२४ पुस , धादिङ
बैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धीमुलक बनाउने उद्देश्यले सदरमुकाम धादिङबेसीमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र संचालनमा ल्याइएको छ ।
सुरक्षित बैदेशिक रोजगार सम्बन्धी विभिन्न गतिविधि संचालन गर्दै आएको सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत परामर्श केन्द्र स्थापना गरी संचालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय परिसरमा संचालनमा ल्याइएको केन्द्रको आज प्रमुख जिल्ला अधिकारी बासुदेव भिमिरेले उद्घाटन गर्नुभयो ।
स्वीस सरकारको सहयोग र श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङसंग मिलेर परामर्श केन्द्र सञ्चालमा ल्याएको सिड्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले जानकारी दिनुभयो । सामी परियोजनाको ४ लाख ६६ हजारको लागतमा निर्माण गरिएको दुई कोठे परामर्श केन्द्र निर्माण गरि संचालनमा ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा निर्माण गरिएको परामर्श केन्द्रले जिल्लाबाट वैदेशिक रोजगारीमा जान चाहने र गएर फर्किएकाहरुलाई सल्लाह सुझाव सहित परामर्श दिने सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप सचिव देवराज ढकाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शान्तवहादुर सुनार, हेल्भेटास नेपालका कन्ट्री डाईरेक्टर डाक्टर भरत पोखरेल, स्वीस विकास नियोगका बरिष्ठ कार्यक्रम अधिकृत डाक्टर उषा भण्डारी, सामी परियोजनाका टिम लिडर सीता घिमिरेका श्रम तथा रोजगार मन्त्रालयका सामी परियोजना कोअडिर्नेटर सूर्य भण्डारी जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुखहरु, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । राहदानी बनाउन आउनेहरुलाई सजिलै सुरक्षित आप्रवाशन सम्बन्धी जानकारी दिन सकिने हुनाले जिल्ला प्रशासन कार्यालय भित्र केन्द्र स्थापना गरिएको हो ।