी नपुग्दा ग्राामीण भेगबाट पढाइको लागि सदरमुकाममा कोठा भाडामा बस्ने विद्यार्थी खानेपानी समेत किनेर खानुपर्ने बाध्यतामा परेका छन् ।
नियमित रुपमा खानेपानीको महसुल बुझउँदैआए पनि सदरमुकाम धादिङबेसीका उपभोक्ताहरु खानेपानीको समस्या झेल्न बाध्य छन् । बाहिर बसेर कपडा धुनु रहर होइन बाध्यता हो । तर कुनै विकल्प नभएपछि घर अगाडि बसेर लाज पचाएरै भएपनि कपडा धुन र नुहाउनुको विकल्प नभएको पम्फा इटनी बताउछिन् ।
धादिङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समितिको अध्यक्ष गणेश कुमार श्रेष्ठले भने सदरमुकाममा अत्याधिक रुपमा जनसङ्को चाप भएपछि खानेपानीको समस्या बढ्को बताएका छन् । खानेपानीको समस्या दीर्घकालिन समाधानको लागि नीलकण्ठ नगरपालिकाको वडा नम्बर २ केरावारी खोलाघारी (मुल्डी) बाट पानी ल्याउन पहल भइरहेको उनको भनाई छ ।